औषधि र जनशक्ति नहुँदा थलिए बिरामी

स्वास्थ्यचौकीमा औषधि नभएपछि बिरामी घरेलु उपचारको भर पर्नुपर्ने बाध्यता
राजबहादुर शाही

मुगु — मुगुमकार्मारोङ गाउँपालिकास्थित माग्रीगाउँका ६६ वर्षीया छिरिङयाङजु तामाङ एक सातादेखि ज्वरो आउने र टाउको दुख्ने समस्याले थलिएकी छन् । उनका श्रीमान् छेवाङ छोइक्याप पनि ज्वरोले थलिएको झन्डै १० दिन भयो । 

औषधि र जनशक्ति नहुँदा थलिए बिरामी

मुगुमकार्मारोङका अधिकांश गाउँमा ज्वरो आउने, टाउको दुख्ने, खाना नरुच्ने, शरीर दुख्नेलगायत लक्षणका बिरामी बढेका छन् । तर स्थानीय स्वास्थ्यचौकीमा औषधि, उपकरण र जनशक्ति अभाव हुँदा बिरामी उपचारबाट वञ्चित भएका हुन् । अहिले अधिकांश गाउँमा बिरामी नभएको घरै नभएको सोनाम तामाङले बताए । उनी पनि १९ दिनसम्म बिरामले थलिएर आइतबार मात्र सन्चो भएका हुन् । ‘अधिकांश घरका सबै सदस्य बिरामी परेपछि पशु चौपाया स्याहार्न समस्या भएको छ,’ उनले भने, ‘स्वास्थ्यचौकीमा औषधि नभएपछि बिरामीलाई घरेलु उपचारको भर पर्नुपर्ने बाध्यता छ ।’ माग्रीगाउँमा झन्डै एक सय जना बिरामी छन् ।

अधिकांश बिरामीमा कोरोनाको लक्षण देखिए परीक्षणको व्यवस्था नभएको तामाङले बताए । शंकास्पद बिरामी परिवारसँगै बस्दा गाउँमा कोरोना संक्रमणको जोखिमसमेत बढेको छ । ‘पालिकाले समयमै ध्यान नदिँदा संक्रमण भयावह हुने देखियो,’ उनले भने, ‘अझै पनि परीक्षण र उपचारको व्यवस्था छैन ।’ महगाउँका लाटोक तामाङ पनि १४ दिनदेखि बिरामीले थलिएका छन् । महगाउँमा झन्डै ५० बिरामी ज्वरोले थलिएका छन् । उनले पापु, दाउरा, पुलु, किम्री, चितै, सेरोग, रिउसलगायत गाउँमा पनि घरघरै बिरामी बढेको बताए ।

स्वास्थ्यचौकीमा औषधिको सकिएपछि उपचारमा समस्या भएको स्वास्थ्यकर्मीको गुनासो छ । सोमबार जिल्ला स्वास्थ्य सेवा कार्यालयबाट केही औषधि प्राप्त भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बलिबहादुर बुढाको बताए । अधिकांश स्वास्थ्य संस्थाहरूमा औषधिको मौज्दात सकिएको छ । ‘आर्थिक वर्ष सकिन थालेकाले औषधि र उपकरण गर्न गाउँपालिकासँग पर्याप्त बजेट छैन,’ उनले भने, ‘प्रदेश सरकारसँग आवश्यक औषधि माग गरिए पनि बेवास्ता भयो ।’ गाउँपालिकाले खरिद गरेका २ सय र यूएमएनले उपलब्ध गराएको २ सय थान एन्टिजेन किट सकिएपछि परीक्षणमा समस्या भएको उनले गुनासो गरे । बिरामीको उपचार सहज बनाउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ज्म्लुामा चिकित्सक माग गरिएको गाउँपालिकाले जनाएको छ ।

कोरोना महामारी नियन्त्रणका लागि प्रदेश र संघीय सरकारले ध्यान नदिएको गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । ‘सडक सुविधा नहुँदा जटिल अवस्थाका बिरामीलाई तत्काल उद्धार गर्न समस्या भएको छ,’ उनले भने, ‘अब हेलिकप्टरमा बिरामी उद्दारको विकल्प छैन ।’ उनका अनुसार पहिरोले गमगढी–छाइल सडक अवरुद्ध भएपछि एम्बुलेन्स सञ्चालनमा समेत समस्या भएको हो । गाउँपालिकाका अनुसार अहिलेसम्म मुगुमकार्मारोङमा १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : असार ३, २०७८ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?