२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

तीन दिनदेखि खलंगा अँध्यारो

जाजरकोट — केन्द्रीय विद्युत् प्रसारण लाइन आपूर्ति नहुँदा आइतबारदेखि खलंगा बजार अँध्यारो बनेको छ । सुर्खेतको बोटेचौरमा केन्द्रीय विद्युत् लाइनका २ वटा पोल ढल्दा विद्युत् आपूर्ति बन्द भएको हो ।

नेपाल विद्युत् प्राधिकरणले तीन दिनसम्म पोल मर्मतमा ध्यान नदिँदा जाजरकोटवासी अँध्यारोमा बस्न बाध्य भएका हुन् ।

विद्युत् नहुँदा सरकारी तथा गैरसरकारी कार्यालयका कामकाज प्रभावित भएका छन् । बिजुली नआएपछि खलंगाका १ हजार ५ सय परिवार अँध्यारोमा बस्न बाध्य छन् । खलंगा बजारमा वितरण भएको केन्द्रीय विद्युत् लाइन पटकपटक अवरुद्ध हुँदा उपभोक्ताले सास्ती भोग्नुपरेको भेरी नगरपालिका–३ न्युरोडका कमानबहादुर खड्काले बताए । ‘नियमित विद्युत् आपूर्तिमा प्राधिकरणले बेवास्ता गरिरहेको छ,’ उनले भने, ‘१/२ घण्टामा मर्मत हुने लाइन ३ दिन बित्दासमेत सुचारु नहुनु गम्भीर लापरबाही हो ।’

विद्युत् अभावमा उद्योग, व्यापार, बैंकिङ कार्य, पठनपाठन, सरकारी सेवा प्रवाह, पूर्वाधार विकासलगायत काममा बाधा भएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले बताए । उनका अनुसार सुर्खेतको बोटेचौरमा ११ केभी प्रसारण लाइनमा समस्या भएपछि विद्युत् सेवा बन्द भएको हो । लाइन सुचारु गर्न वितरण केन्द्रलाई निर्देशन दिइसकिएको उनले जानकारी दिए । सुर्खेतमा विच्छेद भएको विद्युत् लाइन मर्मतका लागि टोली निरन्तर खटेको प्राधिकरणका प्राविधिक रत्न हमालले बताए । उनका अनुसार लगातारको वर्षाले विद्युत् लाइन मर्मतमा समस्या भएको छ ।


प्रकाशित : असार ३, २०७८ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?