कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

खानेपानी लिन घन्टौं हिँडाइ

सल्यान — साविक जिल्ला विकास समितिले २०६० सालमा बन्गाडकुपिण्डे नगरपालिकास्थित मैदुमा सञ्चालन गरेको खानेपानी योजना लामो समयदेखि अलपत्र छ ।

योजना अलपत्र परेपछि गाउँका झण्डै १ सय ५० परिवार दुई घन्टा टाढाबाट खानेपानी ल्याउन बाध्य छन् । कालीमाटी गाउँपालिका–१ चोत्रेका करिब ५० परिवारले पनि डेढ दशकदेखि खानेपानी समस्या भोगिरहेका छन् ।

सल्यानका ९ हजार ७ सय परिवार खानेपानी पहुँचबाट वञ्चित रहेको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ४६ हजार ३ सयमध्ये ३६ हजार ६ सय परिवारले मात्र खानेपानी सुविधा पाइरहेका छन् । गाउँमा खानेपानी नहुँदा घण्टौ पैदल हिँडेर गाग्रीमा पानी बोक्नुपर्ने बाध्यताले सास्ती भएको मुलखोलाकी दिलमाया खत्रीले गुनासो गरिन् । उनका अनुसार गाउँमा ३ घन्टा पैदल हिँडेर खानेपानी ल्याउनुपर्ने बाध्यता छ । ‘अभाव हुँदा पानी अड्कलेर खानुपर्ने बाध्यतामा छौं,’ उनले भनिन्, ‘वर्षौंदेखि आधा राति नै उठेर पानी ल्याउन मुहानमा जानुपर्ने बाध्यता छ ।’ उनले खानेपानी समस्याका कारण महिला र बालबालिका बढी जोखिममा रहेको बताइन् ।

चोत्रेकी ममता खड्काले वर्षायामबाहेक अन्य समयमा खानेपानीको जोहो गर्न अनेक सास्ती भोग्दै आएको बताइन् । ‘वर्षायाममा आकाशेपानी उपभोग गर्छौं,’ उनले भनिन्, ‘अरु समय सधैं पानीको पिरलो हुन्छ ।’ उनका अनुसार खानेपानी समस्याकै कारण गाउँका अधिकांश शौचालय प्रयोगविहीन छन् । पानीको समस्याले पशुपालनमा पनि समस्या भएको उनको गुनासो छ ।

खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय प्रमुख पदमराज देवकोटाले खानेपानी अभावका कारण स्थानीयले खोलाको दुषित पानी उपभोग गर्नुपर्ने बाध्यता रहेको बताए । उनका अनुसार खानेपानी समस्या समाधानको लागि यो वर्ष २२ लिफ्ट र २२ ग्राभिटी खानेपानी योजना निर्माणाधीन छन् । उक्त योजनाबाट झन्डै ५ हजार घरधुरीमा खानेपानी सुविधा पुग्नेछ । ४४ योजनाका लागि यो वर्ष ६५ करोड रुपैयाँ विनियोजन गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित : वैशाख ७, २०७८ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?