कोरोनाको दोस्रो लहरले कर्णाली प्रभावित

चाँदनी कठायत

वीरेन्द्रनगर — कोरोनाको दोस्रो लहरबाट कर्णाली प्रभावित भएको छ । बुधबार सुर्खेतस्थित प्रयोगशालामा ८८ जनाको कोरोना परीक्षण गर्दा ८६ जनामा संक्रमण पुष्टि भएको थियो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार यति धेरै संख्यामा संक्रमित फेला परेको ६ महिनायता सबैभन्दा बढी हो ।

कोरोनाको दोस्रो लहरले कर्णाली प्रभावित

बिहीबारसम्म सक्रिय संक्रमितको संख्या २ सय १२ पुगेको छ । सुर्खेतमा मात्रै १ सय ९९ जना सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ । प्रदेश अस्पतालस्थित कोरोना विशेष अस्पतालमा १३ संक्रमित उपचाररत छन्, जसमध्ये १२ जनालाई अक्सिजन दिइरहेको अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले बताए ।

डा. पौडेलका अनुसार यही रफ्तारमा संक्रमितको संख्या बढ्दै गए एक साताभित्र अस्पतालको पूर्वाधारले थेग्न सक्दैन । ‘गम्भीर प्रकृतिका संक्रमित बढ्दै छन्,’ उनले भने, ‘हाम्रो प्रदेशका स्वास्थ्य पूर्वाधार, उपकरण र जनशक्तिले नभ्याउने गरी संक्रमित बढ्ने देखिन्छ ।’ लक्षण देखिएकालाई मात्र नभई समुदायस्तरमै पुगेर परीक्षण गर्नुपर्ने अवस्था आएको उनले बताए । कर्णालीमा देखिएका १ सय २८ सक्रिय संक्रमितमध्ये १ सय ३ जना होम आइसोलेसनमै छन् । डा. पौडेलका अनुसार अस्पतालमा भर्ना भएका संक्रमितमध्ये अधिकांशलाई अक्सिजन दिएर उपचार गरिँदै छ । अस्पतालमा एउटा अक्सिजन प्लान्ट भए पनि त्यसले कोरोना विशेष अस्पतालमा अक्सिजन आपूर्ति गर्न सक्दैन । हाल २५ आईसीयू बेड रहेको कोरोना अस्पतालमा तत्काल ५० बेड थप्ने तयारी भए पनि अक्सिजन प्लान्ट नहुँदा समस्या भएको डा. पौडेलले बताए ।

सोमबार बसेको प्रादेशिक स्वास्थ्य आपत्कालीन निर्देशन समितिको बैठकले तत्कालका लागि प्रदेश अस्पताल र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई/दुई सय र जिल्ला अस्पतालमा २५ बेडको आइसोलेसन तयारी अवस्था राख्ने निर्णय गरेको छ । हाल प्रदेशमा स्वास्थ्य सामग्रीको प्रबन्ध मिलाउने कामसमेत भइरहेको निर्देशनालयका निर्देशक डा. रवीन खड्काले बताए ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार प्रदेशभरका अस्पतालहरूमा हाल ३४ वटा भेन्टिलेटर र ६२ वटा आईसीयू बेड छन् । कर्णालीमा कोरोना भाइरसको पहिलो लहर भित्रिएका बेला प्रदेश प्रवेश गर्नेहरूलाई क्वारेन्टाइनमा राख्न प्रदेशका विभिन्न ८ सय ९१ स्थानमा ४१ हजार ९ सय ५६ बेड तयार गरिएको थियो । तीमध्ये अहिले कर्णालीका ७६ स्थानमा १ हजार ९ सय ६ बेड मात्रै बाँकी रहेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

भारतबाट भित्रिने बढ्दै

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै कर्णालीमा एक महिनामा भारतबाट झन्डै ५ हजार जना भित्रिएका छन् । बाहिरबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिए पनि पालना नभएको जिल्ला जनस्वास्थ्य प्रमुख चेतननिधि वाग्लेले बताए । अन्तर्राष्ट्रिय सिमानामा मात्रै एन्टिजेन परीक्षण हुने भएकाले शंकास्पदलाई व्यक्तिलाई स्थानीय तहमा जाँचका लागि पठाउने गरिएको उनको भनाइ छ ।

कर्णालीका चारवटा प्रयोगशालाबाट पीसीआर परीक्षण नभए पनि अहिले नयाँ संक्रमितको संख्या बढिरहेको छ । सोमबार रुकुम–पश्चिममा एक जना महिलाको मृत्यु भएसँगै कर्णालीमा कोरोना संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या ३३ पुगेको छ । कोरोना संक्रमणका कारण मृत्यु भएकी ती महिला केही दिनअघि मात्रै भारतबाट आएकी थिइन् ।

कोरोना संक्रमणको दर बढ्न थालेपछि सुर्खेतमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड–१९ संक्रमण व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले मेला, महोत्सव, जात्रा, पर्व, विवाह, व्रतबन्ध, मलामीलगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलाप सञ्चालन गर्दा २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको छ ।

स्वास्थ्यचौकीलाई कोरोना अस्पताल बनाइँदै

वीरेन्द्रनगर नगरपालिकाले कटकुवा स्वास्थ्यचौकीलाई ‘कोरोना विशेष अस्पताल’ बनाउने भएको छ । बुधबार बसेको नगरस्तरीय कोभिड–१९ नियन्त्रण तथा रोकथाम समन्वय समितीको बैठकले कटकुवा स्वास्थ्यचौकीलाई १ सय शैयाको ‘कोभिड अस्पताल’ बनाउने निर्णय गरेको हो ।

पछिल्लो समय प्रदेश राजधानी वीरेन्द्रनगरमा पनि संक्रमणको जोखिम बढेकाले पूर्वतयारी अनुरूप ‘कोरोना अस्पताल’ बनाउन लागिएको वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बताइन् । उनका अनुसार नगरपालिकाले कटकुवा स्वास्थ्यचौकीलाई कोरोनालाई केन्द्रित गरेर तत्काल सय शय्याको आइसोलेसन अस्पताल बनाउनेछ । समितिले नगरभित्रका कोरोना संक्रमितको उपचार व्यवस्थापन गर्न नगरपालिकाको एम्बुलेन्सलाई सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

प्रकाशित : वैशाख १०, २०७८ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?