कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एन्टिजेनको भरमा हिमाली जिल्ला

संक्रमितको संख्या बढे पनि पीसीआर मेसिन नभएकाले एन्टिजेनलाई नै आधार मानिएको छ : चिकित्सक

मुगु/हुम्ला — कर्णालीका हिमाली जिल्ला मुगु, हुम्ला र डोल्पामा पीसीआर मेसिन नहुँदा कोरोना चेकजाँचका लागि एन्टिजेन परीक्षणमै निर्भर हुनुपरेको छ । पीसीआर मेसिन नभएपछि एन्टिजेन प्रविधिलाई नै भरपर्दो मानेर शंकास्पद बिरामीको चेकजाँच गरिएको हो ।

एन्टिजेनको भरमा हिमाली जिल्ला

तीनवटै जिल्लामा संकलन गरिएको स्वाब पीसीआर परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, नेपालगन्जस्थित भेरी अस्पताल र प्रदेश अस्पताल सुर्खेत पठाउनुपर्ने बाध्यता छ । पीसीआर मेसिन नभएपछि एन्टिजेन प्रविधिलाई नै भरपर्दो मानिएको जिल्ला अस्पताल, मुगुका डा. कविराज पौडेलले बताए । ‘बिरामीको नाकबाट स्वाब लिन्छौं, यसले १५ मिनेटमै रिजल्ट दिने गरेको छ,’ उनले भने, ‘आरडीटीभन्दा यो धेरै भरपर्दो विधि हो ।’ उनले यसको रिपोर्ट पीसीआरसँग झन्डै ७५ प्रतिशत मिल्ने जनाए ।

मुगुमा एन्टिजेन विधिबाट कोरोना पुष्टि भएका ५ जनाको स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउँदा ३ जनामा पोजिटिभ देखिएको जिल्ला अस्पतालले जनाएको छ । संक्रमितको संख्या बढे पनि पीसीआर मेसिन नभएकाले एन्टिजेनलाई नै आधार मानिएको डा. पौडेलले बताए ।

गत जिल्लाका चार स्थानीय तहले संसद् क्षेत्र विकास कोषको रकमबाट पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेका थिए । त्यसमा अपुग रकम स्थानीय तहमार्फ व्यहोर्ने गरी सर्वदलीय बैठकबाट निर्णय गरिएको थियो । मुगुमा संकलन गरिएको स्वाब जुम्ला पुर्‍याउँदा दुई दिन लाग्ने गरेको छ । ‘त्यहाँ पनि परीक्षणका लागि पालो कुर्नुपर्ने बाध्यता छ,’ निमित्त जिल्ला स्वास्थ्य प्रमुख ज्ञानसिंह बुढाले भने, ‘त्यसैले एन्टिजेनलाई नै भर मानेर एक हजार किट खरिद प्रक्रिया अघि बढाएका छौं ।’ संघीय सरकारले पठाएको एक हजार थान एन्टिजेन किट सकिएपछि कार्यालयले खरिद प्रक्रिया अघि बढाएको हो ।

जिल्ला अस्पतालमा अक्सिजनको समेत अभाव छ । अक्सिजन प्लान्ट नहुँदा जटिल समस्या देखिएका संक्रमितलाई जुम्ला र सुर्खेत रिफर गरिएको निमित्त प्रमुख बुढाले बताए । उनका अनुसार जिल्ला अस्पतालको आइसोलेसनमा १० जनाको उपचार भइरहेको भए पनि ३ वटा अक्सिजन सिलिन्डर मात्र छन् । कोरोना संक्रमणको क्रम बढे पनि जिल्लाका चारवटै स्थानीय तहले परीक्षणको व्यवस्था मिलाएका छैनन् । शंकास्पद बिरामीलाई स्वास्थ्यचौकीले एन्टिजेन विधिबाट कोरोना परीक्षणका लागि जिल्ला अस्पतालमा पठाउने गरेका छन् ।

डोल्पामा पनि पीसीआर मेसिन मेसिन नहुँदा एन्टिजेनबाटै कोरोना परीक्षण भइरहेको जिल्ला स्वास्थ्य सेवा प्रमुख अमरसिंह शाहीले बताए । उनका अनुसार डोल्पामा ३४ जनालाई कोरोना संक्रमण देखिएको छ । ‘स्वाब संकलन गरी पीसीआर परीक्षण गर्न सुर्खेत वा नेपालगन्ज पठाइरहेका छौं,’ उनले भने, ‘बजेट अभावले पर्याप्त एन्टिजेन किट खरिद गर्न सकिएको छैन ।’

संक्रमित बढ्दै, परीक्षण छैन

हुम्लामा कोरोना संक्रमितको संख्या बढे पनि परीक्षण भरपर्दो नहुँदा समस्या देखिएको छ । सोमबार सुर्खेत र नेपालगन्जबाट हवाई मार्गमार्फत हुम्ला आएका ४० यात्रुमध्ये ८ जनामा कोरोना पुष्टि भएको थियो ।

एक साताको अवधिमा हुम्लामा हवाई र पैदल मार्गबाट झन्डै ३ सय जना प्रवेश गरेका छन् । तर परीक्षण नहुँदा अधिकांश संक्रमित घर पुगेको स्वास्थ्यकर्मीको आशंका छ । बाहिरबाट आएकाको कोरोना परीक्षण नहुँदा गाउँमा त्रास फैलिएको सिमकोट–३ का पेमा लामाले बताए । ‘गाउँगाउँमा रुघाखोकी र ज्वरोको प्रकोप छ,’ उनले भने, ‘तर शंकास्पद बिरामीको पनि स्वास्थ्य परीक्षण नहुँदा त्रास फैलिएको छ ।’ गाउँपालिकाहरूले नाकाहरूमा परीक्षणको व्यवस्था नगर्दा पनि संक्रमण फैलिए भयावह स्थिति आउने उनको भनाइ छ ।

ज्वरोका बिरामी बढेसँगै जिल्ला अस्पतालमा उपचारका लागि आउनेहरूको चाप बढेको छ । दैनिक ५० देखि ६० जना ज्वरोका बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पतालकी अनमी सरिता बोहोराले बताइन् । उनका अनुसार मंगलबार एन्टिजेन विधिमार्फत शंकास्पद बिरामीको स्वास्थ्य जाँच गर्दा ८ जनामा संक्रमण देखिएको छ । ‘पीसीआर मेसिन नहुँदा स्वाब संकलन गरी सुर्खेत पठाउने गरेका छौं,’ उनले भनिन्, ‘शंकास्पद बिरामीको एन्टिजेन विधिबाट कोरोना जाँच गर्ने गरिएको छ ।’

जिल्ला अस्पतालमा अहिले ५० वटा एन्टिजेन किट मौज्दात छ । लक्षण देखिएका संक्रमितको उपचारका लागि रानीवनमा १८ शय्याको आइसोलेसन निर्माण गरिएको छ । उक्त आइसोलेसनमा ८ जनाको उपचार भइरहेको बोहोराले बताइन् ।

प्रकाशित : वैशाख २२, २०७८ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?