१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

कर्णाली राजमार्गमा पहिरै पहिरो

वर्षाका कारण जिल्लाका दुई दर्जन बढी ग्रामीण सडकसमेत बन्द
ज्योति कटुवाल

दैलेख — एक सातादेखिको अविरल वर्षाका कारण कर्णाली राजमार्गका झन्डै एक दर्जन ठाउँमा पहिरो खसेको छ । पहिरोका कारण राजमार्ग बन्द भएपछि स्थानीय बासिन्दा हिँडेरै गन्तव्यमा जान बाध्य छन् ।

कर्णाली राजमार्गमा पहिरै पहिरो

दैलेखको सियाला, किटु, घट्टेखोला, दहीखोला कालीकोटको गगनेखोला, हुल्म, सुनारखोला, पिली सेरावाडा, तिलागुफाको भिग्मलगायतका ठाउँमा पहिरो खसेको हो । मंगलबार केही ठाउँको पहिरो हटाए पनि वर्षाले पुनः पहिरो झरेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा दैलेखसहित कालीकोट, जुम्ला र मुगुका बासिन्दा सास्ती भोग्न बाध्य छन् ।

पहिरोका कारण झन्डै एक सय बढी मालवाहक र यात्रुवाहक गाडीहरू बीचबाटोमै अलपत्र परेका छन् । दैनिक वर्षा हुन थालेपछि राजमार्ग छेउछाउका बस्तीहरूको जनजीवन प्रभावित भएको छ ।

वर्षाका कारण जिल्लाका दुई दर्जन बढी ग्रामीण सडकसमेत बन्द भएका छन् । वातावरणीय प्रभाव मूल्यांकन नगरेरै सडक खन्दा वर्षायाममा पहिरो जाने समस्या बढेको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए । उनका अनुसार राजमार्गमा ठूलठूला पहिरो खसेकाले गाडी आउजाउमा समस्या छ । उनले पहिरो हटाउन पहल भइरहेको जानकारी दिए ।

२ दिनमा १२ घर भत्किए

अविरल वर्षाका कारण दुई दिनमा दुल्लु नगरपालिका–९ मा १२ घर भत्किएका छन् । गत वर्ष नगरपालिकाले खनेको सडकका कारण घरहरू भत्किएको स्थानीयको आरोप छ ।

नगरपालिकाले ९ नम्बर वडामा सडक पुर्‍याउन ४५ लाख रुपैयाँको लगानीमा सडक निर्माण गरेको थियो । वडाध्यक्ष रणबहादुर बोहोराका अनुसार प्यादुरा र धामीगाउँमा बिहीबार ६ र शुक्रबार ६ घर भत्किएका छन् । उनले यो वर्ष वडाका विभिन्न गाउँमा सडक पुर्‍याउन ७ वटा सडक निर्माण गरिएको बताए । ‘जथाभावी सडक खन्दा जोखिम बढिरहेको छ,’ उनले ‘गाउँमुनिबाट सडक खन्दा बस्ती खतरामा परे ।’

पहिरोमा एकको मृत्यु

कालीकोट– अविरल वर्षापछि खसेको पहिरोमा परी खाडाचक्र– ६ मोल्फामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार खाडाचक्र–६ का बल विश्वकर्माको पहिरोमा परी मृत्यु भएको हो ।

वर्षाले खाडाचक्र, तिलागुफा, शुभकालिका, नरहरिनाथ, पचालझरना र पलाता गाउँपालिकामा २७ घर टहरा भत्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भूपेन्द्र शाहीले बताए । केही स्थानीय तहबाट पहिरोको क्षतिबारे विवरण आउन बाँकी छ । उनले जिल्ला कारागारको ७ मिटर पर्खाल पनि वर्षाले भत्किएको जानकारी दिए । नरहरिनाथ–९ लालुको दलित बस्ती पनि पहिरोको जोखिममा परेको छ ।

गाउँ जोखिममा परेपछि स्थानीयवासी घर छाडेर लेकतिर बसाइँ सरेका छन् ।

प्रकाशित : असार ५, २०७८ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?