१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

विस्थापित हुँदै जाँतो बनाउने पेसा

विप्लव महर्जन

सल्यान — सिद्धकुमाख गाउँपालिका–३ फलाटेका ५९ वर्षीय पुने रेउलेले झन्डै तीन दशकदेखि जाँतो बनाएर जीविकोपार्जन गर्दै आएका छन् । कुनै बेला पानीघट्टका जाँतो बनाउन भ्याइनभ्याई नहुने उनी अहिले भने फुर्सदिला छन् । गाउँगाउँमा पानीघट्ट लोप हुन थालेपछि उनको व्यवसाय संकटमा परेको हो ।

कुनै बेला महिनामा चार वटासम्म जाँतो बनाउँथे । उनले एउटा जाँतो २० हजार रुपैयाँसम्ममा बिक्री गर्थे । घरमा प्रयोग हुने जाँतोभन्दा पानीघट्टमा प्रयोग हुने जाँतो ठूलो र महँगो हुने उनले बताए । ‘जाँतो बनाउने सीपकै कारण म छिमेकी जिल्लामा चिनिएको थिएँ, परिवारको खर्च पनि राम्ररी चलेकै थियो,’ उनले भने, ‘पानीघट्ट लोप भएकै कारण हाम्रो व्यवसाय धरापमा पर्‍यो ।’ उनले जाँतो बनाएकै रुकमले गाउँमा ७ रोपनी जग्गा जोड्न सफल भएका बताए ।

पुनेका छिमेकी ४० वर्षीय विक्रम रेउलेको पनि पुर्ख्यौली व्यवसाय जाँतो बनाउने हो । हतौडा र छिनोको प्रयोगले उनले पनि दुई दशकदेखि जाँतो बनाउँदै आएका छन् । जाँतो बनाउन घर नजिकैको खानीका ढुंगा प्रयोग गर्ने गरेकाले यो व्यवसायमा ठूलो लगानी गर्नु नपर्ने उनको भनाइ छ । ‘खानीको ढुंगा ल्याएर त्यसलाई छिनो र हतौडाले आकार दिई जाँतो बनाइन्छ,’ उनले भने, ‘कुनै बेला राम्रो आम्दानी थियो, अहिले पेसा संकटमा परेपछि ६ जनाको परिवार पाल्न मुस्किल छ ।’ गाउँगाउँमा कुटानी पिसानी गर्ने विद्युतीय मिलहरू सञ्चालन हुन थालेपछि व्यवसाय संकटमा परेको उनले गुनासो गरे ।

फलाटेका अधिकांश रेउले परिवारले पुर्ख्यौली पेसालाई नै निरन्तरता दिएका छन् । गाउँका २५ परिवारले जाँतो बनाउने पेसा अँगालेको स्थानीय हिरालाल रेउलले बताए । पानीघट्टको चलन हराउन थालेसँगै जाँतोको मूल्य पनि घट्दै गएको उनको भनाइ छ । उनका अनुसार अहिले जाँतो मुस्किलले १० हजार रुपैयाँमा बिक्री हुन्छ । ‘अहिले घरमा पनि जाँतो प्रयोग हुन छाड्यो,’ उनले भने, ‘सबैले आधुनिक मिलमा अन्न र गेडागुडी पिस्न थालेपछि हामीलाई जीविका चलाउनै समस्या छ ।’ उनका अनुसार फलाटेको खानीमा स्तरीय ढुंगा भएकाले रोल्पा, रुकुम, जाजरकोटलगायत छिमेकी जिल्लाका मानिस समेत जाँतो लिन सल्यान पुग्थे । पेसा संकटमा परेपछि युवा पुस्ताले पुर्ख्यौली व्यवसाय छोडेको उनले गुनासो गरे ।

सिद्धकुमाख गाउँपालिकाको फलाटेका तीन स्थानमा ढुंगा खानी छ । ढुंगा खानीकै कारण एक दशकअघिसम्म गाउँमा राम्रो आर्थिक कारोबार हुन्थ्यो । ‘घर छाउने ढुंगा लिन पनि टाढाटाढाबाट मानिसहरू आउँथे,’ उनले भने, ‘अहिले जताततै पक्की घर बन्न थालेपछि यहाँको ढुंगाको माग घटेको छ ।’ ५ वर्षअघिसम्म खानीमा दैनिक १५/२० जना कामदार हुने गरेकोमा अहिले खानी सुनसान बन्न थालेको उनले बताए ।


प्रकाशित : असार ६, २०७८ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?