कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नाग्म–गमगढी सडक चौडा बनाइँदै

जुम्ला — जुम्ला हुँदै मुगुको रारा जोड्ने सडक चौडा बनाउन थालिएको छ । पहिलो चरणमा कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको जिअ भीरमा कडा चट्टान फोडेर सडक चौडा बनाइएको हो ।

नाग्म–गमगढी सडक चौडा बनाइँदै

रारा जाने पर्यटकको भीड बढ्न थालेपछि सिँजा हुँदै मुगु जाने सडकको स्तरोन्नति सुरु भएको छ । चट्टान काटेर चार मिटर चौडाइको बाटोलाई ७ मिटर फराकिलो बनाइएको सडक डिभिजन कार्यालयले जनाएको छ । सडक चौडा बनाइएपछि रारा जाने पर्यटकलाई सुविधा भएको डिभिजन प्रमुख लीलाबहादुर भण्डारीले बताए । ‘सार्वजनिक सवारी र मालवाहक साधन सञ्चालनमा समस्या भएपछि सडक चौडा बनाइएको हो,’ उनले भने, ‘अरू खण्डमा पनि सडक चौडा बनाउन थालिएको छ ।’

उनका अनुसार पहिलो चरणमा झन्डै दुई किमि सडक चौडा बनाइएको छ । जिअ भीर फोडेर नाग्मा–गमगढी सडकको सबैभन्दा कठिन खण्ड फराकिलो बनाइएको डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार २ करोड २० लाख रुपैयाँको लागतमा सडक फराकिलो बनाइएको हो । दुई वर्षअघि नै सडक निर्माणको काम सुरु गरे पनि निर्माण व्यवसायीको लापरबाहीले काममा ढिलाइ भएको भण्डारीले बताए ।

पहिलेको तुलनामा अहिले सडकमा धेरै सुधार भएको सिँजाका नर रावतले बताए । ‘नाग्म–गमगढी खण्ड जीर्ण बन्दा रारा जाने यात्रुले धेरै दुःख पाए,’ उनले भने, ‘सडक राम्रो नभएकै कारण एक पटक आएको पर्यटक फर्केर नआउने अवस्था थियो, अहिले सडकको अवस्था धेरै सुध्रेको छ ।’ सिँजाको घोडेड्गा, गुठिज्यूला र रोकायावाडामा पनि सडक मर्मत गरिएको उनले बताए ।

प्रकाशित : वैशाख ८, २०७८ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?