कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

चामल लिनेको भीड

दैनिक २ सय क्विन्टलका दरले चामल बिक्री
भीमबहादुर सिंह

जाजरकोट — निषेधाज्ञामा सदरमुकाम खलंगालगायतका व्यापारिक केन्द्रमा बिहान २ घण्टा मात्र खुला भएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामल लिनेको भीड लाग्न थालेको छ । २१ गतेदेखि कम्पनीले २० प्रतिशत छुटमा चामल बिक्री गर्न थालेपछि खाद्यान्न लिनेको घुइँचो लाग्न थालेको हो । 

छुटको चामल पाउन स्थानीय बासिन्दा कोरोना संक्रमणको प्रवाह नगरी दैनिक बिहान ५ देखि बेलुकी ८ बजेसम्म लाइनमा बस्ने गरेका छन् । एक सातायता दैनिक २ सय क्विन्टलका दरले चामल वितरण भइरहेको कम्पनीका शाखा प्रमुख धर्मबहादुर बस्नेतले बताए । उनका अनुसार भीड नियन्त्रण गर्न र सामाजिक दूरी कायम गर्न कार्यालय परिसरमा प्रहरी परिचालन गरिएको छ । ‘लकडाउनका कारण विपन्न नागरिकलाई जीविकोपार्जनमा समस्या भएपछि छुटमा चामल बिक्री गरिरहेका छौं,’ उनले भने, ‘हाम्रो सहुलियतले भारतबाट रोजगारी गुमाएर फर्किएका नागरिकलाई पनि राहत मिलेको छ ।’ दैनिक भीड बढेपछि बिहान ७ देखि राति ११ बजेसम्म चामल बिक्री गर्न बाध्य भएको उनले गुनासो गरे ।

कम्पनीका अनुसार जनशक्ति कम हुँदा र चामल लिन आउनेको संख्या धेरै हुँदा बिक्री गर्न भ्याइनभ्याइ भएको हो । निषेधाज्ञाअघिसम्म दैनिक १० जनासम्म मात्र स्थानीय चामल लिन आउने गरेका थिए । कोरोना संक्रमण तथा लकडाउनलाई मध्यनजर गरी चामल बिक्रीको व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । ‘चामल किन्न आएका सबैलाई मास्क वितरण गरिरहेका छौं,’ शाखा प्रमुख बस्नेतले भने, ‘कोरोना संक्रमण बढ्न नदिन आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन आग्रह गरिएको छ ।’ चामलमा प्रतिकिलो १३ रुपैयाँसम्म छुट छ ।

कम्पनीले अरुवा मध्यम, अरुवा मोटो, स्टिम जिरा मसिनो र अरुवा मकवानपुर चामल बिक्री गर्दै आएको छ । निषेधाज्ञाको अवधिमा ४४ रुपैयाँ प्रतिकिलो पर्ने अरुवा मोटो चामल छुट दिएर ३० रुपैयाँमा बिक्री भइरहेको छ । चामल लिन आउनेको भीड बढेपछि गोदाम रित्तिन थालेको छ । सोमबारसम्म गोदाममा १ हजार क्विन्टल चामल मात्र मौज्दात रहेको बस्नेतले बताए । उनका अनुसार दैनिक २ सय क्विन्टलको दरले चामल बिक्री भए अबको ५ दिनमा गोदाम रित्तिने देखिएको छ ।

हिउँदमा भएको खडेरीका कारण जाजरकोटमा यो वर्ष चना, तोरी, मसुरोलगायत दलहन र गहुँ, जौंलगायत खाद्यबालीको उत्पादन घटेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार तरकारी र फलफूलको उत्पादनसमेत घटेपछि किसान खाद्य समस्या भोग्न बाध्य छन् । खडेरीले जिल्लाभरि खाद्य असुरक्षा बढेको जिल्ला कृषि विकास प्रमुख गणेश अधिकारीले बताए । उनका अनुसार यो वर्ष करिब १३ हजार हेक्टर जमिनमा गहुँ लगाइएकामा झन्डै ६ हजार मेट्रिक टन मात्र उत्पादन भएको छ । ‘यो हालसम्मकै न्यून उत्पादन हो,’ उनले भने, ‘सिँचाइ सुविधा नहुँदा जिल्लाको करिब १० हजार हेक्टर जमिन बाँझो छ ।’ जाजरकोटमा २५ हजार हेक्टर जमिन खेतीयोग्य भए पनि अधिकांश जमिन आकाशे पानीको भरमा छ । १७ हजार हेक्टर जमिनमा मात्र हिउँदे बालीको खेती हुने गरेको छ भने ३ हजार हेक्टरमा बाह्रै महिना र २ हजारमा आंशिक सिँचाइ सुविधा छ ।

कोरोना संक्रमण तथा निषेधाज्ञाका कारण दुर्गम गाउँका बासिन्दा भने ८० रुपैयाँ प्रतिकिलो मोटो चामल किनेर उपभोग गर्न बाध्य छन् । गाउँका डिपोमा चामल नहुँदा स्थानीयले बजारको महँगो चामल किन्नुपर्ने बाध्यता भएको हो । बारेकोटका बासिन्दाले घाट डिपो र काउली बिक्री केन्द्रका लागि १५ हजार क्विन्टल चामलको कोटा माग गर्दै आएको कम्पनी प्रमुख बस्नेतले बताए । तर जिल्लाका ४ डिपो, ६ बिक्री केन्द्र र शाखाका लागि १२ हजार क्विन्टल चामल मात्र कोटा तोकिएको छ । रग्दा डिपोमा ३ सय ३९, घोंगीमा ५०, दशेरामा २५, रजुतरामा ८ सय, ताँगामा १ सय ९७ क्विन्टल र कालीमाटीमा ९० क्विन्टल चामल मात्र मौज्दात छ ।

प्रकाशित : असार ४, २०७८ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?