अपांगता भएकालाई घरमै शिक्षा

तुलाराम पाण्डे

कालीकोट — घरको आँगन कट्न नसक्ने तिलागुफा–८ ओखरभित्ताका १७ वर्षीय शंकर न्यौपानेले अहिले घरमै पढ्ने सुविधा पाएका छन् । ५ वर्षको उमेरमा खुट्टा पोलिएर अपांगता भएका उनले पहिलोपटक घरमै अक्षर चिन्ने र लेख्ने मौका पाएका हुन् ।

अपांगता भएकालाई घरमै शिक्षा

दुई वर्षदेखि उनको घरमा दैनिक ५ घण्टा स्थानीय शिक्षिका विद्यादेवी न्यौपानेले कक्षा लिइरहेकी छन् । शारीरिक अपांगताका कारण हिँडडुल गर्न नसक्ने शुभकालिका–४ की ९ वर्षीया निशा हमालले पनि घरमै पढ्ने सुविधा पाएकी छन् ।

तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकाका ७ अपांगता भएका बालबालिकालाई सहयात्रा परियोजनाले घरमै पढाउने व्यवस्था मिलाएको हो । विद्यालय जान नसक्ने बालबालिकालाई घरमै शिक्षक पठाएर पढाउन थालिएको परियोजनाले जनाएको छ । परियोजनाले दैनिक ५ घण्टा पढाउने शिक्षकलाई मासिक ६ हजार पारिश्रमिकसहित बालबालिकाका लागि शैक्षिक सामग्री र स्टेसनरी सहयोग गरिरहेको छ । घरमै शिक्षक आएर पढाउन थालेपछि शंकरले सामान्य अक्षर चिन्न, पढ्न र लेख्न थालेका छन् । ‘गरिबीका कारण थप उपचार गर्न सकिएन,’ उनकी ४० वर्षीया आमा शान्ताले भनिन्, ‘छोराले पढेको हेर्ने ठूलो रहर थियो, बल्ल पूरा भयो ।’ मजदुरी गरेर परिवार पाल्ने उनका बुबा मोतीप्रसाद भारतमा छन् ।

हमालका अभिभावकले उनलाई नैनेलदेव आधारभूत विद्यालयमा कक्षा २ भर्ना गरेका छन् । हिँडडुल गर्न कठिन भएकाले घरमै पढेर जाँच दिने तयारीमा रहेको उनले बताइन् । उनको दायाँ खुट्टा चल्दैन । ‘घरमा पढ्न पाउँदा खुसी छु,’ उनले भनिन्, ‘अशक्त भए पनि सकेजति पढ्ने धोको छ ।’

दृष्टिसम्बन्धी अपांगता भएकी सुकाटियाकी १० वर्षीया राधिका खत्रीले पनि घरमै कक्षा लिइरहेकी छन् । पालिकालाई आधारभूत तथा अनिवार्य शिक्षा सुनिश्चित भएको स्थानीय तह घोषणा गर्न ‘घरमै विद्यालय’ अवधारणा प्रभावकारी देखिएको शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईंले बताए । ‘विद्यालय बाहिर अपांगता भएका बालबालिका मात्र छन्,’ उनले भने, ‘घरमै विद्यालय सञ्चालन गर्दा सबैलाई समेट्न सकिएको छ ।’

शिक्षा विकास तथा समन्वय एकाइका अनुसार कालीकोटमा २ प्रतिशत अपांगता भएका बालबालिका विद्यालय बाहिरै छन् । भूगोल कठिन हुँदा पनि बालबालिकालाई विद्यालय पुर्‍याउन नसकिएको एकाइ प्रमुख महेश देवकोटाले बताए ।

प्रकाशित : वैशाख ६, २०७८ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?