२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

जटिल संक्रमितको बाटैमा मृत्यु

दक्ष जनशक्ति, उपकरण र पूर्वाधार अभावमा जटिल अवस्थाका संक्रमितलाई जिल्लाबाहिर रेफर गर्नुपर्ने बाध्यता
भीमबहादुर सिंह

जाजरकोट — नलगाड नगरपालिका–१२ का ६५ वर्षीय पुरुषको कोरोना संक्रमितले गत मंगलबार उपचार अभावमा ज्यान गयो । त्यसको दुई दिनअघि भेरी नगरपालिका–४ की ४५ वर्षीया महिला संक्रमितले पनि उपचार अभावमै ज्यान गुमाइन् । श्वासप्रश्वासमा जटिल समस्या आएपछि नेपालगन्ज लैजाने क्रममा उनीहरूले बाटोमै ज्यान गुमाएका हुन् ।

जटिल संक्रमितको बाटैमा मृत्यु

जिल्ला अस्पताललगायतका स्वास्थ्य संस्थामा अक्सिजन र भेन्टिलेटर नहुँदा कोरोना संक्रमितको उपचार गर्न समस्या भएको छ । जिल्ला अस्पतालमा उपकरण, दक्ष जनशक्ति र पूर्वाधारको अभावमा कोरोना संक्रमितलाई बाहिर रेफर गर्नुपर्ने बाध्यता हो । तालिम प्राप्त जनशक्ति नहुँदा गत वर्ष २६ लाख रुपैयाँमा खरिद गरिएको भेन्टिलेटर प्रयोगविहीन बनेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । कर्णाली प्रदेश सरकारसँग भेन्टिलेटर सञ्चालनका लागि पटकपटक विशेषज्ञ चिकित्सक माग गरिए पनि बेवास्ता भएको जिल्ला स्वास्थ्य प्रमुख टीकाराम जैसीले बताए ।

अस्पतालमा भेन्टिलेटरसहितको उपचार सेवा नभएपछि कोरोना संक्रमितलाई जिल्लाबाहिर रेफर गर्नुको विकल्प नभएको उनले बताए । बेहोस बनाउने एनेस्थेसियालोजिष्टलगायत विशेषज्ञ चिकित्सक नहुँदा भेन्टिलेटर सञ्चालन गर्न समस्या भएको छ । ‘अक्सिजनको लेभल ९२ भन्दा तल भएका, फोक्सोमा समस्या भएका र सास फेर्न गाह्रो हुने संक्रमितको उपचार यहाँ सम्भव छैन,’ उनले भने, ‘अहिले सामान्य लक्षण देखिएका बिरामीको मात्र उपचार गरिरहेका छौं ।’

आईसीयू, आइसोलेसन बेड, अक्सिनलगायतको अभाव हुँदा संक्रमितको उपचार सहज नभएको स्वास्थ्य कार्यालयले जनाएको छ । ‘उपचार कक्षको समेत अभाव छ,’ स्वास्थ्य प्रमुख जैसीले भने, ‘कोठा नहुँदा १५ वटा बेड स्टोरमा थन्क्याएका छौं ।’ नयाँ भवन निर्माणधीन रहेको र पुरानो भवन भत्किसकेकोले उपचार कक्षको अभाव भएको उनले बताए ।

अस्पतालमा १२ वटा आइसोलेसन बेड र ‘हाइडिफेन्डेन्सी’ युनिटमा १० वटा बेड राखिएको जिल्ला अस्पतालले जनाएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले प्रत्येक स्थानीय तहमा अक्सिजनसहितको २० शय्याको आइसोलेसन कक्ष निर्माण गर्ने निर्णय गरेको छ । तर स्थानीय तहहरूले त्यसबारे ध्यान नदिएको सहायक प्रमुख जिल्ला अधिकारी हरि देवकोटाले बताए । यस्तै, जाजरकोट अस्पतालमा एन्टिजेन किट र भीटीएम कम हुँदा लक्षण देखिएका बिरामीको पनि कोरोना परीक्षण हुन सकेको छैन ।

जाजरकोटका लागि प्रदेश सरकारले अहिलेसम्म एक हजार एन्टिजेन किट र पीसीआरका लागि ६ सय भीटीएम मात्र उपलव्ध भएको अस्पतालका कोरोना नियन्त्रण फोकल पर्सन कृष्ण खत्रीले बताए । उनका अनुसार प्रदेश सरकारसँग ९ हजार किट माग गरिएकोमा ९ सय मात्र एन्टिजेन किट आएको थियो । २ हजार भीटीएम मागेकोमा ६ सय मात्र पुगेको छ । कार्यालयले गाउँपालिकालाई ५० र नगरपालिकालाई १ सयका दरले एन्टिजेन किट वितरण गरेको छ । जिल्लामा पीसीआर मेसिन नहुँदा कोरोना परीक्षणका लागि स्वाब संकलन गरी सुर्खेत पठाउनुपर्ने बाध्यता छ । ‘स्वाब संकलन गरी पठाइएका नमुनाको एक हप्ता बित्दासमेत पालो आउँदैन,’ खत्रीले भने, ‘परीक्षणमा ढिलाइ हुँदा पनि महामारी नियन्त्रणमा समस्या भएको छ ।’

४ सय संक्रमित, २ को ज्यान गयो

जाजरकोटमा बुधबारसम्म कोरोना संक्रमितको संख्या चार सय पुगेको छ । कोरोनाबाट दुई जनाले ज्यान गुमाएका छन् । विभिन्न ठाउँमा गरिएको एक हजार एन्टिजेन परीक्षणमा संक्रमितको संख्या चार सय पुगेको हो । कोरोना नियन्त्रण फोकल पर्सन खत्रीका अनुसार जटिल अवस्थाका आठ संक्रमितलाई उपचारका लागि नेपालगन्ज र सुर्खेत रेफर गरिएको छ । ६७ जना उपचारपछि घर फर्किएका छन् । अस्पतालको आइसोलेसनमा १७ जनाको उपचार भइरहेको छ । यस्तै, भेरी नगरपालिका–४ सिर्जना टोलमा १ सय २० जनामा गरिएको परीक्षणमा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अक्सिजन प्लान्ट जडान भएन

ठेकेदारको लापरबाहीले जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडानमा ढिलाइ भएको छ । अक्सिजन प्लान्ट जडान नहुँदा अक्सिजनका सिलिन्डर भर्न नेपालगन्ज पठाउनुपर्ने बाध्यता भएको जिल्ला अस्पतालले जनाएको छ । अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न नेपटेक मेडिकल सप्लायर्स प्रालि, काठमाडौंले ४० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।

तर सम्झौता भएको एक महिना बित्दासमेत सप्लायर्सका सञ्चालक नरबहादुर लिम्बूले काम सुरु गरेका छैनन् । उनले आगामी जेठ १५ गतेभित्र प्लान्ट जडान गर्ने गरी ठेक्का सम्झौता गरेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । बारम्बार ताकेता गर्दा पनि ठेकेदारले काम सुरु नगरेको प्रमुख जैसीले बताए । अहिले अस्पतालमा ३८ वटा अक्सिजन सिलिन्डर छन् । ‘ती सिलिन्डर खाली हुनेबित्तिकै नेपालगन्ज पठाउनुपर्छ,’ उनले भने, ‘सिलिन्डर पठाउन र ल्याउन निकै समस्या छ ।’

प्रकाशित : वैशाख ३१, २०७८ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?