नहरको विकल्प ‘स्प्रिङकल’

रुकुम पश्चिम — मुसीकोट नगरपालिका–६ मैलचौरका अनिल बुढाले व्यावसायिक कागती र टिमुरखेती गरेका छन् । उनका छिमेकी रत्नबहादुर बुढा पनि व्यावसायिक तरकारी उत्पादक किसान हुन् । दुवैले ‘स्प्रिङकल’ मार्फत बारीमा सिँचाइ सुविधा पुर्‍याएका छन् । 

नहरको विकल्प ‘स्प्रिङकल’

उनीहरू मात्र होइन, मेलचौरसहित आसपासका गाउँका किसानले वैकल्पिक विधि प्रयोग गरी सिँचाइ गरिरहेका छन् । मेलचौरमा खाद्यान्न बाली, तरकारी र फलफूलमा ‘स्प्रिङकल’ को विकल्प छैन । ‘गाउँ नजिकै पानी छ, खोला पनि निरन्तर बग्छ,’ स्थानीय मिलन बोहराले भने, ‘अन्य विकल्प नहुँदा स्प्रिङकलबाटै खेती चलिरहेको छ ।’ २०७३ सम्म नहर तथा कुलोबाटै सिँचाइ गरिरहेका मेलचौरवासीले त्यसयता ‘स्प्रिङकल’ प्रयोग गरिरहेका हुन् ।

सडक निर्माणका क्रममा नहर भत्किएपछि किसानका लागि ‘स्प्रिङकल’ को विकल्प भएन । नहर भत्केपछि र गाउँमा आउने पानाखोलाको पानी अन्यत्रै लगिएपछि सिँचाइ असुविधा भएको बुढाले बताए । उक्त मुहानको पानी जिल्ला सदरमुकाम मुसीकोटमा खानेपानीका लागि ल्याइएको छ ।

मेलचौर र आपासका गाउँका बासिन्दा पछिल्लो समय व्यावसायिक तरकारी र फलफूल खेतीमा आकर्षित भएका छन् । ‘घरघरमा आफ्नै लगानीमा फरकफरक स्प्रिङकल प्रयोग भइरहेको छ,’ उनले भने, ‘खानेपानीका लागि ठूलो पाइपमार्फत अन्यत्र पानी लगिए पनि व्यवस्थित तबरले ड्याम बाँधेर सिँचाइको पानी प्रयोग गरिरहेका छौं ।’ स्प्रिङकलमार्फत सिँचाइ गर्दा धेरै समय खर्च हुने उनको गुनासो छ ।


प्रकाशित : जेष्ठ १६, २०७८ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?