२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

पक्की पुल अलपत्र

विप्लव महर्जन

सल्यान — छत्रेश्वरी गाउँपालिका–६ र ७ नम्बर वडा जोड्न शारदा नदीमा निर्माण गर्न लागिएको पक्की पुल डेढ वर्षदेखि अलपत्र परेको छ । गत असार मसान्तमा सक्नुपर्ने पुलको निर्माण अलपत्र परेपछि निर्माण सामग्री बेवारिसे बनेका छन् ।

पुल निर्माणको ५० प्रतिशत काम पनि पूरा भएको छैन । ३ वटा पिलरको काम मात्रै सम्पन्न गरी ठेकेदार सम्पर्कविहीन भएपछि निर्माण अलपत्र परेको हो । एसबीए/सूर्य जेभीले ६ करोड ८० लाख रुपैयाँमा ७० मिटरको पुल निर्माणको जिम्मा लिएको छ । पुल निर्माणको काम पूरा नहुँदा वर्षायाममा सास्ती भोगिरहेको स्थानीय रमेश रेग्मीले बताए । ‘साना गाडी चलाउन अहिले पनि समस्या छ,’ उनले भने, ‘पुल नबन्दा स्थानीय उत्पादनले बजार पाएको छैन, दैनिक उपभोग्य सामान ढुवानीमा पनि समस्या छ ।’

राप्ती लोकमार्ग हुँदै दारिमज्युला र खर्सुबास जोड्ने शारदा नदीको अर्को पक्की पुल पनि अलपत्र पर्दा स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । उक्त पुल निर्माणको जिम्मा पनि एसबीए/सूर्य जेभीले लिएको छ । निर्माण सामग्री नदीको वारिपारि अलपत्र परेको स्थानीय चन्द्रबहादुर खड्काले बताए । पुल निर्माणका नाममा ठेकेदारले नदीजन्य सामग्रीको दोहनसमेत गरेका छन् ।

पुलको पिलर खन्ने क्रममा २ वटा सिँचाइ योजनामा पनि असर परेको खड्काले बताए । उनका अनुसार सिँचाइ कुलो पुरिँदा झन्डै १ सय रोपनी खेतमा सिँचाइ समस्या भएको छ । ठेकेदार सम्पर्कविहीन भएपछि यात्रुले लामो समयदेखि सास्ती भोगिरहेको छत्रेश्वरी–६ का वडाध्यक्ष चुडामणि दसौदीले बताए । ‘ठेकेदार कालोसूचीमा परेको हल्ला पनि चलेको छ,’ उनले भने, ‘ठेकेदारसँग सम्पर्क गर्न विभिन्न प्रयास गरियो, तर सफल भएनौं ।’

लकडाउनका कारण ठेकेदारले निर्माण सामग्री ल्याउन नसक्दा पुल अलपत्र परेको सडक डिभिजन कार्यालय, दाङका इन्जिनियर रिकेश महर्जनले बताए । २०७ असार २१ गते सम्झौता भएको पुलको म्याद ०७६ असार २० सम्म थियो । अन्तिमपटकका लागि पुससम्म म्याद थप गरिएको उनले सुनाए ।


प्रकाशित : वैशाख २९, २०७८ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?