कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

गाउँका बजार सुनसान

भीमबहादुर सिंह

जाजरकोट — कुशे गाउँपालिका–५, पाँचकटियाका प्रेमबहादुर थापाको खाद्य तथा किराना पसलमा सेवाग्राहीको दिनहुँ भीडभाड हुन्थ्यो । एक सातायता उनको पसल बन्द छ । पाँचकटियामा उनको जस्तै अन्य पसल पनि बन्द छन् ।

कोरोना र स्थानीय प्रशासनले लगाएको लकडाउनका कारण मान्छेको आउजाउ नहुँदा गाउँका पसल बन्द भएका हुन् । कोराना संक्रमण फैलिने त्रासले स्थानीयवासी हिँडडुल गर्न छाडेका छन् । यसले गर्दा बजार सुनसान देखिन्छन् । जिल्लाका कालीमाटी, पाँचकटिया, लिम्सा, थलह, मनघाट, छेडाचौर, तल्लुबगर, बाटुले, मटेलालगायत बजार सुनसान छन् । ग्रामीण बजारमा व्यापार–व्यवसाय गर्ने व्यापारीहरू पनि घरतिर लागेका छन् । मालवाहक र यात्रुवाहक सवारीसाधन पनि चल्दैनन् ।

‘गाउँका बजारहरू सुनसान छन्, मान्छेहरू सबै घरतिर गइसके,’ कुशे गाउँपालिका–५ का दीर्घ आरसीले भने, ‘बरु गाउँमा मान्छेहरू खेतीपाती गर्नतिर लागेका छन् ।’ स्थानीय बजार सुनसान भए पनि गाउँमा खेतीपातीको लहर चलेको छ । ‘गाउँमा परीक्षण नहुने भएकाले कसलाई कोरोना छ, कसलाई छैन भन्ने थाहा हुने कुरा भएन,’ उनले भने, ‘मान्छेहरू डर मानेर भए पनि खेतीपातीमा लागिरहेका छन् ।’

अर्कोतर्फ कोरोना संक्रमण फैलिएसँगै भारत र देशका विभिन्न ठाउँबाट घर फर्कनेको संख्या ह्वात्तै बढेको छ । रोजगारीका लागि विदेश गएका, अध्ययन गर्न सहरमा पसेका र व्यापार तथा जागिर गर्न गएकाहरू गाउँ फर्केका छन् । जाजरकोटमा शुक्रबारसम्म ३ सय १३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य सेवा कार्यालय प्रमुख टीकाराम जैसीले संक्रमण बढ्न थालेपछि गाउँमा त्रास फैलिएको बताए । ‘बिरामीको संख्या बढ्दै गएको छ, उनीहरूलाई कहाँ राखेर उपचार गर्ने भन्ने योजना छैन,’ उनले भने, ‘स्थानीय तहहरूले आफ्नो क्षेत्रमा कोरोना प्रतिकार्य योजना बनाएर तत्काल काम गर्नुपर्ने देखिएको छ ।’ अधिकांश संक्रमित होम आइसोलेसनमा छन् ।

प्रकाशित : वैशाख २६, २०७८ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?