२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

कोरोना नियन्त्रणमा जनप्रतिनिधिको सक्रियता

रुकुम पश्चिम — एकातिर जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै छ । अर्कोतिर अस्पतालमा अक्सिजन र बेडको चर्को समस्या चुलिँदै छ । एक साताअघि जिल्ला अस्पताल सल्लेमा २९ वटा अक्सिजन सिलिन्डर आइपुगे ।

काठमाडौंबाट प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले अक्सिजन पठाएका थिए । त्यसको दुई दिनपछि बुधबार उनी आफैं जिल्लामा आइपुगे ।त्यसयता ४ दिन उनले अस्पतालमा अक्सिजनसहित अत्यावश्यक स्वास्थ्य सामग्री जुटाउने, चिकित्सक तथा स्वास्थ्यकर्मी र सरोकारवालासँग छलफल गर्ने, जनशक्ति व्यवस्थापन गर्ने काम गरे । संक्रमित बिरामीलाई समेत भेटेर ढाडस दिए । ‘संकटका बेला जनप्रतिनिधि आफूसँग भएपछि ठूलो राहत मिल्दो रहेछ,’ चौरजहारी नगरपालिका–१२ का संक्रमित पवन ओलीले भने । कोरोना महामारीको दोस्रो लहरले तीव्रता लिँदै गर्दा पूर्वगृहमन्त्रीसमेत रहेका शर्मा खटे । उनको सक्रियताले स्वास्थ्यकर्मी, स्थानीय तहका जनप्रतिनिधि र अन्य सरोकारवालालाई ढाडस दिएको छ । गत वर्षको कोरोनाकालमा उनी आफैं संक्रमित थिए । ‘अस्पतालमा अक्सिजन अभाव भएको र बिरामी चौरमै उपचार गर्न बाध्य भएको खबर पाउनेबित्तिकै जिल्लामा आएर सहजीकरणको काम गरें,’ शर्माले भने ।

जिल्ला अस्पतालको आइसोलेसनमा ठाउँ नभएपछि मुसीकोट नगरपालिकाले भाडामा लिइएको घरमा संक्रमित राखिएको थियो । शर्माले सरोकारवालासँग बैठक गरे । त्यही बैठकले जिल्ला अस्पताललाई कोरोना अस्पताल बनाउने निर्णय गर्‍यो । नेपालगन्ज र दाङबाट अक्सिजन भरेर पठाउने व्यवस्था गरियो । जिल्ला अस्पतालको नाममा एक–एकवटा एम्बुलेन्स र शवबाहन खरिद गर्ने निर्णय गरियो । अहिले जिल्ला अस्पताल कोरोनासँग लड्न सक्षम भएको जिल्ला अस्पतालका डा. नारायण भुजेल बताउँछन् ।

‘असजिलो लागेका कतिपय ठाउँमा सजिलो बनाइदिनुभएको छ, जेनतेन अक्सिजन पुगेको छ,’ उनले भने । सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले शर्माको योजना अनुसार अघि बढ्दा सजिलो भएको बताए । यसैबीच, शर्माले चौरजहारी अस्पताल पुगेर ५० सिलिन्डर अक्सिजन हस्तान्तरण गरे । चौरजहारीमा करिब १ करोडमा ‘रिफिलिङ’ समेत गर्न मिल्ने अक्सिजन प्लान्ट बन्ने भएको छ ।

प्रकाशित : वैशाख २९, २०७८ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?