जिल्ला अस्पतालमा आइपुग्यो अक्सिजन

रुकुम पश्चिम — जिल्ला अस्पतालमा तत्कालका लागि अक्सिजन अभाव समाधान भएको छ । सोमबार मात्रै ५० लिटर क्षमताका २९ वडा अक्सिजनका सिलिन्डर जिल्ला अस्पताल आइपुगेका छन् ।

जिल्ला अस्पतालमा आइपुग्यो अक्सिजन

यसले अक्सिजनका लागि भौतारिरहेका स्वास्थ्यकर्मी र बिरामीलाई राहत भएको छ । प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले २९ वटा सिलिन्डर उपलब्ध गराएपछि जिल्ला अस्पतालले सबै सिलिन्डरमा अक्सिजन भरेर तयारी हालतमा राखेको छ । नेपालगन्जबाट सबै सिलिन्डरमा अक्सिजन भरेर जिल्ला अस्पताल पुर्‍याइएको अस्पतालका कोरोना रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले बताए । सोमबार थपिएका २९ सिलिन्डरसहित जिल्ला अस्पतालमा अब ३९ सिलिन्डर भएका छन् ।

यसअघि जिल्ला अस्पतालमा ५ लिटरका ५ र ९ लिटरका ५ गरी १० सिलिन्डर थिए । अब अस्पतालमा रहेका सबै संक्रमितलाई एकैपटक अक्सिजन दिन सकिने फोकल पर्सन रावलले बताए । अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको काम पनि भइरहेको छ ।

अहिले अस्पतालको आइसोलेसनमा १० संक्रमित उपचाररत छन् । उनीहरूलाई अक्सिजन दिन थालिएको छ । यसअघि अक्सिजन अभावमा अक्सिजन दिनुपर्ने सबै संक्रमितलाई बाहिर रिफर गरिएको थियो ।

स्थानीय तहले पनि अक्सिजनसहितको आइसोलेसनको व्यवस्था गर्न तयारी थालेका छन् । कोरोना संक्रमितका लागि अक्सिजन नै पहिलो उपचार विधि भएकाले अक्सिजन खरिद र त्यसको व्यवस्थापनमा लागेको आठबीसकोट नगरपालिका प्रमुख गोर्खबहादुर केसीले बताए ।

उनका अनुसार नगरपालिकाले बनाएको आइसोलेसन वार्डका लागि केही अक्सिजनको व्यवस्थापन भइसकेको छ । ‘आइसोलेसनमा ७ जनालाई एकैपटक अक्सिजन दिने व्यवस्था भइसकेको छ,’ उनले भने, ‘अब एकैपटक १५ जनासम्मलाई अक्सिजन दिने गरी व्यवस्थापनमा जुटेका छौं ।’

प्रकाशित : वैशाख २१, २०७८ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?