कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

५ केजी नुन लिन २ दिन पैदल

राजबहादुर शाही

मुगु — स्थानीय मुगमकार्मारोङ गाउँपालिकामा साल्ट ट्रेडिङ कर्पोरेसनको डिपो नहुँदा स्थानीय बासिन्दा नुन लिनका लागि २ दिन हिँडेर सदरमुकाम आउन बाध्य छन् । ५ वर्षदेखि तिब्बती नाकाबाट नुन आयात हुन छाडेपछि स्थानीयलाई नुन ल्याउन सदरमुकाम आउनुपर्ने बाध्यता भएको हो ।

सदरमुकाम ममगढीसहित सोरु र खत्याड गाउँपालिकामा नुन बिक्री डिपो भए पनि मुगमकार्मारोङमा अझै स्थापना हुन सकेको छैन । यसले गर्दा गाउँपालिकाको चितै, डोल्फु, कार्ती, किम्री र मुगुगाउँका स्थानीय दैनिकजसो नुन लिन सदरमुकाम आउँछन् ।

सदरमुकामस्थित कर्पोरेसनको शाखा कार्यालयले स्थानीयलाई प्रतिव्यक्ति ५ केजी आयोडिनयुक्त नुन बिक्री गर्छ । ‘एक दिन सदरमुकाम आएर अर्को दिन नुन लिएर फर्कनुपर्छ,’ चितैका तोर्च तामाङले भने, ‘डिपोमा ५ किलो नुन लिन पनि कम्तीमा ५ हजार रुपैयाँ खर्च गर्नुपर्ने बाध्यता छ ।’ सदरमुकाममा नुन लिन आउँदा होटलमा बास बस्नुपर्ने बाध्यता भएको उनले बताए ।

डिपो स्थापना गर्न कसैले ध्यान नदिएको तामाङले गुनासो गरे । ‘कि नुनबिनै खाना खानुपर्‍यो, नत्र गमगढी आउनुको विकल्प छैन,’ उनले भने, ‘डिपोमा गई दिनभर लाइन बस्नुपर्छ, हामीलाई ५ किलो नुन लिन पनि ठूला दुःख छ ।’ डिपो अभावमा स्थानीयले नुनका लागि ठूलो सास्ती खेप्नुपरेको मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । पहिले तिब्बतबाट ढिकेनुन आउँदा आयोडिनयुक्त नुनको कसैलाई वास्ता नभए पनि अहिले नुनको आयात रोकिएपछि सदरमुकाम पुग्नैपर्ने बाध्यता उनले सुनाए । डिपो स्थापना गर्न माग गर्दै धेरै निकायमा पुगे पनि कतैबाट सुनुवाइ नभएको उनले गुनासो गरे ।

कर्पोरेसनले भने स्थानीय तहको सिफारिसमा डिपो स्थापना हुने जनाएको छ । कर्पोरेसनको गमगढी बिक्री केन्द्र प्रमुख खगेन्द्र कार्कीले सोरु र खत्याडमा गाउँपालिकाकै पहलमा डिपो स्थापना भएको बताए । जिल्लाभरि वार्षिक ४ हजार ५ सय क्विन्टल नुनको कोटा निर्धारण गरिएको छ । उनका अनुसार तीनवटै डिपोबाट वार्षिक १ हजार ५ सय क्विन्टलको दरले नुन वितरण हुन्छ ।

प्रकाशित : वैशाख २६, २०७८ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?