कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

२२ वर्षपछि बन्यो टेलिफोन टावर

हाल ‘टु जी’ सेवा सञ्चालन गरिएकामा एक साताभित्रै ‘फोर जी’
विप्लव महर्जन

सल्यान — सशस्त्र द्वन्द्वको समयमा तत्कालीन माओवादीले क्षति पुर्‍याएको टेलिफोन टावर २३ वर्षपछि पुनर्निर्माण गरिएको छ । जिल्लामा पहिलोपल्ट टेलिफोन विस्तार गर्न २०५१ मा निर्माण गरिएको टावर २०५४ पुस ९ मा गराइएको बम विस्फोटबाट क्षतिग्रस्त भएको थियो । घटनामा दुई जना प्रहरीले ज्यानसमेत गुमाएका थिए ।

२२ वर्षपछि बन्यो टेलिफोन टावर

छत्रेश्वरी गाउँपालिका–२ साउनेपानीमा रहेको टेलिफोन टावर पुनर्निर्माणपछि जिल्लाको टेलिफोन सेवा प्रभावकारी हुने अपेक्षा गरिएको छ । टावर सोमबारदेखि सञ्चालनमा आएको नेपाल टेलिकम, सुर्खेतका प्राविधिक सहायक अधिकृत कुम्भबहादुर शाहीले बताए । उनका अनुसार टावर बनेपछि सल्यानको झिम्पे, दमाचौर, लेखपोखराका साथै रोल्पा र रुकुम पश्चिमका केही भागमा समेत सेवा पुगेको छ । अहिले ‘टु जी’ सेवा सञ्चालन गरिएको टावरमा एक साताभित्रै ‘फोर जी’ सेवा पनि सुरु हुनेछ ।

झन्डै दुई करोड रुपैयाँको लागतमा टावर पुनर्निर्माण गरिएको हो । टावर निर्माणका लागि तीन वर्षअघि हुवाई कम्पनीले जिम्मा लिएको थियो । टावर बनेपछि स्थानीयले वर्षौंदेखिको सञ्चार सेवामा रहेको समस्याबाट मुक्ति पाएको छत्रेश्वरी गाउँपालिका–२ का वडाध्यक्ष प्रेम खड्काले बताए । ‘वडाका धेरै बस्ती खोंचमा भएकाले मोबाइलको टावर नटिप्ने समस्या थियो,’ उनले भने, ‘अब स्थानीयले फोन गर्नकै लागि डाँडामा जानुपर्ने बाध्यताबाट मुक्ति पाए ।’

स्थानीय हीरालाल ओलीले टावर पुनर्निर्माणपछि घरबाटै फोन गर्ने सुविधा मिलेको बताए । ‘टेलिफोन सेवा नहुँदा सानो कामका लागि पनि ठूलो सास्ती भोग्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘टेलिफोन सुविधासँगै गाउँको जनजीवन सहज बनेको छ ।’ उनका अनुसार यसअघि आफन्तसँग कुरा गर्न आधा घण्टा उकालो चढेर डाँडामा गई फोन गर्नुपर्ने बाध्यता थियो । संघीय र प्रदेश सरकारलाई पटकपटक ताकेता गरेपछि टावर पुनर्निर्माण भएको छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताए । ‘टावर बनेपछि गाउँपालिकाका सबै टोलमा सञ्चार सुविधा पुगेको छ,’ उनले भने, ‘अन्य विकासका पूर्वाधार पनि सबै वडामा पुर्‍याउने हाम्रो योजना हो ।’ उनका अनुसार टावर नियमित सञ्चालनका लागि गाउँपालिकाले ३० लाख रुपैयाँ खर्च गरी साउनेपानीमा विद्युत् सेवा विस्तार गरेको छ ।

प्रकाशित : वैशाख ७, २०७८ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?