२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

४२ करोडको अस्पताल भवनमा पानी चुहिन थाल्यो

कलेन्द्र सेजुवाल

सुर्खेत — म्यादभन्दा ६ महिना अगावै निर्माण सम्पन्न भएको कर्णाली प्रदेश अस्पताल भवनमा सुरुमै पानी चुहिन थालेको छ । समयभन्दा अगाडि निर्माण सम्पन्न गरेर पुरस्कृत भएको निर्माण कम्पनी अहिले जिम्मेवारीबाट पन्छिने गरेको अस्पतालको गुनासो छ ।

४२ करोडको अस्पताल भवनमा पानी चुहिन थाल्यो

चितवनको आशिष कन्स्ट्रक्सनले २०७३ माघमा करिब ४२ करोड रुपैयाँमा भवन निर्माणको ठेक्का लिएको थियो । ३ वर्ष म्याद भए पनि कम्पनीले २०७६ साउनमा भवन हस्तान्तरण गरेको थियो । अस्पताल निर्देशक डा. डम्बर खड्काले हतार–हतार भवनको जिम्मा लिए पनि अहिले प्रयोग गर्दा वाइरिङ, प्लम्बरिङ र फ्लोरिङमा थुप्रै समस्या देखिएको बताए । ‘धाराका टुटीहरु अलिकति छुने बित्तिकै फुत्किने, बिग्रिने गरेका छन्,’ उनले भने, ‘नयाँ भवनमा यतिसम्म कमजोर सामग्री कसरी राखियो भन्ने अचम्म लागेको छ ।’ निर्माण कम्पनीलाई कमजोरी सुधार्नको लागि बारम्बार भन्दा पनि बेवास्ता गर्ने गरिएको उनले बताए ।

अस्पतालको गर्भपतन गराउने (क्याक) कक्षमा त सिलिङबाट समेत पानी चुहिने गरेको छ । एक्स–रे मेसिनमा पानी चुहिएर केही दिनसम्म मेसिन प्रयोग गर्न नसकिएको उनले बताए । ‘बाहिरबाट हेर्दा भवन राम्रो देखिए पनि भित्र भित्तामा पानी चुहिएर ढुसी परिसकेको छ, कतिपय कोठा त जहिले पनि ओसिलै देखिन्छन्,’ उनले भने, ‘नयाँ भवनको यस्तो अवस्थाले समस्या बनाएको छ ।’

अस्पतालका अनुसार हस्तान्तरणको बेला केही काम बाँकी नै रहे पनि निर्माण कम्पनीको प्रोफाइल राम्रो बनाउन हतार–हतार भवन जिम्मा लगाउने काम भएको थियो । त्यसले गर्दा भवन सञ्चालनमा ल्याउन करिब एक वर्ष लागेको थियो । २०७६ चैतमा कोभिड विशेष अस्पताल त्यही भवनमा सञ्चालन गरिएको थियो । अहिले सम्पूर्ण रुपमा भवन प्रयोगमा ल्याउन खोज्दा यस्तो समस्या देखिएको डा. खड्काले बताए ।

निर्माण कम्पनीका प्रतिनिधि इश्वर आचार्य इस्टिमेटअनुसारै भवनमा सामग्री राखिएको बताउँछन् । हस्तान्तरण गरिएको एक वर्षसम्म कम्पनीको जिम्मेवारी भए पनि समय सकिएपछि ‘कम्प्लेन’ आएको उनको भनाइ छ । भवन निर्माणको सुपरीवेक्षण गरेको संघीय आयोजना कार्यान्वयन इकाई कार्यालयले पनि भवनको प्लम्बरिङ, वायरिङ र फ्लोरिङमा अस्पतालले कम्प्लेन गरेको बताएको छ । कार्यालयका इन्जिनियर नरेन्द्र बुढाले अस्पताल भवन निरीक्षण पश्चात समस्या देखिएपछि मर्मतको लागि निर्माण कम्पनीलाई निर्देशन दिइएको बताउँछन् ।


तस्विर ः कर्णाली प्रदेश अस्पता भवन । र, गुणस्तरहीन प्लम्बरिङको कारण भित्ताबाट रसाएको पानी । तस्विर ः कलेन्द्र सेजुवाल/कान्तिपुर

प्रकाशित : वैशाख २६, २०७८ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?