कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

खर्च अभावमा छटपटी

जुम्ला — अस्पतालमा तिर्ने रकम नहुँदा हिमा गाउँपालिका–२ का कमल रोकाया काठमाडौं, महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कलुर तथा ट्रान्सप्लानट सेन्टरको आईसीयूमा छट्पटाइरहेका छन् । फोक्सोमा देखिएको समस्याका कारण उनी मंसिर ९ गतेदेखि थलिएका थिए । 

समस्या बढ्दै गएपछि परिवारले उनलाई सुर्खेतको माया नर्सिङ होम, काठमाडौंको वीर अस्पताल, चितवनस्थित क्यान्सर अस्पताल र भारतको लखनउसम्म पुर्‍याए । माघ २० गतेदेखि उनको मनमोहन कार्डियोथोरासिकमा उपचार भइरहेको भाइ भैरव रोकायाले बताए । कामका लागि भारत गएका रोकाय कात्तिकमा घर फर्किएका थिए । उनको चार महिनादेखि आईसीयूमा उपचार भइरहेको बताए । ‘जता लगे पनि निको हुँदैन, अहिले त औषधि किन्ने रुपैयाँसमेत छैन,’ उनले भने, ‘यहाँ ल्याएपछि केही सुधार भएको छ, तर आर्थिक समस्याले थप उपचार अघि बढेको छैन ।’

उनले दाइको उपचारको लागि अहिलेसम्म १९ लाख रुपैयाँ खर्च भइसकेको र सबै रकम ऋण सापटी गरेर संकलन गरिएको बताए । ‘अहिलेसम्मको अवस्था त जेनतेन धानियो, अब आर्थिक अवस्थाले धान्ला जस्तो छैन,’ उनले भने, ‘सरकारी निकायबाट पनि सहयोग पाइएन, कसैले सहयोग गरे दाइको जीवन बचाउन सकिन्थ्यो ।’ उनका अनुसार कमलले चार महिनादेखि मुखबाट केही पनि खान सकेका छैनन् । फोक्सोको समस्याले गलाउँदै लगेपछि कमल ६८ केजी २८ केजीमा झरेका छन् । ‘शरीरको कुनै ठाउँमा पनि मासु देखिँदैन,’ भाइ भैरवले भने, ‘कुनै दाताले सहयोग गरे दाइको जीवन बचाउन सकिन्थ्यो ।’

उनले कमलको उपचारका लागि जग्गा धितो राखेर ६ लाख रुपैयाँ बैंकबाट निकालेको बताए । कमलको उपचारका लागि हिमा गाउँपालिकाले ५० हजार, अपांग पुनर्स्थापना केन्द्रले १५ हजार, जुम्ली सेवा समाजले १० हजार र इन्द्रेणी कार्यक्रमले ४० हजार रुपैयाँ सहयोग गरेका छन् । बिरामीको औषधि किन्ने रकम नभएपछि अस्पतालले कुरुवाको खानाको जिम्मा लिएको छ ।

प्रकाशित : वैशाख २०, २०७८ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?