१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आइसोलेसन भरियो, अक्सिजन छैन

जाजरकोट/रुकुम पश्चिम — जाजरकोट अस्पतालको आइसोलेसन कोरोना संक्रमितले भरिएको छ । अक्सिजन अभावमा बिरामीलाई जिल्ला बाहिर रेफर गर्नुपर्ने बाध्यता छ । अहिले अस्पतालमा उपचार गराइरहेका २३ संक्रमित नियमित अक्सिजन दिनुपर्ने अवस्थाका छन् । 

आइसोलेसन भरियो, अक्सिजन छैन

अक्सिजन अभावकै कारण अस्पतालको आइसोलेसनमा नयाँ संक्रमितलाई भर्ना पाउन समस्या छ । जिल्लाभरि अहिले ५२ वटा अक्सिजन सिलिन्डर मात्र मौज्दात छ । अस्पतालमा भएका ३८ अक्सिजन सिलिन्डरमध्ये अधिकांश खाली हुने क्रममा रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । ‘एक सेकेन्ड पनि अक्सिजन नपाउँदा बिरामीको छटपटी सुरु हुन्छ,’ जिल्ला स्वास्थ्य सेवा व्यवस्थापक टीकाराम जैसीले भने, ‘भर्ना भएका बिरामीको जेनतेन उपचार भइरहेको छ, अब नयाँ भर्ना गर्दा उपचारमा समस्या हुने देखियो ।’ उनका अनुसार अक्सिजनको अभाव कम गर्न प्रदेश तथा संघीय सरकारसँग आवश्यक पहल भइरहेको छ ।

स्थानीय तहले सञ्चालन गरेका आइसोलेसनमा पनि अक्सिजनको अभाव चुलिएको छ । नलगाड नगरपालिकाले नगर अस्पतालका लागि अक्सिजन सिलिन्डर खरिद गर्न खोज्दा कतै नपाएको जनाएको छ । भर्ना गरिएका सबै बिरामीलाई हाइफ्लो अक्सिजन आबश्यक भए पनि खरिद गर्न नसकेको नगर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. शत्रुधन रजकले बताए । ‘अक्सिजन अभावकै कारण बिरामीको ज्यान बचाउनै गाह्रो भएको छ,’ उनले भने, ‘त्यसैले जटिल अवस्थाका बिरामीलाई जिल्लाबाहिर रेफर गरिहेका छौं ।’ जाजरकोट अस्पतालले सिलिन्डर भर्न नेपालगन्ज पठाउन गरेको छ । नेपालगन्जमा पनि सिलिन्डर रिफिल गर्न पालो बस्नुपर्दा समस्या भएको स्वास्थ्य व्यवस्थापक जैसीले बताए । कर्णाली प्रदेश सरकारले अक्सिजन सिलिन्डरलगायत स्वास्थ्य सामग्री व्यवस्थापनका लागि एक करोड रुपैयाँ उपलब्ध गराएको छ ।

किट नहुँदा समस्या

गाउँगाउँमा कोरोना संक्रमितको संख्या बढे किट अभाव हुँदा परीक्षणमा समस्या भएको छ । अहिलेसम्म परीक्षण गरिएकामध्ये झन्डै एक तिहाइमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । कार्यालयमा अहिले झन्डै १ सय किट मात्र मौज्दात छ । कार्यालयका अनुसार वैशाख पहिलो सातादेखि मंगलबारसम्म १ हजार ४ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ ।

त्यस्तै, ५ सय ७ जनाको पीसीआरमार्फत कोरोना परीक्षण भएको कार्यालयले जनाएको छ । पीसीआरको रिपोर्ट ढिलो आउँदा र परीक्षण गरिएका मानिस आइसोलेसनमा नबस्दा जोखिम बढेको स्वास्थ्य व्यवस्थापक जैसीले बताए । उनका अनुसार तत्काल नतिजा दिने भएकाले एन्टिजेन विधिबाटै परीक्षण गर्न खोजिए पनि किट अभाव हुँदा समस्या भएको छ । ‘अहिले जिल्ला अस्पतालमा उपचारका लागि आएका शंकास्पद बिरामीको मात्र कोरोना परीक्षण भइरहेको छ,’ उनले भने, ‘किट सकिएपछि कन्ट्याक्ट ट्रेसिङ र समुदायस्तरमा परीक्षण गर्न सकेका छैनौं ।’ किट किन्न खोज्दा काठमाडौंमा पनि नपाइएको कार्यालयले जनाएको छ ।

प्रकाशित : जेष्ठ ७, २०७८ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?