कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अवैध स्वास्थ्य संस्था बन्द

‘मेडिकलले अनावश्यक औषधि चढाएर बिरामीलाई धेरै दिनसम्म झुलाएर राख्ने गरेको भेटियो’
हरि गौतम

रुकुम पश्चिम — प्रक्रिया पूरा नगरी सञ्चालन गरिएका तीन निजी स्वास्थ्य संस्था बन्द गरिएको छ । सानीभेरी गाउँपालिकामा सञ्चालित एक निजी अस्पतालसहित बाँफीकोट गाउँपालिकामा सञ्चालित एक/एकवटा क्लिनिक र मेडिकल बन्द गरिएको हो । 

अवैध स्वास्थ्य संस्था बन्द

गाउँमा अवैध रूपमा सञ्चालित स्वास्थ्य संस्थाका कारण नागरिकको स्वास्थ्य जोखिममा परेको गुनासो बढेपछि सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश शिवा नेतृत्वको टोलीले अनुगमन गरेको थियो । जिल्ला अस्पतालका डा.राजकुमार भुजेलसहित स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्यकर्मी सम्मिलित टोलीले अनुगमनपछि स्वास्थ्य संस्था बन्द गराएको हो ।

सानीभेरी गाउँपालिका–९ सिम्लीस्थित न्यु बुद्ध सोलाबाङ अस्पताल अवैध रूपमा सञ्चालनमा रहेको फेला परेको डा. भुजेलले बताए । उनका अनुसार अस्पतालमा डाक्टरबिना बिरामीहरूको चेकजाँच तथा उपचार भइरहेको पाइएको थियो । अस्पतालमा ल्याब सेवासमेत अवैधरूपमा सञ्चालन भइरहेको भेटिएको उनले जानकारी दिए । ‘लापरबाहीपूर्ण रूपमा अस्पताल सञ्चालन भइरहेको भेटियो,’ उनले भने, ‘अस्पताल सञ्चालनका लागि अनुमतिसमेत लिइएको रहेनछ, अन्य प्रक्रिया पनि पूरा भएको पाइएन ।’ रेमन विकले सञ्चालन गरिरहेको अस्पताल केही समय मुसीकोट नगरपालिका–४ सोलावाङमा सञ्चालन भएको थियो ।

तर त्यहाँ नचलेपछि उक्त अस्पताल अनुमतिबिना र आवश्यक प्रक्रिया नपुर्‍याई सिम्लीबाट सञ्चालन भइरहेको अनुगमन टोलीले पत्ता लगाएको छ । त्यस्तै बाँफीकोट गाउँपालिका–४ कोटमा नन्दराम केसीले सञ्चालन गरेको रेमन हेल्थ क्लिनिक पनि कुनै निकायमा दर्ता नभएको पाइएपछि बन्द गराइएको छ । औषधि ऐन–२०३५ को दफा ४ को उपदफा १० अनुसार औषधि पसल दर्तासम्बन्धी न्यूनतम मापदण्ड पूरा नगरेको पाइएको डा. भुजेलले बताए ।

बाँफीकोट गाउँपालिका–६ मा सञ्चालित नवीन मेडिकल हलले एउटै सुई धेरै बिरामीलाई प्रयोग गरेको पाइएको छ । एक जना बिरामीलाई प्रयोग गरिसकेको सुई निर्मलीकरण नगरी अर्को बिरामीलाई प्रयोग गर्नु गम्भीर लापरबाही भएको उनको भनाइ छ । ‘मेडिकलले अनावश्यक औषधि चढाएर बिरामीलाई धेरै दिनसम्म झुलाएर राख्ने गरेको भेटियो,’ उनले भने, ‘अवस्था गम्भीर बनेपछि मात्र अन्य स्वास्थ्य संस्थामा पठाउने गरेको पाइएको छ ।’

सञ्चालनका लागि पूरा गर्नुपर्ने मापदण्ड पूरा गरेमा बन्द भएका स्वास्थ्य संस्था सुचारु हुनेछन् । सम्पूर्ण प्रक्रिया पूरा गरेकोबारे सम्बन्धित स्थानीय तहले सिफारिस गरेपछि स्वास्थ्य संस्था खुला हुने सहायक प्रमुख जिल्ला अधिकारी शिवाले बताए । उनका अनुसार बन्द भएका स्वास्थ्य संस्थाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित : जेष्ठ २६, २०७८ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?