कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निषेधाज्ञाले कठिन बनायो भैंसीपालकलाई

‘पहिला साढे ३ सय लिटरसम्म दैनिक दूध लैजाने गरेकोमा अहिले डेढ सय लिटर दैनिक डेरीमा लैजान्छु’

वीरेन्द्रनगर/जुम्ला — लेकबेंसी नगरपालिका–१० का चूडामणि ढकालको फार्ममा ५० वटा भैंसी छन् । तीमध्ये २७ वटा भैंसी दुहुना छन् । निषेधाज्ञा हुनुअघि वीरेन्द्रनगरका विभिन्न डेरीमा दैनिक ३ सय लिटर दूध बिक्री गर्ने उनले अहिले मुस्किलले एक सय लिटर मात्रै दूध बेचिरहेका छन् ।

निषेधाज्ञाले कठिन बनायो भैंसीपालकलाई

कोरोना महामारीपछि सुर्खेतमा निषेधाज्ञाका कारण बजार क्षेत्रमा बसोबास गर्नेहरू गाउँ फर्किंदा र होटल तथा रेस्टुरेन्ट बन्द हुँदा दूध बिक्री गर्न समस्या नभएको हो । ढकालले कोरोनाका कारण उपभोक्ताहरू पनि दूध किन्न डराएको बताए । ‘पसलमा जान नै मान्छेहरू डराउँछन्,’ उनले भने, ‘हामीले धेरै लैजान खोजे पनि दूध बिक्री नहुने भनेर डेरीबाटै थोरै ल्याउन भन्छन् ।’ उनले निषेधाज्ञाका कारण भैंसीका लागि दाना पनि नपाइने गरेको गुनासो गरे ।

वीरेन्द्रनगर–५ का डेरी सञ्चालक कृष्ण चालिसेले निषेधाज्ञामा दूध बिक्री गर्न पहिलेभन्दा समस्या भएको बताए । ‘अहिले सबै होटलहरू पनि बन्द छन्,’ उनले भने, ‘कोरोनाको डरले बजारबाट मान्छेहरू गाउँ गए, यहाँ भएकैले पनि भाइरसको डरले दूध नकिन्ने अवस्था आएको छ ।’ दूध बिक्री नभएपछि आफूहरूले किसानलाई दूध कम ल्याउन भनेको डेरी सञ्चालकहरूको भनाइ छ ।

केही किसानले दूध बिक्री गर्न समस्या भएको बताए पनि वीरेन्द्रनगर–१४ दार्नाकोटका किसान तीर्थ पराजुलीले भने मागअनुसारको दूध पुर्‍याउन नसकिएको बताएका छन् । खडेरीको समय भएकाले गाई–भैंसीलाई आवश्यक पर्ने पर्याप्त घाँस नहुँदा दूध कम दिने गरेको उनको भनाइ छ । ‘अहिले निषेधाज्ञाले गर्दा पनि बाहिरबाट पौष्टिक आहारा ल्याउन सकिएको छैन,’ उनले भने, ‘पहिला साढे ३ सय लिटरसम्म दैनिक दूध लैजाने गरेकोमा अहिले डेढ सय लिटर दैनिक दूध डेरीमा लैजान्छु ।’ केही किसानले बिक्री नभएको भने पनि आफूले भने वीरेन्द्रनगरस्थित ७ वटा डेरीमा दूध पुर्‍याउने गरेको उनले बताए ।

घरमै थन्कियो दूध

जुम्लामा पनि दोस्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि ३ सातादेखि दूध बिक्री हुन छाडेको छ । कोरोनाका कारण जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा गरेपछि गाउँमा उत्पादन भएको दूध बजार नपाई थन्किएको हो । गुठिचौर गाउपालिका–५ का व्यवसायिक किसानले सदरमुकाम खलंगामा दैनिक ४० देखि ५० लिटर दूध पुर्‍याउँदै आएका थिए । तर खलंगाका सबै डेरी बन्द भएपछि दूध बिक्री हुन छाडेको हो । ‘स्थानीय प्रशासनले हिँडडुलमा समेत कडाइ गर्‍यो,’ भैंसीपालक कृषक विष्णु धितालले भने, ‘महामारीका कारण मानिस दूध किन्नै डराउन थाले ।’ उनले निषेधाज्ञाका कारण दैनिक ५० लिटर दूध घरमै थन्क्याउनुपरेको बताए । उनले सात वर्षदेखि गाउँमै व्यवसायिक भैंसीपालन गरिरहेका छन् । गुठिचौरकै नारायण धितालले आफूहरूकै मुख्य पेसा भैंसीपालन भए पनि लकडाउनका कारण समस्या भएको बताए । ‘दूग्धजन्य पदार्थ पनि अत्यावश्यक सेवामै परे पनि प्रशासनले ओसारपसारमा रोक लगाएको छ,’ उनले भने, ‘दैनिक ५० लिटर दूध घरमै थन्क्याएर के गर्ने ?’

व्यावसायिक पशुपालनकै रकमबाट जीविकोपार्जन गर्दै आएका किसानलाई दूध बिक्री नभएपछि साँझ–बिहानको खर्च टार्न मुस्किल भएको अर्का किसान कमल धितालले बताए । उनको व्यावसायिक फार्मबाट दैनिक ४० लिटर दूध उत्पादन भइरहेको छ । उनले दूध बिक्री नहुँदा भैंसीलाई दाना–पानी खुवाउन पनि समस्या भएको गुनासो गरे । ‘खर्च दिन प्रतिदिन बढ्दै गएको छ, दूध बिक्री हुँदैन, कसरी जीविकोपार्जन गर्ने ?,’ उनले भने, ‘दूधका अन्य परिकार बनाउने सीप र उपकरण नहुँदा दैनिकजसो दूध खेर गइरहेको छ ।’

सरकारी जागिर छाडेर २०६२ देखि भैंसीपालन गर्दै आएका किसान विष्णु धितालले दूध बेचेरै महिनामा एक लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका थिए । ‘अहिले त कमाइ शून्य छ,’ उनले भने, ‘बिक्री नभएपछि आजभोलि दैनिक ५० लिटर दूध खेर गइरहेको छ ।’ उनले खलंगामा दूध र दुग्धजन्य सामग्री बिक्री गरेर दैनिक ३ हजार ५ सय रुपैयाँसम्म कमाइरहेका थिए । खलंगा बजारमा प्रतिलिटर ७० रुपैयाँमा दूध बिक्री भइरहेको छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन दैनिक अनिवार्य दूध खान आवश्यक रहे पनि निषेधाज्ञाले उपभोक्ता र किसान दुवै मर्कामा परेको स्थानीय अगुवा अनिल देवकोटाले बताए । अघिल्लो वर्षको लकडाउनका बेला स्वास्थ्य मापदण्ड पालना गरी किसानले दूध बिक्री गरेका थिए । यस पटकको दोस्रो भेरियन्टको कोरोना खतरनाक भएकाले र संक्रमितको संख्या बढ्दै गएकाले दूध बिक्री वितरणमा पनि रोक लगाइएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए । ‘अहिले सबैलाई संक्रमणबाट बचाउनु नै पहिलो काम हो,’ उनले भने, ‘थप संक्रमण फैलन नदिन कृषिजन्य उत्पादनको बिक्री वितरण रोकिएको हो ।’

प्रकाशित : जेष्ठ १२, २०७८ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?