कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

फर्कियो आँखाको ज्योति

‘कोरोनाका कारण गत वर्ष शिविर सञ्चालन भएन, त्यसैले यो वर्ष बिरामीको भीड भयो’
तुलाराम पाण्डे

कालिकोट — पलाता–७ पारौटीका ८२ वर्षीय चक्र खत्रीले आँखा देख्न छाडेको ७ वर्षपछि आँखाको ज्योति पाएका छन् । नातिको सहारामा मान्म पुगेका उनी मोतीबिन्दुको शल्यक्रिया गरेपछि लौरो टेक्दै घर फर्किए । सान्नीत्रिवेणी–९ की ९३ वर्षीया गोमा केसीले पनि ३ वर्षपछि फेरि संसार देख्न पाएकी छन् ।

फर्कियो आँखाको ज्योति

नेपाल नेत्रज्योति संघको संयोजनमा हिमालयन आँखा अस्पताल, पोखराले सञ्चालन गरेको आँखा शिविरमा शल्यक्रिया गरेपछि उनीहरूको आँखाको ज्योति फर्किएको हो । ‘आँखा नदेख्दा संसारै अँध्यारो थियो,’ खत्रीले भने, ‘ज्योति फर्किएपछि अझै केही वर्ष बाँच्छु भन्ने आँट पलाएको छ ।’ उनले आँखा नदेख्दाको पीडा कल्पनै गर्न नसकिने जनाए ।

आइतबारसम्म मान्ममा आयोजना गरिएको ३ दिने शिविरमार्फत १ सय ४८ जनाको शल्यक्रिया गरिएको छ । शिविरमा कालीकोट, बाजुरा, दैलेख, अछाम र जुम्लाका ८ सय ७९ जनालाई सेवा दिइएको शाखाका सभापति खडानन्द पाण्डेले बताए । उनका अनुसार अधिकांशमा आँखा पाक्ने, चिलाउने, सुन्निने, आँखा सुक्खा हुने समस्या देखिएको थियो । ‘बर्सेनि शिविरमार्फत ज्येष्ठ नागरिकहरूको ज्योति फर्कारहेका छौं,’ उनले भने, ‘गत वर्ष कोरोनाका कारण शिविर सञ्चालन भएन, त्यसैले यो वर्ष बिरामीको भीड भयो ।’ आर्थिक र पारिवारिक समस्याका कारण बाहिर गएर उपचार गराउन नसक्नेका लागि जिल्लामै निःशुल्क शिविरको आयोजना गरिएको उनको भनाइ छ ।

अधिकांश मोतीबिन्दु भएकाहरूको शल्यक्रिया गरिएको नेत्र विशेषज्ञ डा. हरिविक्रम अधिकारीले बताए । उनका अनुसार शल्यक्रिया गरिएका धेरै बिरामी ६० वर्ष माथिका हुन् । ‘आँखा संवेदनशील र महत्त्वपूर्ण अंग भए पनि लापरबाही गर्ने र घरेलु उपाय अपनाउने गरेकाले समस्या देखिएको छ,’ उनले भने, ‘सुरुमा बेवास्ता गर्ने र ठीक नभएपछि मात्र जँचाउन आउँदा गाउँका अधिकांश बासिन्दा आँखाको रोगी बनेका हुन् ।’ उनले बिरामीलाई शल्यक्रियासँगै औषधि र चस्मा पनि निःशुल्क वितरण गरिएको बताए । नगर प्रमुख जसीप्रसाद पाण्डेका अनुसार शिविर व्यवस्थापनका लागि खाडाचक्र नगरपालिकाले ३ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

प्रकाशित : वैशाख ८, २०७८ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?