कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पहिरोले कर्णाली राजमार्ग बन्द

कालीकोट, जुम्ला र मुगुका लागि दैनिक उपभोग्य सामान र निर्माण सामग्री बोकेका गाडी बाटोमै रोकिए
तुलाराम पाण्डे

कालीकोट — तीन दिनदेखिको अविरल वर्षापछिको पहिरोले कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडकको ठाउँठाउँमा पहिरो खस्दा अवरुद्ध भएको छ । दैलेखको किटु, कालीकोटको गगनेखोला, हुल्म, सुनार खोला, पिली सेराबाड, खल्लागाड, भिग्मलगायत ठाउँमा पहिरो खसेको छ ।

पहिरोले कर्णाली राजमार्ग बन्द

राजमार्ग अवरुद्ध हुँदा कालीकोट, जुम्ला र मुगुका लागि दैनिक उपभोग्य सामान र निर्माण सामग्री बोकेका गाडी बाटोमै रोकिएका छन् । केही ठाउँमा मंगलबार पहिरो पन्छाए पनि वर्षा नरोकिएकाले राजमार्ग पुनः अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।

पहिरोले सडक अवरुद्ध हुँदा बाटोमा सास्ती भएको सुर्खेतबाट जुम्ला जान सोमबार बिहान ५ बजे हिँडेका समाज कल्याण परिषद्का सदस्य गोविन्दबहादुर शाहीले बताए । उनका अनुसार ६/७ ठाउँमा ठूला पहिरो गए पनि ४०/५० ठाउँमा साना पहिरो खसेका छन् । ‘अत्यावश्यक कामका लागि लकडाउनको समयमा हिँडे पनि गन्तव्यमा पुग्न सकिएको छैन,’ उनले भने, ‘पानी नरोकिएकाले अझै कति दिन बाटोमा बस्नुपर्ने हो निश्चित छैन ।’

एक सातायता दैनिकजसो वर्षा हुन थालेपछि कालीकोटको जनजीवन प्रभावित भएको छ । वर्षाले ठाउँठाउँमा पहिरो खसेपछि जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध बनेका छन् । अविरल वर्षाका कारण ताडी–तिलाकर्णाली बहुमुखी क्याम्पस, थामकोट–बल्लेकाध हुँदै सालडाँडा, शुभकालिकाको सेरिघाट–भर्ता र सेरीघाट–सुकाटिया सडक बन्द हुन् । त्यस्तै लालीघाट– कोटवाडा, सान्नीगाड– मेहेलमुडीलगायतका सडकका ठाउँठाउँमा पहिरो खसेको प्रहरीले जनाएको छ । वर्षाले रोपाइँ गर्ने कृषकलाई राहत भए पनि स्थानीयको जग्गासमेत भत्काएको छ ।अविरल वर्षाले विकासका काम पनि बन्द छन् । हतारमा सम्झौता गरेर सुरु गरिएका विभिन्न योजनाका काम पनि प्रभावित भएको नागरिक अगुवा विक्रमबहादुर शाहीले बताए । उनका अनुसार वर्षाकै कारण गत वर्षको संसद् विकास कोषका योजनाका काम पनि अधुरै बनेका छन् ।

वर्षासँगै गत वर्षको पहिरोले घर क्षतिग्रस्त भएका पीडित परिवारलाई पनि बासको समस्या थपिएको छ । वर्षा हुन थालेपछि रास्कोट–१ चोक्टेबगरका २५ परिवार विस्थापित भएका स्थानीय धनगिरी शाहीले बताए । ‘गत वर्षको पहिरोमा ज्यान जोगाउन त सफल भइयो,’ उनले भने, ‘यसपालि कसरी जोगिने भन्ने चिन्ता छ ।’ उनले पुनःस्थापनाका लागि कर्णाली प्रदेश सरकारले बजेट दिए पनि काम हुन बाँकी रहेको गुनासो गरे ।

वर्षाबाट हुन सक्ने क्षति कम गर्न पूर्वतयारीमा जुटेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रजिअ आचार्यले बताए । ‘पानी परेपछि पहिरो झरिहाल्ने समस्या बढी छ,’ उनले भने, ‘पूर्वतयारी गर्न सकिएन भने फेरि विपद्ले सताउनेछ ।’ उनले बाढी पहिरोबाट स्थानीयलाई सुरक्षित गर्न उद्धार, राहत र पुनःस्थापनाको योजना अघि सारिएको बताए । दुई साताअघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सहभागितामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले गत वर्ष जिल्लाभर भत्किएका १ हजार १ सय घर निर्माणका लागि सहयोग गर्ने निर्णय गरेको छ । जसका लागि प्रदेश सरकारले ५ करोड रुपैयाँ विनियोजन गरेको छ । बैठकले स्थानीय तहमा सडक अवरुद्ध नहुँदै आवश्यक खाद्यान्न र उद्धार सामग्री भण्डारण गर्ने, प्रत्येक वडामा उद्धारमा सहयोग गर्न खोज तथा उद्धार टोली गठन गर्नेलगायतका निर्णयसमेत गरेको थियो ।

प्रकाशित : असार ३, २०७८ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?