मापदण्डविपरीतका बाख्रा अस्वीकार- कर्णाली - कान्तिपुर समाचार

मापदण्डविपरीतका बाख्रा अस्वीकार

कमजोर बाख्रा खरिद गरेर वितरण गर्न खोजेको भन्दै सामाजिक सञ्जालमा नगरपालिकाको विरोध
हरि गौतम

रुकुम पश्चिम — मुसीकोट नगरपालिकाले ५ वडाका पाँच कृषक समूहलाई वितरण गर्न ल्याएका बाख्रा मापदण्डविपरीतका भन्दै किसानले अस्वीकार गरेका छन् । किसानले अस्वीकार गरेपछि नगरपालिकाले बाँकेको एक कम्पनीमार्फत खरिद गरी ल्याइएका बाख्रा फिर्ता पठाएको छ ।

किसानको विरोधपछि रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले फिर्ता पठाएका बाख्रा ।

मुसीकोट नगरपालिकाले बाख्रा खरिदका लागि बाँकेको केयर नेपाल प्रालिसित सम्झौता गरेको थियो । तर रुकुम पश्चिम पुर्‍याइएका बाख्रा मापदण्डअनुसारका नभएको भन्दै आधा बाख्रा फिर्ता गरिएको हो । प्रालिले पहिलो चरणमा ५६ वटा बाख्रा मुसीकोट पुर्‍याएको थियो । त्यसमध्ये ३० वटा बाख्रा एउटा किसान समूहलाई वितरण गरिएको छ । २६ वटा बाख्रा फिर्ता पठाइएको छ ।

कमजोर बाख्रा खरिद गरेर वितरण गर्न खोजेको भन्दै सामाजिक सञ्जालमा नगरपालिकाको विरोध भइरहेको छ । नगरपालिकाको पशु सेवा शाखा प्रमुख सरस्वती सापकोटाले किसानले भन्नुभन्दा पहिल्यै फिर्ता पठाउने बाख्रा छुट्याइसकेको बताइन् । ‘हामीले त्यस्ता बाख्रा ल्याउन भनेको होइन, सम्झौता पनि जमुनापारि क्रस ल्याउने भएको थियो,’ उनले भनिन्, ‘तर अरू अरू नै बाख्रा ल्याइएपछि त्यसलाई फर्काइएको हो ।’ किसानलाई कस्ता बाख्रा वितरण गर्ने भन्नेबारेमा नगरपालिका सचेत रहेको उनको भनाइ छ ।

दोस्रो पटकमा पनि सम्झौताअनुसारको काम नभए सम्झौता तोड्ने नगरपालिकाले जनाएको छ । ‘देखी–देखी त्यस्तो बेइमानी गर्नेलाई छोड्ने कुरा भएन,’ सापकोटाले भनिन्, ‘घटनाबारे छानबिनसमेत गरिरहेका छौं ।’ चालु आर्थिक वर्षमा नगरपालिकाका ५ वडाका ५ किसान समूहलाई ३०/३० वटाका दरले बाख्रा वितरण गर्ने कार्यक्रम छ । त्यसमा संघीय सरकारले १० लाख, मुसीकोट नगरपालिकाले १० लाख र सबै किसान समूहले ५० हजार रुपैयाँका दरले रकम जुटाएका छन् । प्रालिले १८ लाख ४२ हजार रुपैयाँमा ५ समूहका लागि १ सय ५० वटा बाख्रा खरिद गरी वितरण गर्ने सम्झौता नगरपालिकासित गरेको थियो । १ नम्बर वडाको हजारी बाख्रापालन समूह, ५ नम्बर वडाको सयुंक्त बाख्रापालन समूह र ६ नम्बरको जनजागरण बाख्रापालन समूहलाई बाख्रा वितरण गरिने कार्यक्रम छ ।

७ नम्बर वडाको सूर्यमूखी बाख्रापालन किसान समूह र ८ नम्बर वडाको काप्रिवास बाख्रापालन समूहले बाख्रा पाउनेछन् ।

प्रकाशित : जेष्ठ २९, २०७८ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्

भेन्टिलेटर प्रयोगविहीन

कान्तिपुर संवाददाता

म्याग्दी — बेनी अस्पतालमा प्रदेश सरकारले अघिल्लो वर्ष पठाएका चार वटा भेन्टिलेटर अहिलेसम्म प्रयोगमा आएका छैनन् ।

अस्पतालका अनुसार पछिल्लो एक वर्षमा एक जना सुगरका बिरामीको उपचारका क्रममा मुटुको चाल बन्द भएपछि २४ घण्टा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । त्योबाहेक अहिलेसम्म भेन्टिलेटरको उपयोग भएको छैन ।

अस्पतालमा आईसीयू ५ बेड छ । तर जनशक्ति अभावमा आईसीयू सञ्चालन नभएको हो । बिरामीलाई भेन्टिलेटर चलाएपछि २४ सै घण्टा चल्नुपर्‍यो । त्यसका लागि मेडिकल डाक्टर र स्टाफ नर्स खटिनुपर्ने हुँदा अतिरिक्त जनशक्ति नहुँदा उपकरण भए पनि उपयोग हुन नसकेको अस्पतालले जनाएको छ । भेन्टिलेटर उपलब्ध भए पनि डाक्टरसहितको गुणस्तरीय स्याहार दिन नसक्ने भएपछि अस्पतालले बिरामीलाई बाहिर रेफर गर्दै आएको छ । ‘भेन्टिलेटर चलाउनु ठूलो कुरा होइन । बिरामीलाई भेन्टिलेटरमा राखेपछि चौबिसै घण्टा एक डाक्टर र स्टाफ नर्स स्ट्यान्डबाई रहेर मनिटरिङ गर्न मुख्य समस्या हो,’ अस्पतालका मेसु डा. जितेन्द्र कँडेलले भने, ‘गुणस्तरीय सेवा दिन नसकेपछि बिरामीले आफैंले ठूला सहरका अस्पतालमा रेफर माग्छन् ।’

कँडेलका अनुसार दैनिक ८ घण्टाको ड्युटी राख्दा एक बिरामीको केयर गर्न २४ घण्टामा तीन डाक्टर र नर्स आवश्यक पर्छ । तर त्यो जनशक्ति अस्पतालमा छैन । ‘नर्मल अवस्थामै उपचार सेवा प्रभावित छ, आईसीयू झन् परको कुरा भयो’ उनले भने । अस्पताल प्रशासनका अनुसार अहिले स्थायीतर्फ एक जना एमडीजीपी र करारका ४ मेडिकल अफिसरको भरमा अस्पताल चलेको छ । यी मेडिकल अफिसरमध्ये दुई जना पनि अध्ययनका लागि जाँदै छन् 

अस्पतालमा एक संस्थाबाट एमडीजीपीसमेत केही निजी स्रोत र छात्रवृत्तिका डाक्टर आएकाले अस्पतालले कोरोना, इमर्जेन्सी र जनरल वार्डतर्फका नियमित सेवा सञ्चालन गर्न सजिलो भएको छ । एक वर्षको अवधिमा एक जना सुगरका बिरामीको उपचारक्रममा मुटुको चाल बन्द भएपछि २४ घण्टा भेन्टिलेटरमा राखेर उपचार गरिएको बाहेक भेन्टिलेटरको उपयोग भएको छैन ।

प्रकाशित : जेष्ठ २९, २०७८ १३:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×