कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निषेधाज्ञाले महँगियो भान्सा

दैनिक उपभोग्य वस्तुको भाउ २५ प्रतिशतसम्म वृद्धि
भीमबहादुर सिंह

जाजरकोट — कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण उपभोक्ताको भान्सा महँगिएको छ । स्थानीय व्यवसायीले संक्रमणको समयमा सहज आपूर्ति नभएको भन्दै दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका हुन् । 

निषेधाज्ञाले महँगियो भान्सा

सदरमुकाम र अन्य व्यापारिक केन्द्रमा तेल, साबुन, चामल, दाल, तरकारीलगायत दैनिक उपभोग्य वस्तुको भाउ २५ प्रतिशतसम्म बढेको छ । एक महिनाअघि प्रतिलिटर १ सय ७० रुपैयाँमा पाइने तेल अहिले २ सय ६० रुपैयाँमा खरिद गर्नुपरेको भेरी नगरपालिका–३ थाप्लेकी रुपा विकले बताइन् । ‘चामल, हरियो तरकारी, दाललगायत वस्तुको भाउ बढ्दा हाम्रो भान्सा पनि महँगियो,’ उनले भनिन्, ‘खाने तेलको भाउ त किन्नै नसक्ने गरी बढेको छ ।’ उनका अनुसार कुखुरा र खसीको मासुको मूल्य पनि अचाक्ली बढेपछि उपभोक्ता मारमा परेका छन् ।

५० रुपैयाँ किलो पर्ने हरियो तरकारी ८०, ३ सय ५० रुपैयाँ प्रतिकिलो पाइने कुखुरा मासु ४ सय ५० र ७ सय ५० रुपैयाँमा पाइने खसीको मासु प्रतिकिलो ९ सय रुपैयाँमा किन्नुपरेको उनको भनाइ छ । निषेधाज्ञाबाट रोजगारी गुमाएकालाई मूल्य अकासिएपछि दैनिक उपभोग्य सामग्री किन्न समस्या भएको उनले बताइन् । ‘हरियो तरकारीको खरिद र बिक्री मूल्यमा ठूलो अन्तर देखिन्छ,’ उनले भनिन्, ‘उत्पादकदेखि उपभोक्तासम्म आइपुग्दा कम्तीमा पनि किलोको ५० रुपैयाँ फरक परिरहेको छ ।’ उनका अनुसार यातायात व्यवसायीले ढुवानी भाडामा मनपरी गर्दा पनि मूल्य चर्को पर्न गएको हो ।

नेपालगन्ज र सुर्खेतको बजारबाट उपभोग्य वस्तुको मुल्य बढेरै आउँदा उपभोक्ता चर्को मूल्यको मारमा परेको व्यवसायी कमला ओलीले बताइन् । उनका अनुसार निषेधाज्ञाका कारण मजदुर नपाइँदा वस्तु लोड र अनलोडमा पनि धेरै रकम खर्च हुने गरेको छ । ‘इन्धनको भाउ वढेको भन्दै ढुवानीकर्ताले सामान ढुवानी गर्नै मान्दैनन्,’ उनले भनिन्, ‘महँगोमै आएपछि हामीलाई पनि सामानको मूल्य बढाउनुपर्ने बाध्यता छ ।’

निषेधाज्ञाले बारेकोटको लिम्साबजार, कालीमाटी, थलह, ढुंगील, पाचकाटीयालगायत बजारमा पनि दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएको छ । नियमित ढुवानी नहुँदा दैनिक उपभोग्य वस्तु पाउन मुस्किल भएको बारेकोट–५ का लोकबहादुर सिंहले बताए । ‘एक त सामानै पाइँदैन, पाइए पनि महँगोमा किन्नुपर्छ,’ उनले भने, ‘बारेकोटमा खाद्यान्नको मूल्य प्रतिकिलो ५० रपैयाँसम्म बढेको छ ।’ महँगीका कारण विपन्न नागरिकलाई छाक टार्नै मुस्किल भएको उनको भनाइ छ ।

सदरमुकाममा सिमेन्ट, छडलगायत निर्माण सामग्रीको मूल्य पनि अकासिएको छ । निषेधाज्ञाअघिसम्म ८८ रुपैयाँ प्रतिकिलो पर्ने छड १ सय १३ र प्रतिबोरा ७ सय ५० पर्ने सिमेन्ट ८ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ । छड र सिमेन्टको उपभोग्य वस्तुको मूल्य बढ्दा घर निर्माण गर्न समस्या भएको भेरी नगरपालिका–३ ठाटीबजारका कर्णबहादुर खत्रीले बताए । ‘महँगी बढेको बढ्यै छ,’ उनले भने, ‘सरोकारवाला निकाय मौन बस्दा व्यापारीको मनपरी बढेको हो ।’

स्थानीय प्रशासनले अनुगमन नगर्दा उपभोक्ता ठगिएको भेरी नगरपालिका–३ का वडाअध्यक्ष लीलाबहादुर शाहले बताए । उनका अनुसार सदरमुकाम खलंगाभित्रकै बजारमा कुनै पनि सामानको मूल्यमा एकरूपता छैन । ‘पाँच मिनेटको दूरीका फरक पसलमा पनि प्रतिकिलो वस्तुको मूल्यमा १० देखि २० रुपैयाँसम्मको अन्तर छ,’ उनले भने, ‘बजार भाउ मनोमानी छ, प्रशासनलाई यसको वास्ता नै छैन ।’ उनले विपन्न नागरिकलाई महँगीले छाक टार्न मुस्किल हुन थालेको बताए ।

झन्डै एक महिनादेखि निषेधाज्ञा गरेको जिल्ला प्रशासन कार्यालयले खाद्यान्नलगायत उपभोग्य वस्तु किनबेचका लागि बिहान ६ बजेदेखि ९ बजेसम्म बजार खुला राख्ने अनुमति दिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले एक/दुई दिनमै बजार अनुगमनलाई तीव्रता दिने बताए ।

प्रकाशित : जेष्ठ १४, २०७८ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?