निषेधाज्ञाको मारमा कामदार

छपाल लामा

हुम्ला — कोरोना महामारी बेला सिमकोट विमानस्थलमा काम गरेर जीवन धान्दै आएका महिला मारमा परेका छन् । जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञाको कारण उनीहरू मारमा परेका हुन् । हुम्लामा वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी छ ।

निषेधाज्ञाको मारमा कामदार

सिमकोट विमानस्थलमा दैनिक करिब १ सय महिला भरियाको काम गर्छन् । उनीहरूले विमानबाट आएको खाद्यान्न, पसलको सामान र यात्रुका झोला बाकेर होटलसम्म पुर्‍याउँदै आएका छन् । १३ वर्षदेखि भरियाको काम गर्दै आएकी सिमकोटकी बाँचु सुनारले पछिल्लोपटक आएको कोरोनाले बढी पीडा दिएको बताइन् । ‘कोरोनाको डरले घरबाट बाहिर निस्किन डर लाग्छ, पुलिसले पनि आउन दिँदैन,’ उनले भनिन्, ‘काम नपाएपछि घरपरिवारको गुजारा गर्नै गाह्रो भइसक्यो ।’ दुई सातोखि काम नपाएको उनले बताइन् ।

विमानस्थलमा भारी बोक्ने कामकै लागि सिमकोट आएकी रामेछापकी लामु शेर्पाले निषेधाज्ञा लम्बिँदै जाँदा दिन गुजारा गर्न पनि मुस्किल हुन थालेको बताउँछिन् । गत वर्ष कोरोनाको बेला प्रशासनले आफूहरूको अनुरोधमा भारी बोक्न दिएको भए पनि यस वर्ष काम गर्न नदिएको उनले बताइन् ।

विमानस्थलमा पुरुष भरिया पनि छन् । तीमध्येका एक सिमकोटकै लादन सुनारले विमानस्थलमा भरियाको काम गरेर ६ जनाको परिवार पाल्दै आएका थिए । उनी पनि अहिले ठूलो चिन्तामा छन् । आम्दानीको अन्य स्रोत नभएको र घरमा अनाज पनि नभएकोले साँझबिहानको भोक मेट्नै मुस्किल भएको उनले बताए । उनले विमानस्थलमा भारी बोकेर दैनिक ३ हजार रुपैयाँसम्म कमाउने गरेका थिए । ‘अहिले त दिनमा एक रुपैयाँ पनि कमाइ हुँदैन,’ उनले भने, ‘केही दिन यस्तै हुने हो भने कसरी बाँच्ने भन्ने चिन्ता भइसक्यो ।’

भारी बोक्न दिँदा भीडभाड हुने भन्दै स्थानीय प्रशासनले काममा रोक लगाएको हो । सडक यातायातले नजोडिएको हुम्लामा हवाई मार्गबाट दैनिक उपभोग्य सामान आउँछ । निषेधाज्ञा भए पनि हुम्लामा खाद्यान्न र अन्य सामान लिएर जहाज आउने गरेका छन् । भरियाहरूले यस अवधिमा सरकारसँग राहतको व्यवस्था गरिदिन माग गरेका छन् । ‘काम खोसिएपछि हामी भोकभोकै मर्न लाग्यौं, केही न केही त राहत दिइयोस्,’ बाँचुले भनिन्, ‘राहत नदिए भए काम गर्न दिनुपर्‍यो ।’

प्रकाशित : जेष्ठ ९, २०७८ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?