२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

नियमित खोपबाट बालबालिका वञ्चित

महामारी नियन्त्रण भएपछि सबै बालबालिकालाई बाँकी खोप दिइने

सल्यान — कोरोना र निषेधाज्ञाका कारण जिल्लाका झन्डै ७ सय बालबालिका नियमित खोपबाट वञ्चित भएका छन् । जिल्लामा बर्सेनि झन्डै ५ हजार बालबालिकाले नियमित खोप लगाउने गरेकोमा डेढ वर्षसम्मका करिब ७ सय ५० बालबालिका खोपबाट वञ्चित भएका हुन् ।

नियमित खोपबाट बालबालिका वञ्चित

कोरोना संक्रमणको डरले स्थानीय तहले खोप अभियान रोकेपछि बालबालिकाहरू बीसीजी, डीपीटी, दादुरा, रुबेलालगायतका खोपबाट वञ्चित भएका हुन् । बाग्चौर नगरपालिकामा ५ सय, बन्गाडकुपिण्डेका ५० र कुमाख गाउँपालिकामा २ सय बालबालिका खोपबाट वञ्चित भएको स्वास्थ्य सेवा कार्यालयको तथ्यांक छ ।

खोपबाट वञ्चित हुँदा बालबालिकामा विभिन्न स्वास्थ्य समस्या देखिन थालेको अभिभावकको गुनासो छ । महामारीको निहुँमा बालबालिकालाई खोपबाट वञ्चित गर्न नहुने स्थानीय अगुवा निर्मला रोकाले बताइन् । ‘खोप लगाएको भए बालबालिकामा कोरोनासँग लड्ने क्षमता पनि बढ्थ्यो,’ उनले भनिन्, उनले भनिन्, ‘स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर बालबालिकालाई खोप दिन सकिन्छ, तर स्थानीय सरकार कोरोनाको निहुँ बनाउँदै पन्छिए ।’

अधिकांश स्वास्थ्यकर्मी कोरोना नियन्त्रणमा खटिएकाले बालबालिकालाई नियमित खोप दिन नसकिएको बाग्चौर नगरपालिकाका स्वास्थ्य संयोजक हरिबहादुर कठायतले बताए । नगरपालिकाले हरेक टोलमा प्रत्येक महिनाको पहिलो साता खोप अभियान सञ्चालन गरेको थियो । ‘वैशाख र जेठको पहिलो साता कोरोना संक्रमण दर उच्च थियो । गाउँगाउँमा संक्रमित बढेपछि खोप अभियान सञ्चालन गर्न सकिएन,’ उनले भने, ‘महामारी नियन्त्रण भएपछि सबै बालबालिकालाई बाँकी खोप दिइनेछ ।’

यो वर्ष ८ सय ६० बालबालिकाले खोप लगाइरहेको भए पनि महामारीका कारण २ वडाका बालबालिका मात्र छुटेको बन्गाडकुपिण्डे नगरपालिकाका स्वास्थ्य संयोजक वासुदेव पोखरेलले बताए । झन्डै एक महिना खोप लगाउन छुटे पनि खासै समस्या हुँदैन । उनले कोरोना महामारीको अवस्था हेरेर खोप अभियान सुचारु गरिने बताए ।

प्रकाशित : जेष्ठ २८, २०७८ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?