कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मुगुमा रोपाइँको चटारो

मुगु — कोरोना महामारीबीच गाउँमा रोपाइँको चटारो सुरु भएको छ । गहुँबाली टिपेपछि किसान रोपाइँमा जुटेका हुन् ।

वैशाख २० मा धानका बेर्ना राखेका स्थानीयवासीले जेठ तेस्रो सातादेखि रोपाइँ सुरु गरेका छन् । सोरु गाउँपालिका–४, तलिलिब्रुका पन्नबहादुर शाहीले यसपटक मौसम अनुकूल भएकाले बाली सप्रिने बताए । ‘आकाशेपानी पर्न थालेपछि रोपाइँ राम्रो हुने आशा पलाएको छ,’ उनले भने, ‘कोरोनाको डर भए पनि गाउँमा त्यसको कुनै प्रवाह छैन ।’ मुगुमा असार तेस्रो सातासम्म रोपाइँ सकिने उनले बताए ।

जिल्लाका ४ स्थानीय तहमध्ये सबैभन्दा बढी धान खत्याड गाउँपालिकामा फल्छ । खत्याडका तल्लो क्षेत्र रातापानी, गम्था, तलिबगर, श्रीकोट बस्तीका किसानलाई रोपाइँको चटारो छ । खत्याड, गम्थाका पूर्ण जैसीले रोग आयो भन्दैमा खेतपातीको काम छोडेर भाग्न नसकिने बताए । बरु सावधानी अपनाएर रोपाइँमा जुटिरहेको उनले बताए ।

‘ओल्लोपल्लो घरका मान्छेहरू मिलेर रोपाइँ गरिरहेका छौं,’ उनले भने, ‘समयमै रोपाइँ गर्न नसके त राम्रो फल्दैन ।’ छायानाथरारा नगरपालिकाको श्रीनगर, चैन, छत्याडबाडालगायत बस्तीमा पाखो धान लगाइएको छ । रोपेकोभन्दा छरेको धान बढी फल्ने भएकाले गहुँ टिपेलगत्तै धान छरिएको काकीबाडाका बलिचन्द्र कार्कीले बताए ।

प्रकाशित : असार २, २०७८ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?