१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

फेरियो थायागाउँको स्वरूप

छपाल लामा

हुम्ला — सिमकोट गाउँपालिका–७ थायाका सेते सार्की दुई महिनायता दंग छन् । वर्षाले घर भत्काएपछि दुई वर्षदेखि उनको परिवारको बसाइ त्रिपालमै बस्यो । अहिले उनको ६ सदस्यीय परिवारका लागि जस्तापाताले छाएको नयाँ घर बनेको छ । उनकी छिमेकी जुनपुरा विक पनि नयाँ घरमा बस्न पाएकी छन् ।

फेरियो थायागाउँको स्वरूप

उनीहरू मात्र होइन, थाया दलित बस्तीका १७ विपन्न परिवारले नयाँ घरमा बस्न पाएका छन् । नयाँ र एउटै बनावटका घरहरू बनेपछि थायागाउँको स्वरूप नै बदलिएको छ । ‘टिनका छाना भएपछि न आगलागीको डर न हावाहुरीको,’ सार्कीले भने, ‘अहिले ढुक्कले घरमा बस्न पाइएको छ ।’

यसअघि खरले छाएको उनको घर एकपल्ट आगलागीमा परेको थियो । दुईपल्ट हावाहुरीले छाना उडाएको थियो । डाँडाफयास्थित थायागाउँ जिल्लाको पुरानो बस्ती हो । अधिकांश पुराना घर बिस्थापित भएपछि गाउँको रूप नै फेरिएको विकले बताइन् । ‘हाम्रै पालामा टिनको घरमा बस्न पाइएला भन्ने सोचेकै थिएनौं,’ उनले भनिन्, ‘घरका सबैजना बेरोजगार हुँदा जीविकोपार्जनमै समस्या छ, हाम्रै कमाइले कसरी नयाँ घर बनाउनु ?’ वर्षायाममा चुहिने घरमा बस्दा कैयौं रात जाग्रामै बसेको उनले सुनाइन् । आफूहरूका लागि सरकारले ठूलो गुन लगाएको उनको भनाइ छ ।

आफ्नै घरमा बस्ने सपना पुस्तौंपछि पूरा भएको स्थानीय सिद्ध कामीले बताए । ‘पुख्यौली पेसामा जीविकोपार्जन गर्न मुस्किल छ,’ उनले भने, ‘सरकारले घर बनाइदिएपछि सन्तानले सुखका दिन देख्ने भए ।’ फलामका भाँडाकुँडा बनाउने काम गर्दै आएका उनको ६ जनाको परिवार आफन्तको घरमा बस्दै आएको थियो ।

जिल्ला पूर्वाधार विकास कार्यालयका अनुसार थायाका १७ दलित परिवारका लागि घर निर्माण गरिएको हो । ‘बस्तीका सबै घर एउटै बनावटका छन्,’ कार्यालयका प्रमुख देवी ऐडीले भने, ‘नयाँ घरमा बस्न पाउने भएपछि उहाँहरूले पनि सकेजति श्रमदान गर्नुभएको छ ।’ उनका अनुसार विपन्न परिवारलाई घर निर्माण गर्न चार लाख रुपैयाँ अनुदान दिइएको थियो ।

थायागाउँमा घर निर्माण गर्न ६८ लाख रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ३ कोठा भएका र जस्तापाताले छुवाइएका एकतले पक्की घर निर्माण हुन भएका हुन् । तला थप्न र कोठा थप गर्न चाहने परिवारले आफैं रकम थप गरेको प्रमुख ऐडीले बताए ।

प्रकाशित : वैशाख १८, २०७८ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?