२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

डढेलो बस्तीमा फैलँदा पाँच घर जले

विप्लव महर्जन

सल्यान — वनमा लागेको डढेलो बस्तीमा पस्दा कुमाख गाउँपालिका-३ राम्रीमा मंगलबार बिहान पाँच घरगोठ जलेर नष्ट भएको छ । स्थानीय रातपहरा सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा नन्दराम ओलीको घरगोठ, क्षेत्रबहादुर ओलीको घरगोठ र होतीराम ओलीको गोठ जलेर नष्ट भएको हो ।

डढेलो बस्तीमा फैलँदा पाँच घर जले

घरगोठ जल्दा घरमा भएका खाद्यान्न, लत्ताकपडा,नगद, गहनालगायत सबै सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सल्यान प्रहरीका सूचना अधिकृत अर्जुन पौडेलका अनुसार पाँच घरगोठ जलेर नष्ट हुँदा २० लाख बराबरको क्षति भएको छ । घरगोठ जलेर नष्ट भएका नन्दराम र क्षेत्रबहादुर ओलीको परिवार अहिले छिमेकीको घरमा आश्रय लिएर बसेका छन । स्थानीय र प्रहरीको सक्रियतामा सोमबारदेखि सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण गर्न सफल भएको र बस्तीका अन्य घरहरु बचाउन सकिएको उनले बताए ।

अहिलेपनि जिल्लाका दर्जन वनमा डढेलो लागिरहेको र जनशक्तिको अभावमा निभाउन कठिनाई भएको सल्यान प्रहरीका डीएसपी गोविन्द थापाले बताए । शारदा नगरपालिका ११ खैराबाङ मन्दिर नजिकै वनमा लागेको डढेलो सोमबार निभाए पनि मंगलबार फेरि लागेको उनले जानकारी दिए ।

जिल्लाका विभिन्न सामुदायिक वनमा लागेको डढेलोका कारण एक महिनामा दर्जन घर जलेर नष्ट भएको र दर्जन बस्ती जोखिममा रहेको प्रहरीले जनाएको छ । वनमा डढेलो नलगाउनका लागि ठाउँठाउँमा सचेतनामूलक कार्यक्रम गर्दै आएपनि स्थानीयले अटेर गर्दै आएका र आफनो फाइदाका लागि भन्दै डढेलो लगाउँदा जिल्लाभरीका १० हजार हेक्टर भन्दा बढि क्षेत्रफलमा डढेलो लागेको डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेशकुमार गिरीले जानकारी दिए ।

प्रकाशित : वैशाख ७, २०७८ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?