३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

निषेधाज्ञामा २४ शल्यक्रिया

कोरोना महामारीमा पनि जिल्लाभित्रै शल्यक्रिया सुविधा पाएपछि बिरामी र आफन्त खुसी
विप्लव महर्जन

सल्यान — आइसोलेसनसमेत बनाइएको जिल्ला अस्पतालले कोरोना महामारी र निषेधाज्ञाको अवधिमै २४ शल्यक्रिया गरेको छ । वैशाख दोस्रो सातादेखि ओपीडी सेवा बन्द गरेको अस्पतालमा प्रसूति, हाडजोर्नी र हर्नियाका २४ शल्यक्रिया भएका हुन् । 

निषेधाज्ञामा २४ शल्यक्रिया

कोरोना संक्रमितको संख्या बढेपछि जिल्ला अस्पतालमा बन्द गरिएको बहिरंग सेवा भने अझै सुचारु भएको छैन । अस्पतालमा अहिले ४१ शय्याको आइसोलेसनसमेत सञ्चालनमा छ । अस्पतालले कोरोनाका बिरामी बढेपछि झन्डै एक साता १५ शय्याको इमर्जेन्सी कक्षलाई आइसोलेसनका रूपमा प्रयोग गरेको थियो । निषेधाज्ञाको समयमा २० महिलालाई शल्यक्रियामार्फत प्रसूति सेवा दिइएको अस्पतालले जनाएको छ ।

निषेधाज्ञाकै समयमा हाडजोर्नीसम्बन्धी ३ र हर्नियाको एउटा शल्यक्रिया गरिएको अस्पतालका डा. भीमकान्त जैसीले बताए । उनका अनुसार निषेधाज्ञाका कारण बाहिर जान नसक्ने बिरामी र गर्भवती महिलाका लागि अस्पतालमै शल्यक्रियाको व्यवस्था मिलाइएको हो । ‘निषेधाज्ञाका कारण गाडी चल्न कठिनाइ भएपछि धेरै बिरामीलाई बाहिर लिन नसकिएको गुनासो आयो,’ उनले भने, ‘उपचारका लागि आएका बिरामीलाई फर्काउन समस्या भएपछि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी उपचार र शल्यक्रिया सेवा सुचारु गरेका हौं ।’

अस्पतालमा पछिल्लो समय अन्य रोगका बिरामीको उपचारसमेत भइरहेको अस्पतालका डा. प्रदिप शर्माले बताए । ‘केही समय आकस्मिक कक्षमा पनि कोरोना संक्रमितलाई राख्यौं, तर अन्य स्वास्थ्य समस्याका बिरामीहरू पनि बढेपछि इमर्जेन्सी सेवा सुचारु गरियो,’ उनले भने, ‘अहिले कोरोना संक्रमित र अन्य रोगका बिरामीको छुट्टाछुट्टै ठाउँमा उपचार भइरहेको छ ।’ उनले अस्पतालमा सुत्केरी हुन आएका गर्भवती र अन्य रोगका बिरामीलाई कोरोना संक्रमण हुन नदिन विशेष सतर्कता अपनाइएको बताए । उनका अनुसार गम्भीर समस्या भएका बिरामीका लागि नेपाली सेना र प्रहरीको सहयोगमा रगतको व्यवस्था मिलाइएको छ ।

कोरोना महामारीको समयमा जिल्लाभित्रै शल्यक्रिया सुविधा पाएपछि बिरामी र आफन्तहरू खुसी छन् । अस्पतालले गरेको वैकल्पिक व्यवस्थाले विपन्न नागरिकलाई ठूलो राहत मिलेको स्थानीय दीपक अधिकारीले बताए । उनका छोरा ८ वर्षीय टीकारामको हात भाँचिएपछि एक साताअघि अस्पतालमै शल्यक्रिया गरिएको थियो । ‘बाहिर लैजाँदा एकातिर आर्थिक समस्या त अर्कोतिर कोरोनाको डर,’ उनले भने, ‘कम खर्चमा जिल्लामै शल्यक्रिया भयो ।’ सल्यानमा कोरोना संक्रमित हुनेको संख्या १ हजार ७ सय १५ पुगेको छ । त्यसमध्ये ८ सय १९ संक्रिय संक्रमित छन् । संक्रमितमध्ये १० जनाको जिल्ला अस्पतालमा र २३ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ । बाँकी ७ सय ८६ जना होम आइसोलसनमा बस्दै आएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ८ सय ५१ जना उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित : जेष्ठ २७, २०७८ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?