कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गाउँमा ज्वरोको प्रकोप

कोरोना देखिए समाजमा अपहेलित हुनुपर्ने डरले उनीहरूले जचाउन मान्दैनन्
एलपी देवकोटा

जुम्ला — गाउँगाउँमा ज्वरो आउने, रुघाखोकी लाग्नेलगायत लक्षणका बिरामी बढेका छन् । उनीहरू अस्पतालमा उपचारका लागि नगई घरमै बसेका छन् । कोरोना देखिए समाजमा अपहेलित हुनुपर्ने डरले उनीहरूले जचाउन मान्दैनन् । 

जुम्लाका अधिकांश गाउँमा बाली लगाउने चटारो पनि सुरु भएको छ । केही किसानहरू जौं लगाउन र धान रोप्न व्यस्त भएकाले पनि परीक्षण गर्न समस्या भएको हो । जिल्लाका आठवटै स्थानीय तहले आइसोलेसन निर्माण गरे पनि कोरोनासँग मिल्दो लक्षण देखिएका बिरामी परीक्षण गर्न नआउने गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताए । ‘संक्रमितको उपचारका लागि आठवटै स्थानीय तहका आइसोलेसनमा चिकित्सक खटाएका छौं,’ उनले भने, ‘तर बिरामी परीक्षण र उपचारका लागि आउन नमानेको चिकित्सकहरूले रिपोर्टिङ गरेका छन् ।’ उनका अनुसार ग्रामीण क्षेत्रका आइसोलेसनमा जटिल समस्या देखिएका बिरामीको मात्र उपचार भइरहेको छ ।

स्थानीयको लापरबाहीकै कारण जुम्लाका गाउँगाउँमा कोरोना फैलिएको तातोपानीका युवा कमल न्यौपानेले बताए । ‘कोरोना संक्रमण देखिहाले न्यूनतम १४ दिन आइसोलेसनमा बस्नुपर्ने हुन्छ,’ उनले भने, ‘आइसोलेसनमा बस्दा खेतीपातीका कामहरू रोकिने भएकाले पनि किसानले परीक्षण गराउन मानेका छैनन् ।’

कोरोनाको लक्षणसँग मिल्दो लक्षण देखिए पनि परीक्षण गराउन समस्या भएको तिला गाउँपालिकाका हरि बुढाले बताए । ‘अहिले गाउँमा कामको सिजन चलेको छ,’ उनले भने, ‘गाउँमै परीक्षण गर्ने व्यवस्था छैन, परीक्षण गर्न कम्तीमा गाउँपालिकाको केन्द्रमा पुग्नुपर्छ ।’ उनले कडा ज्वरो र रुघाखोकी लागेका अन्य युवाले पनि कोरोना परीक्षण नगराएको बताए । उनका अनुसार गाउँका अधिकांश बिरामी घरेलु उपचारको भरमा छन् ।

जुम्लामा अहिले ४ सय ८ जना संक्रमित रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । अहिलेसम्म १ सय ८१ जना उपचारपछि घर फर्किएका छन् । कार्यालयले जटिल समस्या भएका संक्रमितलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिरहेको छ । अहिले ३२ संक्रमितको प्रतिष्ठानमा उपचार भइरहेको रजिस्टार काफ्लेले बताए । अस्पतालमा आएका शंकास्पद बिरामीको मात्र कोरोना परीक्षण भइरहेको छ । जुम्लामा दैनिक १ सय जनाको कोरोना परीक्षण हुने गरेको छ ।

प्रकाशित : जेष्ठ १७, २०७८ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?