हिमाली जिल्लामा बढे संक्रमित

एक साताअघि ‘ग्रिन जोन’ मा रहेको हुम्लामा दैनिक २० प्रतिशतले संक्रमणको दर बढेको छ
छपाल लामा

हुम्ला — जिल्ला बाहिरबाट भित्रिनेको संख्या बढेपछि कर्णालीका हुम्ला र मुगुमा कोरोना संक्रमितको संख्या बढेको छ । संक्रमितको संख्या बढ्न थालेपछि परीक्षणलाई तीव्र बनाइएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

हिमाली जिल्लामा बढे संक्रमित

हुम्लामा सोमबार मात्रै आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक साताअघि ‘ग्रिन जोन’ मा रहेको हुम्लामा दैनिक २० प्रतिशतले संक्रमणको दर बढेको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । बाँके र सुर्खेतबाट हवाईमार्ग भएर हुम्ला आएका यात्रुको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा एकै दिन आठ जनामा कोरोना पुष्टि भएको जनस्वास्थ्य प्रमुख प्रेमबहादुर सिंहले बताए । उनका अनुसार सोमबार नेपालगन्ज र सुर्खेतबाट सीता र तारा एयरमा आएका ४० यात्रुको कोरोना परीक्षण गरिएको थियो ।

संक्रमण पुष्टि भएका सबै जनालाई रानीवनस्थित आइसोलेसनमा भर्ना गर्ने तयारी गरिएको छ । ‘उनीहरूको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङलाई तीव्रता दिइनेछ,’ उनले भने, ‘समुदायस्तरमा पनि परीक्षणको दायरा बढाएका छौं ।’ वैशाख १४ गतेपछि सुर्खेत र नेपालगन्जबाट हवाईमार्ग हुँदै करिब ३ सय यात्र् ुभित्रिए पनि उनीहरूको स्वास्थ्य परीक्षण नभएकाले हुम्ला पनि कोरोनाको उच्च जोखिममा परेको उनले बताए ।

एक साताका लागि निषेधाज्ञा

कोरोना संक्रमितको संख्या बढेपछि हुम्लामा मंगलबार रातिदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार आगामी सोमबारसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

समुदायस्तरमा थप संक्रमण फैलन नदिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । उनका अनुसार संक्रमित बढ्दै गएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार निषेधाज्ञा जारी गरिएको हो । यो अवधिमा स्वास्थ्य, शान्तिसुरक्षा, विद्युत्, सञ्चार, खानेपानीजस्ता अत्यावश्यक सेवा मात्र सञ्चालन हुनेछन् । केन्द्रको बैठकले जिल्ला बाहिर तथा भारतबाट फर्केकालाई अनिवार्य रूपमा १० दिनसम्म होम आइसोलेसनमा बस्न आग्रह गरेको छ ।

मुगुमा १२ संक्रमित

सहरी क्षेत्रबाट जिल्ला भित्रिनेको संख्या बढेपछि मुगुमा पनि कोरोना संक्रमणको जोखिम बढेको छ । मुगुमा अहिलेसम्म २ बालबालिकासहित ५ महिला र ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरूको जिल्ला अस्पतालको आइसोलेसनमा उपचार भइरहेको निमित्त जिल्ला स्वास्थ्य प्रमुख ज्ञानसिंह बुढाले बताए । उनका अनुसार भेन्टिलेटर र अक्सिजन अभावमा संक्रमितको उपचारमा समस्या भएको छ । संक्रमित बढे अस्पतालमा शय्या अभाव हुने देखिएको जिल्ला अस्पतालका डा. कविराज पौडेलले बताए । उनका अनुसार अस्पतालका स्वास्थ्यकर्मीसमेत संक्रमणको जोखिममा छन् ।

सदरमुकाममा कोरोना संक्रमणको त्रास बढेको छ भने ग्रामीण क्षेत्रहरूमा झाडापखाला, ज्वरो, रुघाखोकीलगायतका बिरामी बढेका छन् । एक सातादेखि झाडापखालाले थलिएपछि स्थानीय मेडिकलबाट औषधि किनेर ल्याएको सोरु गाउँपालिका–४ का भक्तबहादुर शाहीले बताए । उनका अनुसार घरघरै बिरामी बढेका छन् । ‘ज्वरोले बिरामी नथलिएको घरै छैन,’ उनले भने, ‘गाउँको स्वास्थ्यचौकीमा औषधि नहुँदा मेडिकलबाट महँगोमा औषधि ल्याउनुपर्ने बाध्यता छ ।’ कोरोना महामारी फेलिएकाले सबै स्वास्थ्यकर्मीको ध्यान त्यतैतिर गएको निमित्त जिल्ला स्वास्थ्य प्रमुख बुढाले बताए । उनका अनुसार ज्वरो र झाडापखालाका बिरामी गाउँगाउँमा बढेपछि स्थानीय स्वास्थ्यचौकीमा उपचार गराउन आउनेको भीड लाग्न थालेको छ । उनले जिल्ला अस्पतालमा दैनिक ५० जनासम्म बिरामी उपचारका लागि आइरहेको जानकारी दिए ।

मृत्युपछि कोरोना पुष्टि

रुकुम पश्चिमको मुसीकोट नगरपालिकाकी ६२ वर्षीया महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार दिउँसो अस्पताल लगिएकी उनको मृत्युपछि मात्रै एन्टिजेनमार्फत कोरोना परीक्षण गरिएको थियो । श्वासप्रश्वासमा समस्या, खोकी, घाँटी तथा जीउ दुख्ने समस्या बढ्दै गएपछि उनका आफन्तले एम्बुलेन्समार्फत उनलाई जिल्ला अस्पताल पुर्‍याएका थिए ।

तर उनको अस्पताल पुग्नुअगावै एम्बुलेन्समै मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्युपछि गरिएको एन्टिजेन परीक्षणबाट ती महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको जिल्ला अस्पतालको कोरोना नियन्त्रण फोकल पर्सन ईश्वर रावलले बताए । योसँगै जिल्लामै ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित : वैशाख २१, २०७८ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?