आइसोलेसन भरिएपछि आकस्मिक कक्षमै उपचार- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आइसोलेसन भरिएपछि आकस्मिक कक्षमै उपचार

विप्लव महर्जन

सल्यान — जिल्ला अस्पतालको आइसोलेसन कक्षमा कोरोना संक्रमित बिरामी भरिएपछि आकस्मिक कक्षमा राखेर उपचार गर्न थालिएको छ । आकस्मिक कक्षमा कोरोना संक्रमितलाई उपचार गर्न थालेपछि अन्य बिरामी समस्यामा परेका छन् । 

जिल्ला अस्पताल सल्यानमा कोरोनाका बिरामीको उपचार गर्दै डाक्टर र नर्स । तस्बिर : विप्लव/कान्तिपुर

अस्पतालले ओपीडी बन्द गरेपछि कोरोनाबाहेक अन्य रोगका बिरामी निजी अस्पतालमा र गम्भीर खालका बिरामी जिल्लाबाहिर जान बाध्य छन् । जिल्ला अस्पतालद्वारा सञ्चालित आइसोलेसनमा १८ संक्रमित छन् । स्वास्थ्य कार्यालय सल्यानका प्रमुख दशरथ श्रेष्ठका अनुसार आकस्मिक कक्षमा ६ जना बिरामी छन् । अक्सिजन प्लान्ट र आईसीयू सञ्चालन हुन नसक्दा कोरोनाका जटिल बिरामीलाई कठिन भएको छ । शुक्रबारसम्म १२ जनाको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

जिल्ला अस्पतालका क्लिनिकल प्रमुख डा. भीमकान्त जैशीले आइसोलेसन र आकस्मिक कक्षमा कोभिडका बिरामी भएकाले अन्य रोगका बिरामीलाई सेवा दिन गाह्रो भएको बताए । जिल्लामा शुक्रबारसम्म कोरोना संक्रमितको संख्या ४ सय ६३ पुगेको छ । २६ जना कोरोना जितेर घर फर्किएका छन् ।

जिल्लाका विभिन्न स्थानीय तहमा आइसोलेसन बनाइएको भए पनि संक्रमितहरू त्यहाँ बस्दैनन् । स्वास्थ्यकर्मीहरू आइसोलेसनमा नबस्ने र उपचारको पनि भरपर्दो व्यवस्था नभएकाले अधिकांश संक्रमित घरमै बसेका छन् । ‘अस्पतालमा ल्याएका बिरामीलाई उपचार नगरी फर्काउन सकिँदैन,’ स्वास्थ्य सेवा कार्यालय प्रमुख श्रेष्ठ भन्छन्, ‘बाहिरका कोभिड अस्पताल पनि भरिभराउ भएकाले रेफर गर्दा बिरामीको ज्यान झनै जोखिममा पर्ने भएकाले अस्पतालको आकस्मिक कक्षमै राखेर भए पनि उपचार गर्नुपरेको हो ।’

महामारीका कारण जिल्ला अस्पतालमा ओपीडी सेवा बन्द भएपछि सामान्य स्वास्थ्य समस्या भएका बिरामी अस्पताल आउन छाडेका छन् । स्थानीयवासीले समेत ओपीडी बन्द भएपछि उपचार पाउन नसकेको गुनासो गरेका छन् । उनीहरूले जनशक्ति र स्थानीय व्यवस्था गरेर भए पनि ओपीडी सेवा सञ्चालन गर्नुपर्ने बताए । ओपीडी बन्द भएपछि उपचारका लागि निजी अस्पताल धाउनुपर्ने बाध्यता छ ।

प्रकाशित : वैशाख २६, २०७८ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्

सिमकोटमा कालोबजारी

छपाल लामा

हुम्ला — जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञाको फाइदा उठाउँदै सदरमुकाम सिमकोटमा व्यापारीले कालोबजारी गरेका छन् । कालोबजारीका कारण उपभोक्ता महँगोमा खाद्यान्न र दैनिक उपभोग्य सामग्री खरिद गर्न बाध्य छन् ।

प्रशासनले मंगलबार रातिदेखि निषेधाज्ञा लागू गर्दै तरकारी, खाद्यान्नलगायतका अत्यावश्यक पसल बिहान ७ देखि १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ । निषेधाज्ञाको फाइदा उठाउँदै व्यापारीहरूले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गरेको स्थानीय छप्साङ लामाले बताइन् । ‘एक त सामान पाउनै गाह्रो छ,’ उनले भनिन्, ‘पाए पनि पहिलेभन्दा निकै महँगोमा किन्नुपर्ने बाध्यता छ ।’ उनले लकडाउनको फाइदा उठाउँदै अधिकांश व्यापारीले सामान लुकाएको बताइन् ।

मंगलबारदेखि हुम्लामा हवाई सेवा बन्द भएपछि दैनिक उपभोग्य सामग्रीको मूल्य बढेको छ । तरकारीमा पनि मूल्य वृद्धि गरिएको उपभोक्ताको गुनासो छ । अदुवा, प्याज, बन्दा, टमाटरलगायत तरकारीको मूल्य प्रतिकेजी २ सय ५० रुपैयाँसम्म पुगेको लामाले बताइन् । निषेधाज्ञाअघि सबै तरकारीको भाउ २ सय रुपैयाँभन्दा कम थियो । स्थानीय तारा लामाका अनुसार एक साताअघि १ सय ५० रुपैयाँमा पाइने सिमीको भाउ प्रतिकेजी २ सय रुपैयाँ पुगेको छ । उनले पहिले ४० रुपैयाँ केजी पाइने आलुको मूल्य ६० रुपैयाँ पुगेको गुनासो गरिन् । व्यापारीले रिचार्ज कार्डसमेत १० रुपैयाँ महँगो मूल्यमा बिक्री गरेको उपभोक्ताको गुनासो छ । एक पोका तेललाई पहिले १ सय ३० पर्ने गरे पनि अहिले १ सय ७० रुपैयाँ पर्ने गरेको छ । ल्गुा धुने साबुनको मूल्य १ सय रुपैयाँ पुगेको छ ।

प्रतिक्यारेट ५ सय ५० रुपैयाँमा पाइने अन्डाको मूल्य ६ सय पुगेको छ । व्यवसायीले भने अभाव हुँदा खाद्यान्न र दैनिक उपभोग्य सामानको भाउ बढेको दाबी गरेका छन् । मालिका–महादेव सप्लायर्सका सञ्चालक खुमबहादुर खड्काले ग्यासलगायतका सामग्री गमगढीबाट खच्चडमा ल्याएकाले महँगो भएको बताए । ‘यहाँ त एक दिन जहाज नचले पनि सामानको अभाव हुन्छ,’ उनले भने, ‘अहिले धेरै पसलमा पर्याप्त सामान नै छैन ।’ सामान ढुवानीका लागि मात्र भए पनि हवाई सेवा खुल्नुपर्ने उनको भनाइ छ । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले मूल्य वृद्धि नियन्त्रण गर्न बजार अनुगमन गरिने बताए ।

प्रकाशित : वैशाख २६, २०७८ १०:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×