कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

निषेधाज्ञामा रोकिएन विकास

ज्योति कटुवाल

दैलेख — निषेधाज्ञा लागू भए पनि जिल्लामा विकास निर्माणका काम जारी छन् । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको बहानामा कुनै पनि विकास निर्माणका काम नरोक्ने ठेकेदार कम्पनीलाई निर्देशन दिएपछि कामले निरन्तरता पाएका हुन् । 

निषेधाज्ञामा रोकिएन विकास

मध्यपहाडी (पुष्पलाल) लोकमार्गमा निशेषाधाको समयमा झन्डै २० प्रतिशत काम सकिएको छ । अहिले विभिन्न ठाउँमा सडक स्तरोन्नतिका कामहरू भइरहेको आयोजना प्रमुख अर्जुन बमले बताए । लोकमार्गका विभिन्न क्षेत्रमा झन्डै १ हजार २ सय स्थानीयले रोजगारी पाएका छन् । ‘लकडाउनकै कारण गत वर्ष काममा ढिलाइ भएपछि यो वर्ष तीव्रता दिएका हौं,’ उनले भने, ‘अहिले त अरू बेलाभन्दा बढी स्थानीयले रोजगारी पाइरहेका छन् ।’ उनका अनुसार लोकमार्गअन्तर्गत भगवतीमाई गाउँपालिकाको मनघरदेखि लोहोरेखोलासम्म २१ किमि खण्डमा कालोपत्रे सम्पन्न भइसकेको छ । दुल्लु लगरपालिकाको चकर्तादेखि रामाघाटसम्मको २५ किमि खण्डमा कालोपत्रे गर्ने तयारी भइरहेको उनले बताए । यस्तै लोहोरेदेखि सदरमुकाम दैलेख बजार खण्डको १० किमि सडकमा पनि स्तरोन्नतिको काम भइरहेको छ ।

आयोजना प्रमुख बमका अनुसार निर्माण क्षेत्रमा कामदारलाई माक्स तथा सेनिटाइजरको अनिवार्य प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न भनिएको छ । ‘कोरोना संक्रमण फैलन नदिन आवश्यक सुरक्षा मापदण्ड अपनाइएको छ,’ उनले भने, ‘भारतबाट कोरोनाका कारण फर्किएका स्थानीयले पनि अहिले नियमित रोजगारी पाएका छन् ।’आयोजनाको कार्यालयले निषेधाज्ञाकै समयमा मुआब्जा विवादको समस्या हल गरिएको जनाएको छ ।

आयोजनाको कार्यालय दैलेखमै भएकाले प्राविधिकले पनि कार्यक्षेत्रमै बसेर काम गरिरहेको कार्यालयका सूचना अधिकारी मनीष सिंहले बताए । उनका अनुसार लोकमार्गमा यो वर्ष १० निर्माण कम्पनीमार्फत ४ अर्ब रुपैयाँको बजेटबाट सडक निर्माणको काम भइरहेको छ । एउटा कम्पनीले कम्तीमा पनि १ सय जना कामदार रोजगारी दिएको उनले बताए । ‘निषेधाज्ञाको बेला स्थानीयस्तरमै रोजगारी दिने उद्देश्यले बाहिरबाट आउने कामदारलाई रोक लगाएका छौं,’ उनले भने, ‘सबै खण्डमा सडक निर्माणका कामहरू एक दिन पनि रोकिएको छैन ।’

जिल्लाका स्थानीय तह, पूर्वाधार विकास कार्यालय, सडक डिभिजन कार्यालयलगायतका कार्यालयले पनि विकास निर्माणको कामलाई जारी राखेको जनाएका छन् । तीनवटै सरकारले विनियोजन गरेको विकास बजेट फ्रिज हुन नदिन निषेधाज्ञा पनि काम गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए । ‘कतिपय स्थानीयवासी कोरोनाकै कारण रोजगारी गुमाएर फर्किएका छन्, यो बेला विकास योजना सञ्चालन हुँदा उनीहरूलाई पनि रोजगारी मिलेको छ,’ उनले भने, ‘यो लकडाउनमा गाउँको विकास पनि रोकिएको छैन ।’

लकडाउनको बहाना बनाई काम नगर्ने ठेकेदारलाई कारबाही गरिने उनले बताए । उनका अनुसार यो अवधिमा काम नगरेका ठेकेदारलाई म्याद थपबाट वञ्चित गराउने गरी विभिन्न निकायसँग पहल भइरहेको छ ।

प्रकाशित : जेष्ठ १३, २०७८ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?