१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

लघु जलविद्युत्‌ले झिलिमिली बन्दै दुर्गमका गाउँ

अहिले ८.२५ मेगावाट विद्युत् उत्पादन भइरहेको कर्णालीमा ५ वर्षभित्र २ सय मेगावाट पुर्‍याउने प्रदेश सरकारको लक्ष्य
चाँदनी कठायत

वीरेन्द्रनगर — हुम्लाको सिमकोट गाउँपालिकामा ३ लघु जलविद्युत् आयोजना सञ्चालनमा छन् । गत वर्ष निर्माण भएको रायाखोला लघु जलविद्युत् आयोजनाबाट २२ किलोवाट विद्युत् उत्पादन भइरहेको छ । २० किलोवाटको लाली र ११ किलोवाटको खर्पेल गाउँ लघु जलविद्युत्ले १० गाउँमा विद्युत् आपूर्ति गरिरहेका छन् ।

लघु जलविद्युत्‌ले झिलिमिली बन्दै दुर्गमका गाउँ

गत वर्षदेखि प्रदेश सरकारले सुरु गरेको ‘कर्णाली उज्यालो कार्यक्रम’ मार्फत सिमकोटमा ३ लाख रुपैयाँ बजेटबाट हेल्दुङ साना जलविद्युत् आयोजनाको जेनेरेटर र एभीआरलगायत उपकरणको मर्मत भइरहेको छ । कार्यक्रमअन्तर्गत हुम्लाकै खार्पुनाथ, चंखेली, ताँजाकोट, सर्केगाड र अदानचुली गाउँपालिकामा ११ वटा लघु जलविद्युत् आयोजना निर्माण भइरहेका छन् ।

कर्णालीलाई अँध्यारोमुक्त बनाउने अभियानसहित सुरु गरिएको कार्यक्रमबाट दुर्गमका गाउँहरू झिलिमिली बन्न थालेका हुन् । कार्यक्रमका लागि गत वर्ष ७३ आयोजना सञ्चालन गर्न ५० करोड ९ लाख रुपैयाँ छुट्याइएको थियो । यो वर्ष ४३ आयोजनाका लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको छ । कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयन समितिका सदस्य विनोद रेग्मीका अनुसार चालु आर्थिक वर्षमा २४ करोड ८६ लाख रुपैयाँ बजेट निकासा भइसकेको छ । ‘धेरैजसो पुरानै आयोजना हुन्,’ उनले भने, ‘केही नयाँ आयोजनालाई पनि तीव्रता दिइएको छ ।’ उनका अनुसार वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले निर्माण सुरु गरे पनि बजेट अभावमा अलपत्र परेका योजनालाई पनि प्राथमिकतामा राखिएको छ ।

कार्यक्रममार्फत जुम्लाको तातोपानी गाउँपालिकामा घट्टेखोला लघु जलविद्युत् आयोजना र गिरीखोला साना जलविद्युत् आयोजनाको मर्मत भइरहेको छ । तातोपानीसहित जुम्लामा ८ वटा लघु जलविद्युत् आयोजनाको काम भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जाजरकोटमा ३, कालीकोटमा ४, डोल्पामा ३, मुगुमा ७, सुर्खेतमा ६ र सल्यानमा एउटा जलविद्युत् आयोजना निर्माणको काम जारी छ ।

कर्णालीलाई ३ वर्षभित्र उज्यालो बनाउने लक्ष्यसहित कार्यक्रम सुरु गरिएको हो । जनशक्ति अभावका कारण लक्ष्य भेट्न मुस्किल हुने देखिएको सदस्य रेग्मी बताउँछन् । ‘प्राविधिक कर्मचारीको अभावका कारण अनुगमनलाई तीव्रता दिन सकिएको छैन,’ उनले भने, ‘यो वर्ष झन्डै ३ अर्ब रुपैयाँ बजेट माग गरी १ सय ५० वटा आयोजना निर्माण तथा मर्मतका लागि निवेदन आएका छन्, अध्ययन गरिरहेका छौं ।’ उनले यो वर्ष बजेट कम भएका ४३ योजनालाई कार्यान्वयनमा लगिएको जनाए । ती आयोजनाका लागि ६ लाखदेखि ६० लाख रुपैयाँसम्म बजेट पठाइएको छ ।

अहिले ८.२५ मेगावाट विद्युत् उत्पादन भइरहेको कर्णालीमा प्रदेश सरकारले आगामी ५ वर्षभित्र २ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । अहिलेसम्म ६७.५ प्रतिशत परिवार विद्युत्को पहुँचमा रहेको प्रदेश सरकारको तथ्यांक छ । २०८० सम्म ९० प्रतिशत परिवारमा विद्युत्को पहुँच पुर्‍याउने सरकारको लक्ष्य छ । कर्णालीका १० मध्ये ५ जिल्लामा मात्र विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुगेको छ । ती जिल्लाहरूमा सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुम पश्चिम छन् । कर्णालीमा विद्युत् प्राधिकरणले उपलब्ध गराएको बिजुली बाल्ने नागरिकको संख्या ३३ प्रतिशत छ ।

प्रदेशभरि वैकल्पिक ऊर्जाको योगदान ३९ प्रतिशत रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको जलस्रोत तथा ऊर्जा विकास महाशाखा प्रमुख गोपाल शर्माले बताए । उनका अनुसार कर्णालीमा साना जलविद्युत् आयोजनाबाट ८.४५ मेगावाट र लघु जलविद्युत् आयोजनाबाट ४.९८ मेगावाट बिजुली उत्पादन भइरहेको छ । सोलारबाट ३.१ मेगावाट विद्युत् उत्पादन गरिएको छ । महाशाखाका अनुसार अहिलेसम्म सुर्खेतमा जिल्लाको कुल जनसंख्याको ४७.४७ प्रतिशत, सल्यानमा ५०.२३, रुकुम–पश्चिममा ३९.६, दैलेखमा २७.१३, जाजरकोटमा १४.५ र डोल्पामा २०.७० प्रतिशत नागरिकले विद्युत् सुविधा पाइरहेका छन् । जुम्लाका ५.६४ प्रतिशत, कालीकोटमा २२.९५, मुगुमा १९.३५ र हुम्लामा २८.९२ प्रतिशत घरधुरीमा बिजुली पुगेको महाशाखाले जनाएको छ ।

प्रकाशित : वैशाख ७, २०७८ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?