कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एन्टिजेन किट पुग्यो, जनशक्ति छैन

‘घरघरै बिरामी छन्, किट भने त्यत्तिकै थन्किएका छन्’
हरि गौतम

रुकुम पश्चिम — उपल्लो डोल्पामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीको संख्या बढेको छ । तर, जनशक्ति अभावमा उनीहरूको कोरोना परीक्षण हुन सकेको छैन ।

एन्टिजेन किट पुग्यो, जनशक्ति छैन

सरकारले बेवास्ता गरेपछि उपल्लो डोल्पावासीले काठमाडौंमा विभिन्न व्यक्ति र संस्थासँग सम्पर्क गरी हेलिकप्टरबाट किट मगाएका थिए । तर, प्रयोगमा आउन सकेको छैन । ‘बल्लतल्ल किट त आइपुगेको छ, तर परीक्षण गर्ने मान्छे छैनन्,’ डोल्पोबुद्ध गाउँपालिका–१ का वडाध्यक्ष क्याल्पो थापा भोटेले भने, ‘घरघरै बिरामी छन्, किट भने त्यत्तिकै थन्किएका छन् ।’

उनका अनुसार जेठ २३ गते २ सय एन्टिजेन किट हेलिकप्टरमा उपल्लो डोल्पा पुर्‍याइएको थियो । उपल्लो डोल्पाको डोल्पोबुद्ध र शे–फोक्सुन्डो गाउँपालिकामा एक–एक सय एन्टिजेन किट पठाइएको थियो । वडाध्यक्ष क्याल्पो थापा भोटेले एन्टिजेन किट पठाएको हप्ता दिन भइसक्दा पनि जनशक्ति अभावमा परीक्षण हुन नसक्नु विडम्बना भएको बताए ।

‘पहिला किटका लागि दुःख पाइयो, किट आएपछि परीक्षण गर्ने मान्छे नहुँदा समस्या व्यहोर्नुपरिरहेको छ,’ उनले भने, ‘सम्बन्धित सबै सरकारी निकायलाई जनशक्ति पठाइदिन अनुरोध गरेका छौं, तर कोही पनि परीक्षणका लागि उपल्लो डोल्पा उक्लने मनस्थितिमा छैनन् ।’ डोल्पो जनजाति केन्द्रका अध्यक्षसमेत रहेका वडाध्यक्ष भोटेले सुर्खेतबाट स्वास्थ्यकर्मी बोलाइएको बताए । उपल्लो डोल्पाका डोल्पोबुद्ध, शे–फोक्सुन्डो र छार्काताङसोङ गाउँपालिकाका स्थानीयमा टाउको दुख्ने, शरीर दुख्ने, खाना खान मन नलाग्ने, बासना हराउने जस्ता लक्षणका बिरामी छन् ।

यस्तो लक्षणका बिरामी करिब ३ सातादेखि बढिरहेका छन् । तीमध्ये केही बिरामी निको भइसकेका छन् । घरघरमा बिरामी भएपछि स्थानीय स्वास्थ्य संस्थामा भएको औषधिले काम नगरेपछि थप औषधि मागिएको थियो । थप औषधि केही स्वास्थ्य उपकरण र एन्टिजेन स्थानीयले नै काठमाडौंमा सहयोग मागेर जुटाएका थिए । स्थानीय कर्म गुरुङले औषधि, उपकरण र एन्टिजेन किट पुग्दासमेत परीक्षण नहुनु विडम्बना भएको बताए । रोगको पहिचान हुन नसक्दा बिरामी आत्तिएका उनको भनाइ छ ।

डोल्पोबुद्ध गाउँपालिकाका ४ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि उपल्लो डोल्पामा पनि कोरोना फैलिएको पुष्टि भएको थियो । केही समयअघि बिरामी भएका उनीहरू सबैलाई सुर्खेत लगिएको थियो ।

प्रकाशित : जेष्ठ ३०, २०७८ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?