२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

जनशक्ति नभएर भेन्टिलेटर प्रयोगविहीन

जाजरकोटमा बुधबारसम्म २ सय ५९ जनामा संक्रमण
जटिल अवस्थाका ६ जनालाई नेपालगन्ज र सुर्खेत रेफर

जाजरकोट — जनशक्ति अभावमा जाजरकोट अस्पतालको भेन्टिलेटर प्रयोगविहीन बनेको छ । गत वर्ष खरिद गरिएको भेन्टिलेटर सञ्चालन नभई अस्पतालको कोठामा थन्किएको छ । अस्पतालमा भेन्टिलेटरसहितको उपचार नभएपछि संक्रमित बाहिर जानुपर्ने बाध्यता छ ।

जनशक्ति नभएर भेन्टिलेटर प्रयोगविहीन

जिल्ला अस्पतालमा एक/एक जना एमडीजीपी, डेन्टल सर्जन र आयुर्वेद चिकित्सकसहित ७ मेडिकल अधिकृत कार्यरत छन् ।सबै चिकित्सक करार सेवाका हुन् । भेन्टिलेटर सञ्चालन गर्न तालिमप्राप्त विशेषज्ञ चाहिने अस्पतालका डा. अमिन शाहले बताए । विशेषज्ञ चिकित्सक नहुँदा कोरानाबाट जटिल अवस्थामा पुगेका बिरामीको रेफरको विकल्प नभएको स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन कृष्ण खत्रीले बताए । ‘अक्सिजनको समेत अभाव छ,’ उनले भने, ‘अरू उपकरण पनि नहुँदा बिरामीलाई रेफर गर्नुको विकल्प छैन ।’

जाजरकोटमा बुधबारसम्म २ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ । विभिन्न ठाउँमा भएको एन्टिजेन परीक्षणबाट संक्रमितको संख्या थपिँदै गएको खत्रीले बताए । जटिल अवस्थाका ६ जनालाई उपचारका लागि नेपालगन्ज र सुर्खेत रेफर गरिएको छ । संक्रमितहरू गाउँ पस्न थालेपछि समुदायस्तरमा संक्रमण फैलिएको भेरी नगरपालिका–२ का टोपबहादुर थापाले बताए । ‘बाहिरबाट आएकालाई चेकजाँच नगरी गाउँमा पठाउँदा समस्या भयो,’ उनले भने, ‘तर पनि स्थानीय सरकार मौन छन् ।’ स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरे पनि पूजापाठ, विवाह, भोजभतेरलगायत धार्मिक कार्य धमाधम हुँदा संक्रमण भयावह बन्ने देखिएको उनको भनाइ छ ।

संक्रमण फैलन नदिन जनचेतनामूलक अभियान सञ्चालन गरिरहेको बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । उनका अनुसार यातायातको असुविधा, विद्युत् र दक्ष जनशक्तिको अभावमा अक्सिजनसहितको सुविधासम्पन्न आइसोलेसन बनाउन समस्या भएको छ ।

संक्रमितको मृत्यु

कोराना संक्रमण भएकी भेरी नगरपालिका–४ की ४५ वर्षीया महिलाको बुधबार राति मृत्यु भएको छ । संक्रमित महिलालाई उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो । एक साताअघि कोरोना संक्रमण पुष्टि भएकी उनी होम आइसोलेसनमा थिइन् । घरमै उपचार गराइरहेकी उनको स्वास्थ्यमा समस्या देखिएपछि परिवारले मंगलबार जाजरकोट अस्पताल पुर्‍याएका थिए । उनको अवस्था गम्भीर भएको भन्दै अस्पतालले नेपालगन्ज रेफर गरेको थियो । उनको फोक्सोमा खराबी देखिएपछि नेपालगन्ज रेफर गरिएको कोरोना नियन्त्रण फोकल पर्सन खत्रीले बताए ।

किट अभावले परीक्षण ठप्प

सल्यान– जिल्लामा एन्टिजेन किटको अभाव भएपछि समुदायस्तरमा कोरोना परीक्षण ठप्प भएको छ । किट सकिएपछि परीक्षणको काम ठप्प भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । समुदायस्तरमा कोरोना परीक्षणका लागि प्रदेश सरकारले एक हजार थान किट पठाएको थियो । किट नभएपछि लक्षण देखिएका व्यक्तिको परीक्षणसमेत रोकिएको जिल्ला स्वास्थ्य सेवा प्रमुख दशरथ श्रेष्ठले बताए । ‘प्रदेश सरकारलाई यसबारे जानकारी गराए पनि अझै किट आएको छैन,’ उनले भने, ‘आफैं खरिद गर्न खोज्दा पनि पाएनौं ।’ श्रेष्ठका अनुसार झन्डै दुई सय किट आपत्कालीन अवस्थाका लागि राखिएको छ ।

सल्यानमा अहिलेसम्म झन्डै सात सय जनाको एन्टिजेनमार्फत कोरोना परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३ सय ५६ जनामा कोरोना पुष्टि भएको उनले बताए । त्यसमध्ये ३ सय २१ संक्रमित छन् । अहिले जिल्ला अस्पतालको आइसोलेसनमा १९ र संस्थागत आइसोलेसनमा ५ जनाको उपचार भइरहेको छ । ३ सय २६ संक्रमित होम आइसोलेसन छन् । संक्रमितमध्ये सल्यानमा ११ जनाको मृत्यु भएको छ ।

दुई नाकामा हेल्थ डेक्स

सल्यान भित्रिने दुई मुख्य नाका कपुरकोट र बालुवासंग्रहीमा हेल्थ डेस्क स्थापना गरिएको छ । कपुरकोट गाउँपालिकाका महामारी नियन्त्रण फोकल पर्सन देवेन्द्र सेनअनुसार डेस्कमा चौबिसै घण्टा खटिने गरी दुई स्वास्थ्यकर्मी परिचालन गरिएको छ । ‘स्वास्थ्यकर्मीले कोरोनाबाट बच्ने उपायबारे पनि यात्रुलाई सल्लाह दिइरहेका छन् ’ उनले भन । गाउँपालिकामा अहिलेसम्म ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतबाट घर फर्कनेको संख्या बढेपछि हेल्थ डेस्क सञ्चालनमा ल्याइएको बन्गाडकुपिण्डे नगरपालिकाका स्वास्थ्य संयोजक वासुदेव पोखरेलले बताए । भारतबाट घर फर्कनेलाई अनिवार्य १५ दिन होम आइसोलेसनमा बस्न आग्रह गरिएको छ । ‘कोरोना पहिचानका लागि एन्टिजेन किट खरिद प्रक्रिया सुरु भएको छ,’ उनले भने, ‘अहिले शंकास्पद व्यक्तिको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि सुर्खेत पठाइरहेका छौं ।’

प्रकाशित : वैशाख २४, २०७८ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?