२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

संक्रमितले अस्पताल भरिभराउ

पर्याप्त अक्सिजन नहुँदा १० जनाले लगाउन पाएका छैनन्
विप्लव महर्जन

सल्यान — कोरोना संक्रमितका कारण जिल्ला अस्पतालको आइसोलेसन भरिएका छन् । अक्सिजनको अभावमा उपचारमा समस्या भएको छ । जिल्ला अस्पतालमा १६ शय्याको आइसोलेसनमा गम्भीर अवस्थाका ३८ संक्रमित भर्ना भएका छन् ।

संक्रमितले अस्पताल भरिभराउ

बिरामीले आइसोलेसन भरिए पनि पर्याप्त अक्सिजन नहुँदा १० जनाले अक्सिजन लगाउन नपाएको जिल्ला अस्पतालले जनाएको छ । ‘बिरामी दैनिक थपिएका छन्, तर अक्सिजनको अभाव भइरहेको छ,’ जिल्ला अस्पतालका डा. भीमकान्त जैसीले भने, ‘अक्सिजन नहुँदा जटिल अवस्थाका संक्रमितलाई बाहिर रेफर गर्नुपर्ने बाध्यता छ ।’ अक्सिजनको अभावमा संक्रमितको उपचार सोचेअनुसार गर्न नसकिएको उनले बताए । खाली सिलिन्डर भर्न दाङ र नेपागन्ज पठाइने गरिएको अस्पतालले जनाएको छ । तर सबै भरिएर नआउँदा समस्या भएको स्वास्थ्यकर्मीको गुनासो छ । अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको काम नहुँदा पनि अक्सिजन अभाव चुलिएको डा. जैसीले बताए ।

आइसोलेसनसहित आकस्मिक कक्ष संक्रमितले भरिएको अस्पतालले जनाएको छ । ‘पालोपालो गरी अक्सिजन दिनुपर्ने बाध्यता छ,’ उनले भने, ‘जटिल अवस्थाका केहीलाई रेफर गर्न बाध्य छौं ।’ बुधबार अवस्था जटिल भएका दुई संक्रमितलाई आफन्तले घर लगेका छन् । दाङ र नेपालगन्जका अस्पतालमा पनि बेडको अभाव भएपछि संक्रमितलाई घर पठाउनुको विकल्प नभएको उनले बताए । नेपालगन्जबाट बुधबार केही थान सिलिन्डर आए पनि ती सिलिन्डरले एक दिन पनि नधान्ने डा. जैसीले बताए । ‘दिउँसोभरिका लागि अक्सिजन पुग्ला, तर बुधबार राति भने धान्दैन,’ उनले भने, ‘अक्सिजनकै अभावका कारण संक्रमितलाई भर्ना गर्न समस्या भयो ।’

अस्पतालमा संक्रमित बढेपछि पानी, उपकरण, शौचालय, जनशक्तिलगायतको अभाव हुन थालेको छ । ‘हामी कोरोना संक्रमितलाई सकभर जिल्लामै उपचार गर्ने पक्षमा छौं,’ स्वास्थ्य कार्यालयका व्यवस्थापक दशरथ श्रेष्ठले भने, ‘तर धेरै कुराको अभाव हुन थालेपछि समस्या भएको छ ।’ उनले संक्रमितको उपचारका लागि चिकित्सक र स्वास्थ्यकर्मी चौबीसै घण्टा खटिएको बताए । अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न सके संक्रमितलाई रेफर गर्नुपर्ने बाध्यता नहुने उनले बताए ।

‘रिफिल’ गर्न बाहिर पठाएका सिलिन्डर समयमै नआउँदा लामो समयदेखि अक्सिजनको अभाव भोग्नुपरेको श्रेष्ठले बताए । उनका अनुसार अन्य भौतिक संरचनाको अभावमा पनि थप संक्रमितलाई भर्ना गर्न समस्या भएको छ । ‘संक्रमित अलपत्र नपरुन् भनेर अस्पताल आउनुअघि फोन गर्न सार्वजनिक सूचना जारी गरेका छौं,’ उनले भने, ‘अस्पताल परिसरमा २० शय्याको अर्को आइसोलेसन निर्माणको काम पनि जारी छ ।’

दुई संक्रमितको निधन

कोरोना संक्रमणबाट बुधबार सल्यानमा दुई पुरुषको मृत्यु भएको छ । बन्गाडकुपिण्डे नगरपालिका–१ सल्लीबजारका ४६ वर्षीय र बन्गाडकुपिण्डे–६ का ४५ वर्षीय संक्रमितको मृत्यु भएको हो ।

४५ वर्षीय संक्रमितको देवस्थलस्थित आइसोलेसनमा र ४६ वर्षीय संक्रमितको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । उनीहरूमा एक साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै सल्यानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन रिखाराम पुनका अनुसार जिल्लाभित्र १६ र बाहिर ४ जनाको मृत्यु भएको हो । सल्यानमा बुधबारसम्म कोरोना संक्रमितको संख्या ७ सय पुगेको छ । त्यसमध्ये १ सय ८३ जना उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित : वैशाख ३०, २०७८ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?