१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

२८ वर्षदेखि सडक अधुरै

२० करोड रूपैयाँ खर्च हुँदासमेत ३० किमि सडक बनेन
विप्लव महर्जन

सल्यान — कपुरकोट, त्रिवेणी, छत्रेश्वरी र कालीमाटी गाउँपालिकालाई कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्न सुरु गरिएको लुहाम–काभ्रा–कालीमाटी–रामपुर सडकको काम अधुरै बनेको छ । निर्माण सुरु भएको २८ वर्षमा पनि सडक पूरा हुन सकेको छैन ।

२८ वर्षदेखि सडक अधुरै

२०४९ मा साविक जिल्ला विकास समितिले सडक निर्माणको काम सुरु गरेको थियो । सडकमा अहिलेसम्म विभिन्न निकायको २० करोड रुपैयाँ खर्च भइसकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । त्रिवेणीको लुहामदेखि कालीमाटी गाउँपालिकाको केन्द्र पुतलीबजारसम्म साढे २६ किमिमा सडकको ट्र्याक खुलेको कार्यालय प्रमुख विनोद पुनले बताए । उनका अनुसार साविक जिविसले २०४९ देखि बास्केट फन्ड कार्यक्रमअन्तर्गत २०७४ सम्म ४ करोड खर्चिएको सडकमा आरएआईडीपीले १ करोड र पूर्वाधार विकास कार्यालयले १५ करोड रुपैयाँ खर्च गरिसकेका छन् ।

लुहामबाट झिरघाटसम्मको सडक मात्र स्तरोन्नति गरिँदा यात्रा कष्टकर बनेको स्थानीय भिउसेन नेपालीले बताए । ‘यो सडक ३ गाउँपालिकाका बासिन्दालाई सुर्खेत पुग्न सबैभन्दा छोटो पर्ने सडक हो,’ उनले भने, ‘तर निर्माणको काम पूरा नहुँदा कोहलपुर र सल्लीबजार हुँदै सुर्खेत जानुपर्ने बाध्यता छ ।’ सडकको निर्माण सकिए ३ घण्टामै सुर्खेत पुगिने पुतलीबजारका रामबहादुर थापाले बताए । उनका अनुसार सडक निर्माण नहुँदा बिरामीलाई उपचारका लागि बाहिर लैजान पनि समस्या छ । ‘सडक चरम राजनीतिक भागबन्डाको सिकार बन्यो,’ उनले भने, ‘सडक नहुँदा दैनिक उपभोग्य सामान ढुवानीमा समस्या भएको छ, स्थानीय कृषि उत्पादनले सहज बजार पाउन सकेको छैन ।’

त्रिवेणी गाउँपालिकाको लुहामबाट कालीमाटी गाउँपालिकाको रामपुरसम्म साढे २६ किमि सडक छ । अहिले काभ्राबाट लुहाम–खलंगा–बालुवा संग्रही हुँदै सुर्खेत जाँदा झन्डै १ सय ५५ किमीको दूरी पार गर्नुपर्ने बाध्यता रहेको त्रिवेणी गाउँपालिका–१ का वडाध्यक्ष रविलाल बस्नेतले बताए । उनका अनुसार सडक निर्माणको काम पूरा भए ५० झन्डै किमि दूरी छोटिन्छ ।

पूर्वाधार विकास कार्यालयका अनुसार सडकमा गत वर्ष ९ करोड रुपैयाँ विनियोजन गरिएको थियो । यो वर्ष ६ करोड रुपैयाँमा सडक स्तरोन्नतिको काम भइरहेको कार्यालय प्रमुख विनोद पुनले बताए । उनका अनुसार यो वर्ष सडक निर्माणका लागि खड्का/कृष्ण/ नारायणम् जेभीले ८ मिटर चौडा सडक बनाउन जिम्मा लिएको छ । उक्त कम्पनीले करिब ८ किमि नालासमेत निर्माण गर्ने उनको भनाइ छ । ‘अब सडकको ट्र्याक खोल्न ४ किमि मात्र बाँकी छ,’ उनले भने, ‘२ खोलामा पुल बनाउन सके सडक निर्माणको कामले पूर्णता पाउनेछ ।’ सडक निर्माणका लागि प्रदेश र संघीय सरकारलाई पटकपटक माग गरिए पनि बेवास्ता भएको त्रिवेणी गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीले बताए ।

प्रकाशित : वैशाख ६, २०७८ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?