२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

‘ग्रिन जोन’ मा संक्रमित बढे

छपाल लामा

हुम्ला — ‘ग्रिन जोन’ मा रहेको हुम्लामा कोरोना संक्रमितको संख्या एक सातामै १५ पुगेको छ । सोमबार थपिएका ३ संक्रमितसहित १५ पुगेको हो । पछिल्लो एन्टिजेन परीक्षणमा हुलाक कार्यालयका कर्मचारीसहित दुई जनामा कोरोना पुष्टि भएको थियो ।

‘ग्रिन जोन’ मा संक्रमित बढे

पर्याप्त किट नभएकाले समुदायस्तरमा परीक्षण गर्न नसकिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी भक्ति फडेराले बताए । उनका अनुसार जिल्ला अस्पतालमा आएका शंकास्पद बिरामीको मात्र कोरोना परीक्षण गर्ने गरिएको छ । ‘समुदायमा परीक्षण गरिए संक्रमितको संख्या ह्वात्तै बढ्ने देखिन्छ,’ उनले भने, ‘प्रदेश सरकारसँग एन्टिजेन किट माग गरिएको छ, प्राप्त हुनबित्तिकै समुदायस्तरको परीक्षण र कन्ट्रयाक्ट ट्रसिङलाई तीव्रता दिइनेछ ।’ उनका अनुसार जिल्लामा निषेधाज्ञा सुरु नहुँदै बाँके र सुर्खेतबाट हवाई मार्गबाट आएका यात्रुका कारण जिल्लामा कोरोना संक्रमण भित्रिएको थियो । संक्रमितलाई रानीवनस्थित आइसोलेसनमा भर्ना गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसैवीच, ताजकोट गाउँपालिकाकास्थित छप्रेला स्वास्थ्य चौकीमा उपचाररत १५ बिरामीमा अक्सिजनको मात्रा ९२ भन्दा कम देखिएको छ । रुघाखोकी र ज्वरोका बिरामीमा सोमबार गरिएको परीक्षणमा उनीहरूको अक्सिजनको मात्रा कम देखिएको हो ।

विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डअनुसार अक्सिजनको मात्रा (लेभल) ९२ देखि ९५ को बीचमा भए आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने प्रावधान छ । स्वास्थ्यचौकी इन्चार्ज धनराज ढकालका अनुसार १ र २ नम्बर वडाका २/२, ३ नम्बरका ७ र वडा नम्बर ४ का ४ जना बिरामीमा निर्धारित मापदण्डभन्दा कम अक्सिजन कम देखिएको छ । ‘स्वास्थ्यचौकीमा अक्सिजनको व्यवस्था छैन,’ उनले भने, ‘त्यसैले बिरामीलाई घरमै बसेर औषधि सेवन गर्न सल्लाह दिएका छौं ।’

गाउँपालिकामा कोरोना संक्रमणको आंशका भएपछि ५ सय एन्टिजेन किट सुर्खेतबाट मगाइएको गाउँपालिका अध्यक्ष बाग्दल मल्लले बताए । ‘किट आएपछि शंकास्पद बिरामीको कोरोना परीक्षण हुनेछ,’ उनले भने, ‘संक्रमितको व्यवस्थापनका लागि स्वास्थ्यचौकीलाई आइसोलेसनमा रूपान्तरण गर्ने तयारी थालेका छौं ।’

प्रकाशित : वैशाख २८, २०७८ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?