कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

संक्रमण बढ्यो, सतर्कता छैन

राजनीतिक दलका कार्यक्रम, विवाह, मेलापर्व तथा विभिन्न धार्मिक कार्य निर्वाध भइरहेका छन् । जनस्तरबाटै भइरहेको लापरबाहीले गाउँगाउँमा संक्रमणको जोखिम बढेको छ ।
तुलाराम पाण्डे

कालीकोट — गत वर्ष वैशाख मध्यतिर पहिलो कोरोना संक्रमित भेटिएको कालीकोटमा यो वर्ष भने अवस्था भिन्न छ । पछिल्लो एक सातामा जिल्लामा १८ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

संक्रमण बढ्यो, सतर्कता छैन

जसमध्ये मान्मस्थित कोभिड अस्पतालमा १० जनालाई भर्ना गरिएको जनस्वास्थ्य अधिकृत गौराकुमारी घर्तीमगरले बताइन् । उनका अनुसार लक्षण नदेखिएका अन्यलाई होम आइसोलेसनमा राखिएको छ ।

स्वास्थ्य मापदण्ड नअपनाई सबैतिर लापरबाही गरिँदा गाउँगाउँमा कोरोना संक्रमणको जोखिम बढेको हो । जिल्लाका विद्यालयहरूमा स्वास्थ्य मापदण्ड पालना गरिएको छैन भने मास्क र सेनिटाइजरको प्रयोग तथा हात धुने क्रम पनि न्यून छ । कालीकोटमा दलहरूका कार्यक्रम पनि जारी छन् । आइतबार सत्तारूढ एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले केन्द्रीय अध्यक्ष ऐन महरको उपस्थितिमा मान्ममा शपथग्रहण कार्यक्रम नै आयोजना गर्‍यो । अखिल क्रान्तिकारीले पनि विद्यालयमा संगठन विस्तार कार्यक्रमलाई तीव्रता दिएको छ । तर कार्यक्रमहरूमा स्वास्थ्य मापदण्ड पालना गरिएको आयोजकको दाबी छ ।

विवाह, मेला र पर्व मनाउने शैली उही रहेको स्थानीय अधिकारकर्मी बाले विश्वकर्माले बताए । वैशाख १२ मा सुर्खेतबाट कर्णाली राजमार्गको बाटो हुँदै कालीकोट आउने क्रममा ९ ठाउँमा विवाहको जमघट देखेको स्वास्थ्य परामर्शदाता रामकृष्ण पराजुलीले सुनाए । ‘देउडा खेल्ने नाममा बगालो हालेर रमाइलो गरेको देखियो,’ उनले भने, ‘मास्कबिनाका यस्ता जमघट निकै जोखिमपूर्ण छन् ।’ उनले ग्रामीण भेगमा संक्रमण फैलिए नियन्त्रण गर्न कठिनाइ हुने बताए ।

स्थानीय तहहरूले भने सावधानी अपनाइरहेको दाबी गरिरहेका छन् । ‘विवाहलगायत धार्मिक र सामाजिक कार्यमा भीडभाड नगर्न, सामाजिक दूरी कायम गर्न, मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग गर्न माइकिङ गरिरहेका छौं,’ खाडाचक्र नगर प्रमुख जसीप्रसाद पाण्डेले भने, ‘जोखिम रोक्न अन्य पूर्वतयारी पनि तीव्र पारिएको छ ।’ उनका अनुसार बेलुकी ८ बजेखि बजार बन्द गर्न लगाइएको छ ।

सदरमुकामसमेत रहेको खाडाचक्र–११ रेगिंलमा ५ जनालाई कोरोना पुष्टि भएपछि गाउँ नै सिल गरिएको छ । गाउँकी एक महिलाको स्वास्थ्य परीक्षण गर्दा कोरोना पुष्टि भएपछि जिल्ला अस्पतालको टोलीले गाउँमै पुगेर एन्टिजेन विधिबाट १७ जनाको परीक्षण गरेको थियो । त्यसक्रममा ५ जनामा कोरोना देखिएपछि गाउँ नै सिल गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । जिल्ला प्रशासनले गाउँ सिल गरिएको सूचना प्रकाशित गरे पनि आवतजावत नरोकिएको स्थानीय जया शाहीले बताइन् । ‘संक्रमित व्यक्ति पनि जथाभावी हिँडिरहेका छन्,’ उनले भनिन्, ‘लापरबाही कायमै छ ।’ उनका अनुसार गाउँको बदालकोट आधारभूत स्वास्थ्य इकाइमा एक जना मात्र स्वास्थ्यकर्मी छन् ।

सल्यानका सबै विद्यालय बन्द

सल्यान– कोरोना संक्रमण जोखिम बढेपछि जिल्लाका सबै विद्यालय सोमबारदेखि बन्द गरिएको छ । १० वटै स्थानीय तहले एकैसाथ विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । बालबालिकामा कोरोना संक्रमणको जोखिम बढेकाले पठनपाठन बन्द गरिएको शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले बताए । ‘सबैतिर संक्रमणको जोखिम देखियो,’ उनले भने, ‘बालबालिका नै सबैभन्दा बढी जोखिममा रहेकाले सोमबारदेखि पठनपाठन बन्द गरिएको छ ।’ उनका अनुसार नगरपालिकामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ जना विद्यार्थी छन् । नगरक्षेत्रमा ३७ सामुदायिक विद्यालय छन् । यसअघि दार्मा गाउँपालिकाले आइतबारदेखि १० दिनका लागि सबै विद्यालयको पठनपाठन बन्द गरेको थियो । ‘विद्यालय बन्दले संक्रमणको जोखिम रोकिने अपेक्षा छ ,’ गाउँपालिका अध्यक्ष निमबहादुर केसीले भने ।

उनले विद्यालय खुलेपछि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर वैशाख २२ देखि वार्षिक परीक्षा सञ्चालन गरिने जानकारी पनि दिए । दार्माका ३६ सामुदायिक विद्यालयमा झन्डै ६ हजार बालबालिका अध्ययनरत छन्  । यसैबीच, १० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि छत्रेश्वरी गाउँपालिका कार्यालय ५ दिनका लागि सिल गरिएको छ । कोरोना संक्रमणको जोखिम कम गर्न सोमबारदेखि गाउँपालिकाका सबै सेवा बन्द गरिएको हो ।

समुदायस्तरमा संक्रमणको जोखिम बढ्न नदिन गाउँपालिका र विषयगत कार्यालय बन्द गरिएको गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताए । उनका अनुसार संक्रमित कर्मचारीलाई होम आइसोलेसनमा राखिएको छ । एक सातामा जिल्लामा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन रिखाराम पुनले बताए । उनका अनुसार गम्भीर स्वास्थ्य समस्या देखिएका तीन संक्रमितलाई आइतबार नेपालगन्ज रेफर गरिएको छ ।

प्रकाशित : वैशाख १४, २०७८ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?