संक्रमित बढ्दै, जनशक्ति अभाव

जिल्लाबाट रेफर गरिएका संक्रमितलाई बाहिर लैजान हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता
छपाल लामा

हुम्ला — हिमाली जिल्ला हुम्लामा झन्डै ३ साताको अवधिमा हुम्लामा ५६ कोरोना संक्रमित भएका छन् । जनशक्ति र उपकरण अभावमा जटिल समस्या भएकालाई बाहिर रेफर गर्नुपर्ने बाध्यता छ ।

संक्रमित बढ्दै, जनशक्ति अभाव

लामो समय ‘ग्रिन जोन’ मा रहेको हुम्लामा दुई सातायता कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । जिल्ला अस्पतालमा एन्टिजेन विधिबाट गरिने परीक्षणमा दैनिक ६ जनासम्म संक्रमित पुष्टि हुने गरेका छन् ।

सदरमुकाम सिमकोट र ग्रामीण क्षेत्रमा ज्वरो र रुघाखोकीका बिरामी बढेसँगै संक्रमण हुनेको संख्यामा वृद्धि भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । जिल्ला अस्पतालमा एउटा भेन्टिलेटर जडान गरिए पनि जनशक्ति नहुँदा सञ्चालनमा आउन सकेको छैन । ‘मेसिन भए मात्र के गर्ने ?,’ अस्पतालकी सिनियर अनमी सरिता बोहराले भनिन्, ‘न चलाउने जनशक्ति छ न अरू उपकरण ।’ उनले जनशक्ति, उपकरण र अक्सिजनको अभावमा अस्पतालमा संक्रमितको भरपर्दो उपचार हुन नसकेको बताइन् ।

उनका अनुसार जिल्लाबाट रेफर गरिएका संक्रमितलाई बाहिर लैजान हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ । सोमबार मात्रै गाउँपालिकाका लागि स्वास्थ्य सामग्री व्यवस्थापन गर्न आएका सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामीलाई कोरोना पोजिटिभ देखिएपछि हेलिकप्टरमार्फत जुम्ला पठाइएको छ । श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला लगिएको हो ।

गाउँपालिकाका अनुसार ९ लाख ५० हजार रुपैयाँमा हेलिकप्टर चार्टर गरेर धामीलाई जुम्ला पुर्‍याइएको छ । चार्टरबापत खर्च भएको साढे चार लाख रुपैयाँ गाउँपालिकाले र साढे चार लाख रुपैयाँ धामीले भुक्तानी गर्नेछन् । पैसा हुनेले हेलिकप्टर चार्टर गरे पनि विपन्न नागरिक उपचार अभावमा मर्नुपर्ने अवस्था आएको सिमकोट गाउँपालिकास्थित ठेहेका लालदून सुनारले बताए ।

जिल्ला अस्पतालमा अहिले दुईवटा मात्र अक्सिजन सिलिन्डर मौज्दात छ । ‘अहिलेसम्म त अक्सिजन दिनुपर्ने संक्रमित आएका छैनन्,’ अनमी बोहोराले भनिन्, ‘आए बाहिर रेफर गर्नुको विकल्प छैन ।’ समुदायस्तरमा परीक्षण नभएकाले संक्रमितको संख्या अझै बढ्ने सर्केगाडका रवीन्द्र देवकोटाले बताए । ‘पहिले नै कडाइ गरेको भए यस्तो समस्या आउने थिएन,’ उनले भने, ‘अहिले त गाउँगाउँमा संक्रमित भेटिएका छन् ।’ जिल्ला बाहिरबाट आउनेहरूलाई कोरोना परीक्षण गरी गाउँ पठाउँदा स्थिति भयावह भएको उनको आरोप छ ।

सोमबारको परीक्षणमा ६ संक्रमित थपिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी भक्ति फडेराले बताए । सर्केगाडका एक र अदानचुलीका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनका अनुसार जिल्ला अस्पतालको आइसोलेसनमा ११ जनाको उपचार भइरहेको छ । त्यस्तै सर्केगाडमा १०, अदानचुलीमा ७ र ताजाकोटमा २० जनाको स्थानीय तहले निर्माण गरेका आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ ।

प्रकाशित : जेष्ठ ४, २०७८ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?