हिमाली बस्तीमा फैलिँदै कोरोना

मुगु — मुगमकार्मारोङ गाउँपालिकाका विभिन्न बस्तीमा कोरोना संक्रमणको दर बढेको छ । ज्वरो र रुघाखोकीका बिरामी बढेपछि गाउँपालिकाले परीक्षणलाई तीव्रता दिएको छ । तर जहाँ परीक्षण गर्‍यो उतै संक्रमित भेटिएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । 

हिमाली बस्तीमा फैलिँदै कोरोना

एक सातायता गरिएका परीक्षणमा सोरु, खत्याड र छायानाथरारा नगरपालिकाको तुलनामा मुगमकार्मारोङमा कोरोना संक्रमणको दर बढी छ । गाउँपालिकामा आइतबारसम्म १ सय ५० जनामा संक्रमण पुष्टि भइसकेको छ । माग्री, मह, पुलु, चिमात, पापु, रिउस, सेरोक, किम्री, दाउरा, ताखा, चितैलगायत गाउँमा धमाधम संक्रमित बढेपछि नियन्त्रणमा समस्या देखिएको हो । मुममकार्मारोङ जिल्लामा सबैभन्दा बढी चिसो हुने क्षेत्र हो । एक गाउँका झन्डै ९० प्रतिशत बिरामीमा कोरोना देखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक बलिराज बुढाले बताए । ‘अरू स्थानीय तहमा संक्रमण घट्दो छ,’ उनले भने, ‘यहाँ भने जसलाई परीक्षण गर्‍यो उसैमा कोरोना पुष्टि भइरहेको छ ।’ उनले एउटै घरमा ४/५ जनासम्म बिरामी परेपछि उपचारमा समस्या भएको बताए ।

एन्टिजेन किट अभावले तीव्ररूपमा परीक्षण भने हुन नसकेको स्वास्थ्य संयोजक बुढाले बताए । उनका अनुसार कोरोनाका कारण गाउँपालिकामा अहिलेसम्म ४ जनाको मृत्यु भइरहेको छ । उनले कोरोना परीक्षण तथा उपचारका लागि गाउँगाउँमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जानकारी दिए । संक्रमितको मृत्यु हुँदा मलामीको भीड लाग्ने गरेकाले पनि कोरोना समुदायस्तरमै फैलिएको स्वास्थ्यकर्मीको आशंका छ । आइसोलेसनको व्यवस्था नहुँदा सबै संक्रमितलाई होम आइसोलेसनमा बस्न आग्रह गरिएको गाउँपालिकाका सूचना अधिकारी तीर्थराज शाहीले बताए । ‘स्वास्थ्य मापदण्ड पूरा नगरी सामूहिक काम गर्दा पनि समुदायस्तरमा संक्रमण देखियो,’ उनले भने, ‘संक्रमित बढेपछि स्वास्थ्यकर्मीले दैनिक निगरानी गर्न थालेका छन् ।’ संक्रमित बढेपछि गाउँपालिकाका सबै सेवा प्रवाह बन्द गरिएको उनले बताए ।

औषधि न स्वास्थ्यकर्मी

मुगमकार्मारोङमा कोरोना संक्रमितको संख्या बढे पनि औषधि र स्वास्थ्यकर्मी पर्याप्त नहुँदा उपचारमा समस्या भएको छ । अधिकांश स्वास्थ्य संस्थामा सिटामोलसमेत नभएपछि संक्रमितहरू घरेलु उपचारको भरमा छन् ।गाउँपालिकाले खरिद गरेको अधिकांश औषधिको मौज्दात सकिएको स्वास्थ्य संयोजक बुढाले बताए । उनका अनुसार प्रदेश र संघीय सरकारले थप औषधि नपठाउँदा उपचारमा समस्या छ । रिउस, माग्री र पुलु स्वास्थ्यचौकीमा औषधि अभावको समस्या बढी छ ।

गाउँपालिकामा एक जना पनि चिकित्सक छैनन् । सबै स्वास्थ्यचौकी अहेब र अनमीको भरमा भएकाले पनि उपचारमा समस्या भएको उनले बताए । उनका अनुसार केही स्वास्थ्यकर्मी संक्रमित भएपछि उपचारमा थप समस्या भएको हो । महामारी नियन्त्रणका लागि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सक पठाइदिन आग्रह गरिएको स्वास्थ्य संयोजक बुढाले बताए ।

प्रकाशित : जेष्ठ ३१, २०७८ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?