यार्सा संकलनमा स्थानीयलाई अनुमति- कर्णाली - कान्तिपुर समाचार

यार्सा संकलनमा स्थानीयलाई अनुमति

यार्सा टिप्न जाने स्थानीयलाई एक लाख रुपैयाँको जीवन बिमाको व्यवस्था
राजबहादुर शाही

मुगु — मुगुमकार्मारोङ गाउँपालिकाले स्थानीयलाई यार्सा टिप्न दिने र बाहिरकालाई रोक लगाउने निर्णय गरेको छ । शुक्रबार बसेको गाउँ कार्यपालिका बैठकले कोरोना महामारीका कारण स्थानीयलाई मात्रै यार्सा टिप्न अनुमति दिने निर्णय गरेको हो । 

जिल्लाभित्रका स्थानीयलाई यार्सा टिप्ने दिने गरी पाटन खुला गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । ‘जिल्ला बाहिरबाट संकलक यार्सा टिप्न आउँदा कोरोना संक्रमणको जोखिम बढ्ने अवस्था आयो,’ उनले भने, ‘आवश्यक पूर्वतयारी र सबै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पाटन खुला गरिनेछ ।’ उनका अनुसार आगामी जेठ १० गतेदेखि मुगमकार्मारोङका पाटनहरू खुला हुनेछन् ।

जिल्लाभित्रका यार्सा संकलकबाट प्रतिव्यक्ति दुई हजार रुपैयाँ राजस्व संकलन गर्ने कार्यपालिका बैठकले निर्णय गरेको छ । यो वर्ष पाटन क्षेत्रमै संकलकबाट राजस्व संकलन गर्ने व्यवस्था मिलाइएको गाउँपालिकाका सूचना अधिकारी तीर्थराज शाहीले बताए । उनका अनुसार विगत वर्षमा सिरानचौरमा राजस्व संकलन हुन्थ्यो । ‘घूसपैठ हुने र संकलकले सुरक्षा मापदण्ड पालना नगर्ने स्थिति देखिएपछि पाटनमै कर्मचारी खटाइएको हो,’ उनले भने, ‘कर्मचारी नै पाटनमा गएपछि राजस्व संकलनमा वृद्धि हुने अपेक्षा छ ।’ अघिल्लो वर्ष गाउँपालिकाले संकलकबाट एक करोड रुपैयाँ राजस्व उठाएको थियो ।

कोरोना महामारीकै कारण गत वर्ष गाउँपालिकाले यार्सा संकलनमा प्रतिबन्ध लगाएको थियो । यो वर्ष पाटन खुला गर्ने निर्णय गरेपछि स्थानीयवासी खुसी भएका छन् । मुगुमकार्मारोङ गाउँपालिकाका अधिकांश बासिन्दाको मुख्य आयस्रोत नै यार्सा संकलन हो । गाउँपालिकाको मुगु, डोल्फू, चितै, पूलु, किम्री, दाउरा, पूलु, रिउस, पुवा, माग्री, मह, छाइल, पापुलगायत १३ बस्तीका बासिन्दाले यार्चा बिक्रीको रकमले वर्षभरिको खर्चको जोहो गर्दै आएका छन् ।

मुगमकार्मारोङको सानो कोइकी, ठूलो कोइकी, रिमार, टाँकेलगायत पाटनमा यार्चा उत्पादन हुन्छ । दुई वर्षअघि पाटनमै पाँच सयदेखि एक हजार रुपैयाँमा यार्चा बिक्री भएको थियो ।

पाटन खुल्ने भएपछि स्थानीयले बन्दोबस्तीका सामग्री खरिद गर्न थालेका छन् । पाटन लैजाने खाद्यान्न खरिद गर्न गमगढी आएको माग्रीगाउँका हिस्या तामाङले बताए । ‘पोहोर यार्सा टिप्न नपाउँदा बालबच्चा पाल्न समस्या भयो,’ उनले भने, ‘यो वर्ष यार्साको उत्पादन वृद्धि भई आम्दानी बढ्ने आशा छ ।’

समुद्र सतहदेखि करिब ४५ सय मिटरको उचाइमा यार्सा पाइन्छ । मुगुमकार्मारोङ गाउँपालिकाले यो वर्ष यार्सा टिप्न जाने स्थानीयलाई एक लाख रुपैयाँको जीवन बिमाको व्यवस्था गरेको छ । जेठमा पाटन उक्लिएका स्थानीयवासी असार अन्तिम साता मात्र गाउँमा फर्कने मुगमकार्मारोङ–२ का वडाध्यक्ष कार्मा तामाङले बताए । उनका अनुसार यार्सा टिप्ने सिजनमा विद्यालय र विकास निर्माणका कामकाज बन्द हुन्छन् । पाटनमा कुनै अप्रिय घटना हुन नदिन सशस्त्र र नेपाल प्रहरीको टोली खटाउने तयारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले बताए ।

प्रकाशित : वैशाख २१, २०७८ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्

संक्रमितको अनुगमन न व्यवस्थापन

यसपटक क्वारेन्टाइनमा बस्न अनिवार्य गरिएको छैन । संक्रमण पुष्टि भए पनि आइसोलेसनमा बस्नु पर्दैन । संक्रमितहरू परिवारमै घुलमिल भइरहेका छन् ।
प्रदेश ब्युरो

भैरहवा — गत वर्ष नाकाबाट भित्रिएकालाई सीमावर्ती जिल्लाका विद्यालय र सामाजिक भवनमा बनाइएका क्वारेन्टाइनमा राखिन्थ्यो । दुई साता क्वारेन्टाइनमा बिताएपछि घरमा पठाउने गरिन्थ्यो । पर्याप्त क्वारेन्टाइन नहुँदा कोचाकोच गरेर राखिएको थियो । व्यवस्थापन भद्रगोल थियो । अव्यवस्थित क्वारेन्टाइनले कोरोना संक्रमण समूहमा फैलिएको गुनासो थियो ।

त्यसबेला भारतबाट आउनेलाई व्यवस्थित तरिकाले भित्र्याउन चुकेको र क्वारेन्टाइन भद्रगोल बनेपछि स्थानीय र प्रदेश सरकारको आलोचना भएको थियो । आलोचित बनेपछि सरकारले विभिन्न नाकाबाट भित्रिनेको नाम र ठेगाना संकलन गरेर उनीहरूलाई सम्बन्धित स्थानीय तहमा पठाउन थाल्यो । सम्बन्धित स्थानीय तहले छुट्टै क्वारेन्टाइनको साटो घरमै अलग्गै बस्ने सर्तमा पठाउन थाले । कोरोनाको दोस्रो लहर व्यापक भइरहेका बेला यसपालि पनि नाकाबाट प्रवेश गरेका सर्वसाधारण सिधै परिवारमा घुलमिल भइरहेका छन् । पहिले जस्तो स्थानीय सरकारले आफ्ना नागरिक ओसार्न गाडीको व्यवस्था गरेका छैनन् । उनीहरू मुलुक प्रवेश गरेपछि सार्वजनिक यातायातका साधन चढेर घर पुगिरहेका छन् ।

अहिले नाकामा रहेका हेल्थ डेस्कमा ज्वरो आएका र लक्षण देखिएका व्यक्तिको मात्रै कोरोना परीक्षण हुने गरेको छ । सिमानामा खटिएका कर्मचारीले संक्रमणलाई गम्भीर रूपमा लिएको देखिँदैन । जसले गर्दा उनीहरू संक्रमित बनिरहेका छन् । गुल्मीको छत्रकोट गाउँपालिका–३ का ४५ वर्षीय हीरासिंह नेपाली गत वैशाख २ गते भारतबाट सिधै घर आए । ज्वरो, रुघाखोकीले ग्रस्त पारेपछि पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भयो । वैशाख ११ गते राति उनको घरमै निधन भयो । अहिले धेरै जना सिधै घरमा आइरहेका छन् । रोजगारीको सिलसिलामा भारतमा रहेका नेपाली धमाधम भित्रिएका हुन् । बसमा आउँदा धेरैले मास्क लगाएका हुँदैनन् । ‘जागिर छाडेर वैशाख १० गते घरमा आइपुगें,’ गुजरातबाट आएका मदाने गाउँपालिका–२ का भीमबहादुर विकले भने, ‘घरसम्म आइपुग्दा कसैले केही भनेनन्, म त सिधै आएँ । कोरोना छ छैन मलाई थाहा छैन, बिरामी भएमा चेक गराउँछु ।’

उनी ६ जना साथीसँगै घरमा आएका हुन् । एक वर्षअघि चैतमा घर आउँदा स्थानीय विद्यालयमा १४ दिन क्वारेन्टाइनमा बसेका थिए । यसपटक त्यस्तो व्यवस्था छैन । गाडीमा भीडभाडमै यात्रा गरेर घरसम्म आइपुगेको उनले बताए । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार भारतबाट आउनेहरू अहिले सिधै घर गएका छन् । १२ स्थानीय तहले कसैले क्वारेन्टाइन, आइसोलेसन निर्माण गरेका छैनन् । १४ दिनसम्म घरमै सुरक्षित बस्न विभिन्न माध्यमबाट सूचना जारी गरेको उनले बताइन् ।

कपिलवस्तुको कृष्णनगरस्थित सीमामा चेलीबेटी बेचबिखनविरुद्ध काम गर्दै आएकी एक महिला गत वैशाख १५ गते संक्रमित भइन् । नाकामै रहेको हेल्थ डेस्कमा एन्टिजेन परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो । उनी डेरामै आइसोलेसनमा छिन् । कपिलवस्तु–३, आनन्दवागका कोरोना संक्रमित एक अधिकृत घरमा आइसोलेसनमा छन् । ‘सबैसँग हेलमेल भइरहेका छन्,’ एक स्थानीयले भने, ‘हामीलाई गाह्रो छ ।’ यसपटक संक्रमितका लागि स्थानीय तहले आइसोलेसन सेन्टर बनाएका छैनन् । सबैलाई घरमै बस्न भनिएको छ । घरमै बसेकाको अनुगमन छैन । ‘यसले ठूलो समस्या निम्त्याएको छ,’ कपिलवस्तु–२, बरगदवाका पशुपतिमणी त्रिपाठीले भने, ‘यहाँका नगर प्रमुख र गाउँपालिका अध्यक्षलाई मतलबै छैन ।’

नाकामा संक्रमण पुष्टि भए पनि त्यस्ता व्यक्तिको तथ्यांक राखिएको छैन । उनीहरू कहाँ छन् ? कसरी बसेका छन् ? कसैलाई कुनै जानकारी छैन । कपिलवस्तुका १० स्थानीय तहले आइसोलेसन बनाएका छैनन् । स्थानीय तहले बाहिरबाट आउनेलाई कुनै सरोकार राख्दैनन् । ‘संक्रमित निस्फ्रिक्री डुलिरहेका छन्,’ शिवराज नगरपालिकाका अनुपकुमार चौधरीले भने, ‘यसले हामी स्वस्थ मान्छे पनि घरभित्रै खुम्चिनुपरेको छ ।’

पाल्पाको रम्भा–३, पीपलडाँडाका एक युवा गत साता भारतबाट फर्केर परिवारमा घुलमिल भए । उनी खोकखोला, लसुने लगायत बजार पुगे । स्थानीयको दबाबमा पीसीआर परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भयो । अहिले होम आइसोलेसनमा छन् । माथागढी–४, देवगीर गाउँ सिल गरिएको छ । ५०/६० घरका कसैलाई अहिले बाहिर निस्कन दिइएको छैन । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव जीसीका अनुसार दुई जनामा ज्वरो आउने, रुघाखोकी लाग्ने भएपछि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो । होम आइसोलेसनमा बसेका उनीहरूको सम्पर्कमा रहेका ११ जनाको पीसीआर परीक्षण गर्दा नौ जनामा पोजेटिभ देखियो । ती नौ जनाको कन्ट्याक्ट ट्रेसिङ आधारमा बस्तीका ५ सय जनाभन्दा बढीको कोरोना परीक्षण गर्नुपर्ने अवस्था छ ।

‘देउगीर बजार र नजिककालाई बाहिर निस्कन दिइएको छैन,’ उनले भने, ‘सबै पसल, बजार बन्द गरिएको छ ।’ उनका अनुसार होम आइसोलेनसबाट झन् समस्या आउने देखिएको छ । ‘घरबाहिर ननिस्कन भनेका छौं तर बाध्य भएर केही काम भन्दै निस्कन्छन्,’ उनले भने, ‘जतिबेला पनि गोठालो गर्न नसकिने भएपछि झन् समस्या थपिएको छ ।’ गत वर्ष क्वारेन्टाइन र आइसोलेसन सञ्चालन गरेका स्थानीय तह यसपटक सुस्ताएका छन् । ‘गत वर्षमा जस्तो काम भएको छैन,’ रम्भाका स्वास्थ्य शाखा प्रमुख शिव अर्यालले भने, ‘स्वाब संकलन, ट्रेसिङको काम पनि गत वर्षको जस्तो छैन ।’

पूर्वी रुकुममा सार्वजनिक सवारी साधनमार्फत भारत र मुलुकका विभिन्न ठाउँबाट सर्वसाधारण घर फर्किरहेका छन् । को कताबाट कसरी आइरहेको छ, खोजीनीति भइरहेको छैन । निमित्त प्रमुख जिल्ला अधिकारी रवीन्द्र बुढा क्षत्रीले बाग्लुङको नाकामा कडाइ गर्ने र सार्वजनिक सवारी साधनमार्फत जिल्ला भित्रिने यात्रुको पूरा विवरण माग गर्ने निर्णय भएको बताए । रोल्पामा पनि विदेश लगायत मुलुकमा विभिन्न स्थानबाट गाउँ फर्किएकालाई सोझै घरमा पठाइएको छ । संक्रमण भए नभएकोबारे जाँच नगरिएकाले अधिकांशलाई सिधै परिवार र आफन्तको सम्पर्कमा जान दिइएको हो ।

म्याट र तन्ना जलाइयो

बर्दियाको सदरमुकाम गुलरियामा बनाइएका क्वारेन्टाइन र आइसोलेसन सेन्टरका दुई सय म्याट र तन्ना जलाइएको पाइएको छ । गत वर्ष भारत र मुलुकका विभिन्न जिल्लाबाट आउनेका लागि गुलरियामा २३ वटा क्वारेन्टाइन र दुईवटा आइसोलेसन सेन्टर बनाइएको थियो । विद्यालयमा क्वारेन्टाइन र जिल्ला समन्वय समितिको सभाकक्ष र कभर्ड हलमा आइसोलेसन सेन्टर निर्माण गरिएका थिए । अहिले जिल्लामा संक्रमित बढ्दै गएपछि ती आइसोलेसन सेन्टर चलाउने तयारी भइरहेको छ । यस क्रममा त्यहाँ रहेका म्याट र तन्ना जलाइएको खुलासा भएको हो ।

गुलरिया नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार त्यहाँ रहेका धेरै खाटसमेत गायब भएका छन् । नगरपालिकाका विपद् व्यवस्थापन अधिकृत अजय ठाकुरले २३ वटा क्वारेन्टाइनका ८० र आइसोलेसनका १ सय २० म्याट र तन्ना जलाइएको बताए । ‘प्रहरी प्रशासनको रोहवरमा जलाइएको हो,’ उनले भने, ‘गत पुसमा जलाइएको थियो ।’ गत वर्ष कोभिड व्यवस्थापनका लागि २ करोड ४९ लाख ६५ हजार रुपैयाँ खर्च भएको थियो । जसमध्ये क्वारेन्टाइनका लागि १ करोड ३५ लाख र आइसोलेसनका लागि २२ लाख ५५ हजार रुपैयाँ खर्च भएको अधिकृत ठाकुरले बताए । नगरपालिकाका स्वास्थ्य अधिकृत सुनिल पाण्डेले संक्रमण सर्ने जोखिम भएकाले म्याट र तन्ना जलाइएको बताए ।

– मनोज पौडेल (कपिलवस्तु), माधव अर्याल (पाल्पा), वीरेन्द्र केसी (अर्घाखाँची), कमल पन्थी (बर्दिया), हरि गौतम (रुकुम पूर्व) र काशीराम डाँगी (रोल्पा)

प्रकाशित : वैशाख २१, २०७८ ०९:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×