कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पेट्रोलियम पदार्थ उत्खनन : चिनियाँ टोली आउन ढिलाइ

ज्योति कटुवाल

दैलेख — चिनियाँ विशेषज्ञ टोली आउन ढिलाइ हुँदा दैलेखमा पेट्रोलियम पदार्थ उत्खननको काममा ढिलाइ भएको छ । कोरोनाका कारण चीन सरकारले अनुमति नदिँदा प्राविधिक टोली समयमै आउन नपाएको हो ।

पेट्रोलियम पदार्थ उत्खनन : चिनियाँ टोली आउन ढिलाइ

टोलीले यसअघि पेट्रोलियम पदार्थ उत्खननका लागि सेस्मिक सर्भेको काम सकेको थियो । २०७६ चैत १९ मा फर्किने गरी टोली फागुनमा स्वदेश फर्केको थियो तर कोरोना महामारी सुरु भएपछि टोली उतै रोकिएको हो । टोली १३ महिनासम्म नफर्कंदा अन्वेषणको काममा ढिलाइ भएको खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा. सुधीर रजौरेले बताए । ‘चिनियाँ टोलीको प्रतिवेदनका आधारमा दोस्रो चरणको सर्भे र ड्रिलिङको काम हुनेछ,’ उनले भने, ‘त्यसका लागि हामी तयारी अवस्थामा छौं ।’

२०७६ असोजदेखि विभाग र चिनियाँ विज्ञ टोलीले पेट्रोलियम पदार्थ उत्खननको काम थालेको थियो । यसअघि चिनियाँ विज्ञ टोलीले चार स्थानमा सर्भेको काम सकेको डा. रजौरेले बताए । ‘श्रीस्थान, पादुका, कोटिला र कर्णाली राजमार्ग आसपासको क्षेत्रमा सर्भे भइसकेको छ, यो झन्डै २० हजार वर्गमिटर क्षेत्रफल हो,’ उनले भने । विभागका अनुसार पेट्रोलियम पदार्थको उत्खननका लागि सेस्मिक सर्भेको प्रतिवेदनका आधारमा ४ हजार मिटर जमिनमुनिबाट ड्रिलिङ गरिनेछ ।

उक्त काम सकिन झन्डै ५ महिना लाग्ने भूगर्भविद् डा. रजौरे बताउँछन् । ‘चिनियाँ टोलीले तत्काल अनुमति पाएर फर्किए पनि ड्रिलिङको काम अक्टोबरबाट मात्रै सुरु हुनेछ,’ उनले भने, ‘टोली आएपछि सुरुमा स्थलगत अध्ययनको काम गर्छौं ।’ पेट्रोलियम पदार्थ उत्खननका लागि चिनियाँ टोलीसँग २०१९ फेब्रुअरीमा विभागले सम्झौता गरेको थियो । २०२२ मा सक्ने गरी सम्झौता गरिएको आयोजनाले अहिलेसम्म एक लाइन सर्भेको काम मात्र सकेको छ । सम्झौताअनुसारको काम नभएपछि विभागले अन्वेषणको मिति पटक–पटक सार्दै आएको छ ।

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले ड्रिलिङका लागि चाहिने ठूला उपकरण ल्याउन सडक बाधक भएको बताए । उनले सर्भेको नतिजाका आधारमा ड्रिलिङको काम सुरु गर्ने भनिए पनि दैलेख–सुर्खेत सडकखण्ड साँघुरो हुँदा उपकरण ल्याउन समस्या हुने जनाए । ‘ड्रिलिङ मेसिनका लागि सडकको विकल्प खोज्नुपर्ने देखिएको छ,’ उनले भने, ‘टोली आएपछि प्रशासनले आवश्यक सहजीकरणको काम गर्नेछ ।’

प्रकाशित : वैशाख ७, २०७८ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?