बर्खा नलाग्दै सडक अवरुद्ध

पहिरो हटाउन कम्तीमा एक महिना लाग्ने
राजबहादुर शाही

मुगु — बर्खा नलाग्दै जिल्लाका अधिकांश ग्रामीण सडकमा यातायात सेवा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि सदरमुकाम आएका स्थानीय घण्टौ पैदल हिँडेर गन्तव्यमा जान बाध्य छन् ।

बर्खा नलाग्दै सडक अवरुद्ध

मुगमकार्मारोङ गाउँपालिकालाई सदरमुकाम सँग जोड्ने गमगढी–छाइल सडकको झन्डै १२ स्थानमा ठूला पहिरो खसेपछि यातायातका साधन सञ्चालन हुन समस्या भएको छ । उक्त सडकको भट्टडाँडी, सालिमखोला, नाकेभीर, सुनाथ, कम्फाखोला, छाइलखोलालगायत ठाउँमा पहिरो खसेको मुगुमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । ‘जताततै पहिरै पहिरो खसेको छ,’ उनले भने, ‘बिरामीलाई अस्पताल लैजानसमेत समस्या भयो ।’

पहिरोले छायानाथरारा नगरपालिका र मुगुमकार्मारोङ गाउँपालिकाको सिमानामा बनेको स्वागतद्वार भत्किएको उनले बताए । उनले सडकमा गएको पहिरो हटाउन कम्तीमा एक महिना लाग्ने बताए ।

कर्णाली राजमार्गअन्तर्गत गमगढी– नाग्मा सडक खण्डको ताल्च, झयारी–पिना, घुच्ची, गोठीज्यूलालगायत ठाउँमा पनि पहिरो खसेपछि गाडी चलाउन मुस्किल भएको चालकहरूको गुनासो छ । सामान्य पानी पर्दासमेत सडक हिलाम्मे हुँदा सवारीसाधन चल्न समस्या भएको गाडी चालक कमल विकले बताए । उनका अनुसार हरेक वर्ष सडक फराकिलो बनाउने नाममा डोजर लगाएर जथाभाबी माटो फाल्दा राजमार्ग जोखिमपूर्ण बनेको हो । गमगढीदेखि ताल्च विमानस्थलसम्मको ९ किलोमिटर सडक पनि जोखिमपूर्ण बनेको उनले जानकारी दिए ।

जिल्लामा कुनै पनि सडक कालोपत्रे नहुँदा झन्डै ६ महिना सडक अवरुद्ध हुने गरेको स्थानीय युवा सुमन मल्लले बताए । ‘सामान्य पानी पर्दा त अवस्था यस्तो छ,’ उनले भने, ‘असार–साउनमा झन ठूलो वर्षा हुँदा सडकको अवस्था के होला ?’ उनले तत्काल गमगढी– नाग्मा सडक कालोपत्रे गर्न सरकारसँग माग गरे ।

मुगमकार्मारोङमा कोरोना संक्रमण बढ्दै गए पनि सडक बन्द हुँदा संक्रमितलाई उपचारका लागि लैजान समस्या भएको गाउँपालिकाका सूचना अधिकारी तीर्थराज शाहीले बताए । उनका अनुसार गमगढीदेखि छाइलसम्मको १८ किलोमिटर सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको छ । उनले सदरमुकाम गमगढी आउन एक दिन पैदल हिँड्नुपर्ने बाध्यता रहेको सुनाए । ‘वातावरणीय प्रभाव मूल्यांकन बिना जथाभाबी सडक खन्दा अन्य प्रकोपको जोखिमसमेत छ,’ उनले भने, ‘सडक अवरुद्ध भएपछि कृषि उत्पादन गाउँमै थन्किएको छ ।’

प्रकाशित : जेष्ठ ३१, २०७८ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?