२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

संक्रमित खोज्न घरदैलो

जटिल समस्या देखिएका बिरामीलाई गाउँपालिकाको आइसोलेसनमा रेफर
भीमबहादुर सिंह

जाजरकोट — बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाह दुई सातायता घरदैलोमा व्यस्त छन् । उनी कोरोना संक्रमित खोज्न र कोरोनाबाट बच्न सचेतना जगाउँदै स्वास्थ्यकर्मीको टोलीसहित घरदैलोमा हिँडेका हुन् । 

संक्रमित खोज्न घरदैलो

सबै वडाका टोलटोलमा संक्रमित खोज्न जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोली पठाइएको गाउँपालिकाले जनाएको छ । अध्यक्ष शाह गाउँपालिकाको वडा नम्बर १, ६, ७, ८ र ९ का घरघरमा पुगिसकेका छन् । अन्य वडामा घरदैलो जारी छ । शंकास्पद बिरामीको एन्टिजेन विधिबाट कोरोना परीक्षण भइरहेको शाहले बताए । ‘कोरोनाको लक्षण र यसबाट बच्ने उपायबारे घरघरमा गई जानकारी दिइरहेका छौं,’ उनले भने, ‘शंकास्पद बिरामीको कोरोना परीक्षण पनि भइरहेको छ, जटिल समस्या देखिएकालाई गाउँपालिकाको आइसोलेसनमा रेफर गरिएको छ ।’ उनले अन्य रोगका बिरामीलाई पनि स्वास्थ्यकर्मीले घरमै पुगेर उपचार गरिरहेको बताए । उनका अनुसार टोली औषधि, उपकरण र विभिन्न स्वास्थ्य सामग्रीसहित गाउँ पसेको हो । गाउँमा ज्वरो र रुघाखोकीका बिरामी बढे पनि स्वास्थ्यचौकीमा कोरोना परीक्षण गराउन आउनेको संख्या न्यून थियो ।

गाउँमा कोरोना संक्रमितलाई हेर्ने दृष्टिकोण फरक भएकाले अधिकांश बिरामीले स्वास्थ्य परीक्षण नगराएको स्थानीय युवा कमल शर्माले बताए । ‘संक्रमण देखिए कम्तीमा १४ दिन आइसोलेसनमा बस्नुपर्ने बाध्यताका कारण अधिकांश ज्वरो र रुघाखोकीका बिरामीले परीक्षण नै गराएनन्,’ उनले भने, ‘गाउँपालिकाको टोली नखटिँदासम्म अधिकांश बिरामी घरेलु उपचार र धामीझाँक्रीकै घरमा थिए ।’ उनले जनप्रतिनिधि गाउँमा खटिएपछि अन्य रोगका बिरामीले पनि उपचार पाएको बताए । उनका अनुसार टोली खटिएपछि ग्रामीण क्षेत्रमा मास्क र सेनिटाइजरको नियमित प्रयोग गर्ने बानीको विकास भएको छ ।

घरदैलोका क्रममा झन्डै २ सय जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण भएको गाउँपालिकाले जनाएको छ । त्यसमध्ये ७१ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये ३६ जना होम आइसोलेसन र ३५ जना संस्थागत आइसोलेसनमा छन् । ११ जनाको लिम्सास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । बारेकोटमा सोमबारसम्म ३० जनाले कोरोना जितेका छन् ।

कोरोना परीक्षणका लागि एन्टिजेन किट र आवश्यक औषधि स्वास्थ्य संस्थामा मौज्दात रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक वीरराज सिंहले बताए । उनका अनुसार २५ शय्याको आइसोलेसन भवनलाई पनि व्यवस्थित बनाइएको छ । उनले प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक कोरोना परीक्षणको व्यवस्था मिलाइएको जानकारी दिए । समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि घरदैलोमै पुगेर परीक्षणलाई तीव्रता दिइएको गाउँपालिकाले जनाएको छ । ‘संक्रमितको मनोबल बढाउन पनि घरदैलो आवश्यक भएको हो, विपन्न परिवारलाई मास्क तथा सेनिटाइजर निःशुल्क वितरण गरिरहेका छौं,’ उनले भने, ‘घरदैलो र उपचारलाई तीव्र बनाइएपछि कोरोना जित्नेको संख्या पनि बढेको छ ।’

५ सय ८२ सक्रिय संक्रमित

जाजरकोटमा आइतबारसम्म ५ सय ८२ जना सक्रिय संक्रमित छन् । त्यसमध्ये अधिकांश सक्रमित होम आइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सोमबार मात्रै २५ जनामा कोरोना पुष्टि भएको छ ।

जिल्लाभरि १ हजार २ सय ४३ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यसमध्ये ६ सय ४८ जना उपचारपछि घर फर्किएको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ । कार्यालयका अनुसार संक्रमितमध्ये १२ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ । हालसम्म ७ जना संक्रमितको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले बताए । संक्रमित र मृतकको संख्या बढेपछि जाजरकोटमा एक महिनादेखि निषेधाज्ञा जारी छ । ‘संक्रमणको जोखिम थप बढ्न नदिन निषेधाज्ञामा कडाइ गरिएको छ,’ उनले भने, ‘गाउँगाउँमा कोरोनाविरुद्धको सचेतना अभियानलाई पनि तीव्रता दिएका छौं ।’

प्रकाशित : जेष्ठ १८, २०७८ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?